सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय

बाल नाटक : अर्जुनको चिन्ता

आइतबार, ०७ जेठ २०८०, १० : २९
आइतबार, ०७ जेठ २०८०

स्थान– महाभारतको युद्धस्थल कुरुक्षेत्रको मैदान

समय– मध्याह्न १२ बजे 

पात्रहरू–

धृतराष्ट्र– हस्तिनापुरका दृष्टिविहीन राजा

सञ्जय– व्यासजीबाट दिव्यदृष्टि पाएका धृतराष्ट्रका स्वकीय सचिव

वासुदेव– अर्जुनको सारथि बनेर प्रस्तुत भएका भगवान् कृष्ण

अर्जुन– महाभारत युद्धका मुख्य योद्धा 

रङ्गमञ्चमा कुरुक्षेत्रको मैदान देखिन्छ । कौरव र पाण्डव दुवै पक्षका योद्धाहरू आ–आफ्नो विजयको आशाले उपस्थित भएका छन् । कतै रथी, कतै हस्ती, कतै घोडचडी र कतै पैदल सैनिकहरू परेठ खेलिरहेका छन् । शङ्ख, घन्ट र रणभेरीका तुमुल ध्वनिले युद्धस्थलमा कोलाहल मच्चिएको छ । मञ्चमा एकाएक धृतराष्ट्र र सञ्जय देखा पर्छन् । 

धृतराष्ट्र– सञ्जय ! अहिले कुरुक्षेत्रको युद्धमैदानमा उपस्थित भएका मेरो अर्थात् युवराज दुर्योधन र पाण्डव पक्षका सेनाहरूले के गरिरहेका छन् भन्न सक्छौ ?

सञ्जय– अवश्य महाराज ! अहिले दुवै पक्षका सेनाका महारथिहरूले आ–आफ्नो शङ्ख बजाउन सुरू गरेका छन् । पहिले पितामह भीष्मले सिंह गर्जे जस्तै गरी आफ्नो शङ्ख फुकेर कौरव पक्षलाई हर्षित गराउने काम गरे । त्यसपछि एकैसाथ बजेका शङ्ख, ढोल, मादल, नगरा र मादलहरूबाट रणमैदान गुञ्जायमान हुन पुगेको छ । शङ्ख बजाउनेमा भीष्मपछि वासुदेव कृष्ण रहेका छन्, जसले पाञ्चजन्य शङ्ख बजाएका छन् । अन्य शङ्ख बजाउनेहरूमा अर्जुन, भीमसेन, युधिष्ठिर, नकुल र सहदेव रहेका छन्, जसले क्रमशः देवदत्त, पौण्ड्र, अनन्त विजय, सुघोष र मणिपुष्पक नामका शङ्ख बजाएका छन् । अन्यान्य वीरहरूले पनि आ–आफ्ना शङ्ख फुकेर साथ दिइरहेका छन् ।

धृतराष्ट्र– ओहो ! युद्धस्थल साह्रै डर लाग्दो बनेको छ होला होइन ?

सञ्जय– हो महराज ! साह्रै भयानक बनेको छ । सबै राताराता आँखा पार्दै शत्रुपक्षलाई ललकारिरहेका छन् । 

धृतराष्ट– अनि ? त्यसपछि कसले के गरे नि ?

सञ्जय– सर्वप्रथम अर्जुनको आग्रह अनुसार वासुदेव कृष्णले उनको रथलाई दुवै सेनाको बीचमा उपस्थित गराउने काम गरे ।

धृतराष्ट्र– अर्जुनलाई के लागेछ र रथलाई दुवै पक्षको बीचमा उपस्थित गराउन लगाएका रहेछन् नि ?

सञ्जय– खोइ महराज ! त्यो त प्रष्ट भएका छैन तर हाउभाउ हेर्दा बीचमा उभिएर दुवै पक्षको सेनालाई हेर्ने उद्देश्य रहेको जस्तो बुझिन्छ । 

धृतराष्ट्र– त्यसपछि कसले के गरे नि ?

सञ्जय– अहिले अर्जुन वासुदेवको अगाडि गाण्डिव धनुष राखेर युद्ध गर्दिन भन्न थालेका छन् ।

धृतराष्ट्र– ए ! हो र ? त्यसो भए त राम्रो भो । के साँच्चै अर्जुनले पहिले नै हार मानेर युद्ध गर्दिन भनेका होलान् त ?

सञ्जय– होइन महाराज ! हार स्वीकार गरे जस्तो त लाग्दैन तर मुखले भने युद्ध गर्दिन नै  भनिरहेका छन् ।

धृतराष्ट– यसको पछाडि पक्कै ठूलै कारण हुनुपर्छ । अगाडि हेर्दै जाऊ अर्जुन के भनिरहेका छन् । 

सञ्जय– अहिले अर्जुन वासुदेवसँग दुवै पक्षमा जो मरे पनि आफन्त नै मर्ने रहेछन् । यसबाट सनातन कुलधर्म र मर्यादा नष्ट हुनेछ र कुलमा दुराचार फैलिने छ । यसरी आफन्तलाई मारेर राज्य गर्नुभन्दा सन्यास लिनु नै उत्तम लागिरहेको छ । त्यसैले बरु दुर्योधनले नै जितोस् राज्य पनि उसैले गरोस् । हातमा हतियार लिएर मार्छ भने पनि मारोस् । अन्त्यमा आफ्नो पक्षमा रोइदिने नै कोही बाँकी रहदैनन् भने त्यस्तो राज्य पाएर के गर्नु ? मलाई आफन्तको रगतले भिजेको राज्य पनि चाहिन्न र त्यसको सुख भोग गर्नु पनि छैन भन्दै कृष्णको चरणमा परेर रुन थालेका छन् ।  

धृतराष्ट्र– विचरा अर्जुन । कति राम्रो कुरा ग¥यो । बल्ल अहिले आएर आँखा खुलेछ । पहिले नै त्यस्तो सोचिदिएको भए यस्तो नौमत नै आउने थिएन तर के वासुदेव कृष्णले यसलाई स्वीकृति देलान् त ?

सञ्जय– अहँ महाराज ! त्यस्तो छाँट देखिरहेको छैन । उनी त अहिले आएर त्यस्तो कुरा गर्न लाज लाग्दैन भनेर उक्साउन खोजिरहेका छन् । 

धृतराष्ट्र– हरे भगवान् ! यी वासुदेवलाई किन बाठो हुनप¥या होला । दाजुभाइ बीचको कुरा हो आपसमा बसेर मिलाई हालिन्थ्यो नि ? यी त्यस्तै छन् भन्या जहाँ पनि यस्तै कुरा गरेर भाँजो हाल्न पुगेका हुन्छन् । भगवान्ले तिनलाई सद् बुद्धि दिउन् ताकि मेरो दुर्योधनको राज्य अकन्टक बनोस् ।   

यस्तैयस्तै संवादको बीचमा समय सकिएको घन्टी बज्छ र पर्दा खस्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप