बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

मेरो भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्नेछ : प्रधानमन्त्री प्रचण्ड

बुधबार, १७ जेठ २०८०, २० : ४८
बुधबार, १७ जेठ २०८०

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सुमधुर सम्बन्धलाई नयाँ उचाइ दिई जनस्तरसम्म लैजानु भ्रमणको मूल उद्देश्य रहेको बताएका हुन् ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोज कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सबै मित्र राष्ट्रहरूसँग पारस्परिक समानताका आधारमा असल र मैत्रीपूर्ण सम्बन्ध कायम गर्न वर्तमान सरकारले जोड दिएको छ । नेपाल र भारतबीच भौगोलिक र सांस्कृतिक सामीप्यले सदियौँदेखि जनस्तरमा रहेको हाम्रो सम्बन्ध सधैँ मित्रवत् र घनिष्ठ रहँदै आएको छ । समय समयमा हुने उच्चस्तरीय आदानप्रदानले समय सापेक्ष रूपमा सम्बन्धलाई थप सुदृढ र मजबुत बनाउँछ ।’

प्रधानमन्त्री प्रचण्डले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग आफ्नो वार्ता हुने कार्यक्रम तय भएको र सो क्रममा केही सम्झौताहरूमा हस्ताक्षर हुने जानकारी दिए । भोलि नै राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेट हुने उनको भनाई थियो ।

त्यस्तै, प्रतिष्ठित व्यापारी / लगानीकर्ताहरुसँग अन्तरक्रिया र केही महत्त्वपूर्ण परियोजना अनुगमन गर्ने पनि बताए ।

प्रधानमन्त्री प्रचण्डसँग बुधबार नै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले पनि भेटघाट गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डको यो चौथो भारत भ्रमण हो । 

यस्तो छ प्रचण्डको सम्बोधनको पूर्णपाठ 

मित्र राष्ट्र भारतका प्रधानमन्त्री सम्माननीय श्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधिमण्डलसहित आज म भारतको भ्रमणमा आएको छु । प्रधानमन्त्रीका रुपमा यो मेरो चौथो भ्रमण हो । हाम्रा दुुई देशबीच रहिआएको सुमधुर सम्बन्धलाई नयाँ उचाई दिई मजबुत र जनस्तरसम्म लैजानु यस भ्रमणको मुल उद्देश्य हो । 

भोलि जेठ १८ गते भारतका सम्माननीय प्रधानमन्त्रीसँग मेरो भेटघाट र दुई पक्षीय वार्ता हुने कार्यक्रम तय भएको छ । भोलि नै नेपाल र भारतका बीचमा केही सम्झौताहरुमा हस्ताक्षर सम्पन्न हुनेछन् । भारतका सम्माननीय राष्ट्रपति र उपराष्ट्पतिसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम समेत भोलि नै मिलाइएको छ ।

यसका अतिरिक्त दिल्लीमा रहँदा भारतका केही प्रतिष्ठित व्यापारी, व्यवसायी र लगानीकर्ताहरुले हाम्रो प्रतिनिधि मण्डलसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । साथै केही महत्वपूर्ण परियोजनाहरुको अवलोकन गर्ने कार्यक्रम पनि छ । मेरो यस भ्रमणले नेपाल र भारतको सम्वन्ध थप उचाईमा पुग्ने विश्वास लिएको छु । सोही दिन साँझ भारतका प्रतिष्ठित व्यवसायीहरुसँग महत्वपूर्ण भेटघाट गरी २१ गते बिहान नयाँदिल्ली हुँदै इन्दौरबाट काठमाडौं फिर्तीको तयारी रहेको छ । 

दिदिबहिनी तथा दाजुभाईहरु 
सबै मित्रराष्ट्रहरुसँग पारस्पारिक समानताका आधारमा असल र मैतीपूर्ण सम्बन्ध कायम गर्न वर्तमान सरकारले जोड दिएको छ । नेपाल भारतबीच भौगोलिक तथा सांस्कृतिक सामिप्यताले सदियौंदेखि जनस्तरसम्म रहेको हाम्रो सम्बन्ध सधैं मित्रवत एवं घनिष्ठ रहँदै आएको छ । 

समय समयमा हुने उच्चस्तरको भ्रमणले हाम्रो समयसापेक्ष रुपमा थप मजबुत र सुदृढ गराउँछ । रोजगारी, अध्ययन, अध्यापनलगायत विभिन्न पेशा, व्यवसाय तथा अन्य शिलशिलामा भारतमा रहेर यहाँ उपस्थित र उपस्थित हुन नसकेका सबै नेपाली नागरिकहरुलाई उच्च सम्मान गर्दै यहाँहरुको भारत बसाई सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । 

भारतमा रहनुभएका तपाई सबै सद्भाव राजदूत सरह नै हुनुहुन्छ । तपाईहरुको कामप्रतिको लगनशिलता र इमान्दारिताले भारतमा नेपालीप्रतिको विश्वास र सम्मान अझै अभिबृद्धि भएको भन्ने मैले विश्वास लिएको छु । संसारको जुनसुकै ठाउँमा रहेका नेपालीले नेपालको मूल्य मान्यता परम्परालाई अंगाल्दै विश्वमा नेपालको सकारात्मक छवि निर्माण गर्न महत्वपूर्ण भूमिका रहन्छ भन्ने मलाई लाग्दछ । 

वर्तमान सरकारले स्वदेश तथा विदेशमा रोजगारीमा रहेका नागरिकहरुलाई श्रमदानमा आधारित सामाजिक सुरक्षा कोषको कार्यक्रम लागू गरेको छ । भारतमा रहनुभएका तपाईंहरुले पनि यसको लाभ लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

तपाईंहरुले यहाँ गरेको अध्ययन र सिकेको सीप नेपाल फर्केर नेपालको विकासमा प्रयोग गर्नुहुनेछ म विश्वास व्यक्त गर्दछु । विदेशमा रहेका नेपालीलाई मताधिकारको प्रत्याभूत गर्न सरकार प्रतिवद्ध रहेको छ । सरकारले त्यस दिशातर्फ काम गरिरहेको तपाईंहरुलाई र तपाईहरुमार्फत देश विदेशमा रहेका सबैलाई जानकारी गराउन चाहान्छु ।

कोभिड १९ को महामारीपछि विश्वव्यापी रुपमा देखापरेको आर्थिक मन्दीको असर अन्य देशमा जस्तै नेपालमा पनि परेको छ । मैले सरकार सम्हालेको केही महिनामै सरकारले लिएका नीतिका कारण अर्थतन्त्रमा क्रमश सकारात्मक सुधार देखिएका छन् । वैदेशिक रोजगारीबाट रेमिट्यान्समा बढोत्तरी भएको छ । विदेशी मुद्राको सन्चिति बढेको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीले वर्तमान सरकारबाट ठुलो अपेक्षा गरेका छन् । 

सरकारले प्रदान गर्ने सेवा र सुविधालाई छिटो र छरितो सरल र सहज बनाई जनतालाई सुशासनको अनुभुति दिलाउन सरकार प्रतिवद्ध छ । सरकारले यसअवधिमा अर्थतन्त्रको पुर्नउत्थान,राज्यका सवै तहमा सुशासनको प्रत्याभूति,विकास निर्माणमा तीव्रता, सेवा प्रवाहमा सरलीकरण, सामाजिक न्यायको प्रवद्धन र जनसरकारका मुद्धाहरुको सम्बोधन गर्दै सरकारले आफ्ना कामकारवाही अगाडि बढाइरहेको छ ।

मलाई विश्वास छ यसैबर्ष भित्र हामी सकारात्मक नतिजा ल्याउन सफल हुनेछौ र नेपाली परिवर्तनको महशुस गर्नेछन् । 

उपस्थित दिदिबहिनी दाजुभाईहरु,
गत वर्ष जेठ र मंसिरमा हामीले स्थानीय, प्रदेश र संघीय निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्यौ । तीनै तहमा निश्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न निर्वाचनले देशमा संघीय शासन प्रणलीलाई सुदृढ बनाएको छ । मतपत्रअनुसार व्यक्त भएको जनताको चाहानाअनुसार संघीय तहमा मलाई संयुक्त सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ ।

चुनावको माध्यमद्दारा सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्ने प्रजातान्त्रिक प्रणालीको लोकतान्त्रिक प्रणालीको आधारभूत मान्यताअनुसार वर्तमान सरकार गठन भइ जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि क्रियाशिल रहेको अवस्था छ । भ्रष्टाचार र अनियमितता अन्त्य गर्ने तथा राज्यका सवै तह र संरचनामा सुशासन, सदाचार र जवाफदेहीता कायम गर्ने विषयलाई सरकारले विषेश जोड दिएको कुरा यहाँहरुलाई अवगत नै छ ।

वर्तमान सरकारले भ्रष्टाचारको मामिलामा शून्य शहनशिलताको नीति लिएको छ । विधिको शासनअनुसार निर्दोष कोही नपरोस्, दोषी उम्कन नपाओस् भन्नेतर्फ सरकार सजग रहेको छ । अन्त्यमा भारत भ्रमणमा संलग्न मेरो प्रतिनिधि मण्डलको सम्मानमा स्वागत समारोहको आयोजना गरी तपाई सबैसँग भेटघाटको अवसर जुटाइदिनुभएकोमा महामहिम राजदूत डा. शंकरप्रसाद शर्मा लगायत सबै कर्मचारीलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । धन्यवाद ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप