शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कांग्रेस भ्रष्टाचारी जोगाउनेतर्फ अग्रसर’

शुक्रबार, १९ जेठ २०८०, १९ : ४९
शुक्रबार, १९ जेठ २०८०

हेटौडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले भ्रष्टाचारका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न नसेकेको गुनासो गरेका छन् । 

शुक्रबार मकवानपुरको दामनमा आयोजित नेपाल प्रेस युनियन मकवानपुरद्वारा आयोजित कार्ययोजना निर्माण तथा अन्तरक्रिया कार्यक्रममा शिवाकोटीले पार्टी भ्रष्टाचारका विषयमा स्पष्ट धारणा बनाउन नसकेको र भ्रष्टाचारी जोगाउनेतर्फ अग्रसर भएको बताए ।

भ्रष्टाचार आरोप लगाइएका व्यक्ति पार्टीले निलम्बन नगरेर जोगाउने काम गरेको उनको भनाई छ । उनले नेतृत्वको कमजोरीका कारण विगत ९ महिनादेखि केन्द्रीय समितिको बैठक बस्न नसकेको बताए । 

यथाशीघ्र पार्टीको केन्द्रीय समिति बैठक राखेर भ्रष्टाचार विरुद्धमा स्पष्ट धारणा निर्माण गर्नुपर्ने र आरोप लागेका व्यक्तिहरुलाई निलम्बन गरेर अनुसन्धानमा सघाउन उनले माग गरे ।

‘पार्टीको कुरा गर्ने हो भने न नौ महिनादेखि बैठक छ,न विभागहरुले पूर्णता पाएका छन्,’ उनले भने, ‘भ्रष्टाचारका विषयमा पार्टीको धारणासमेत बाहिर आउन सकेको छैन । भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई निलम्बन गर्न सकेको छैन । यसले पार्टी नै भ्रष्टाचारी जोगाउन अग्रसर रहेको देखिन्छ ।’

पार्टी सभापतिसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि जिम्मेवारी र जबाफदेहीबाट भाग्ने काम भइरहेको उनले आरोप लगाए । 

‘हामीलाई केले अल्झायो ? बहुमतले काम गर्न दिएन भन्ने हो भने ८४ प्रतिशत सदस्य सभापतिसँगै छ । नयाँ उत्साह भएका साथीहरुलाई काम गर्ने प्लेटफर्म किन दिइँदैन ?’ उनले प्रश्न गरे ।

उनले प्रेस युनियनको नेतृत्वबाट पार्टीले सिकेर आफ्ना क्रियाकलापलाई अघि बढाउनुपर्ने बताए ।‘प्रेस युनियनले आन्तरिक लोकतन्त्रबाट नेतृत्व चयन गरेर संगठनलाई चलायमान बनाउन गतिविधिहरु गर्दै अघि बढिरहेको छ । यसबाट सबैले सिकौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप