बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : घृणाले आफैँलाई घात गर्छ

बिहीबार, २५ जेठ २०८०, ११ : २१
बिहीबार, २५ जेठ २०८०

कसैप्रति वैरभाव गर्नु, नराम्रो भावना राख्नु, नराम्रो आँखाले हेर्नु, दुर्वचन बोल्नु, कसैलाई तिरस्कार गर्नु, होच्याउनु, कसैको बदख्याईँ गर्नु जस्ता सबै किसिमका बोली र व्यवहार घृणाको परिभाषाभित्र पर्छन् । यस्ता व्यवहारले अरूलाई त खासै फरक पर्दैन । किनकि त्यस्तो कुरा उनीहरूले लिँदैनन् तर जसले त्यस्तो व्यवहार गरेको छ उसैलाई भने हानि र नोक्सानी गर्छ । यो यस्तो रोग हो, जसले जीवनमा सबै किसिमको उन्नति र प्रगतिको मार्ग अवरुद्ध गरिदिन्छ । भाइबहिनीहरूको जानकारीका लागि सत्य घटनामा आधारित यहाँ यस्तै एउटा कथा प्रस्तुत गरिएको छ । 

धेरै पहिलेको कुरा हो । कुनै समयमा स्वामी आनन्द नामका सज्जन लाहोरबाट प्रकाशित हुने ‘दैनिक मिलाप’ नामको पत्रिकामा काम गर्थे । त्यस पत्रिकाको सम्पादक नै उनै थिए । उनी सन्न्यासी थिए, सन्न्यासी धर्मअनुसार बरोबर अज्ञात स्थानमा गएर ध्यान साधना गर्ने गर्थे । यसो गर्दा उनलाई आनन्द मिल्थ्यो, काममा ताजगी । यसैका लागि एक पटक काँगडातिर लागेका थिए । 

यस पटक भने भइदियो के भने उनी काँकडाको जङ्गलमा पर्ने कुनै गुफामा बसेर ध्यान साधना गर्न त लागे तर ध्यान लाग्न भने सकेन । कारण त्यतिबेला उनको लाहोरका एक प्रतिष्ठित व्यपारीसित कुनै विषयलाई लिएर वैमनस्य बढ्दै गएको थियो । उनी जब आँखा चिम्लेर ध्यानमा बस्थे तब मनमा उनै व्यापारीको व्यवहार सम्झना आउने गर्थ्यो । उनी त त्यसलाई हटाउन चाहन्थे तर मनबाट भने मरिकाटे हट्दैनथ्यो । जति हटाउन खोज्यो उति बढेर आउँथ्यो । 

जति नै प्रयास गर्दा पनि केही नलागेपछि गहिरो सोचमा परे । ठिक त्यही बेला उनको अन्तरात्माले चेतावनी दिँदै भन्यो–

‘हे आनन्द ! एकतर्फ तँ आत्मशान्तिका लागि ध्यान साधनाको बाटोमा लागेको छस् । यसैका लागि त्यति टाढाबाट आएको पनि हो । अर्कोतर्फ तेरो मनमा त्यस व्यापारीप्रति यति गहिरो घृणा र वैमनस्य छ कि कसै गरे पनि त्यसबाट उम्कन सकिरहेको छैनस् । यस्तो अवस्थामा कसरी मनले शान्ति पाओस् ध्यान लाग्न सकोस् । मनमा कसैप्रति दुर्भावनाको कसर रहुन्जेल जहाँ पनि यस्तै हुन्छ । ध्यानमा मात्र होइन कुनै पनि काममा सफलता पाउन सकिन्न ।  

शान्तिका लागि स्थान परिवर्तन गरेर हुन्न मन परिवर्तन गर्नुपर्छ  । तेरो अशान्तिको कारण त्यो अमुक व्यापारी होइन । तेरो आफ्नै मन हो । ऊ त  अहिले पनि त्यहीँ छ, जहाँ छाडेर आएको थिइस् । जब उसप्रति दुर्भावना भरिएको मन भने अहिले पनि साथमै  छ भने कसरी शान्ति पाउँछस् ।’

बल्ल उनको आँखा खुल्यो । त्यसपछि उनी एकै छिन पनि त्यहाँ बस्न सकेनन् । तत्कालै जुरुक्क उठे र झिटी गुन्डा बोकी लाहोरतर्फ लागे । उनलाई तत्कालै फर्केको देखेर अफिसका स्टापले सोधे–

‘स्वामीजी ! तपाईँ ? अघिपछि त ५।७ पछि मात्र फर्कने गर्नुहुन्थ्यो । यस पटक त चाँडै नै आउनुभयो नि ? के प¥यो त्यस्तो ?’

तर, उनले भने त्यसको उत्तर दिन आवश्यक ठानेनन् । एक शब्द पनि नबोली सरासर तिनै व्यापारीको घरमा पुगे, जोसित घृणा र वैरभाव थियो । 

यसरी स्वामीजीलाई अचानक आफ्नो आँगनमा देखेर व्यापारी छक्क परे । उनको आश्चर्यको सीमा नै रहेन । यसैको कारण बस्नुस्, कति कामले आउनुभयो ? भन्ने जस्ता सामान्य शिष्टाचार देखाउनेसम्मको हेक्का राख्न पनि सकेनन् तर स्वामीजीको भने त्यतातिर ध्यानै गएन । व्यापारीलाई देख्नासाथ शिरको पगरी उतारेर उनको चरणमा राख्दै भने–

‘महाशय ! तपाईँसँग वैरभाव राखेर ठुलो भूल गरेँ । जे भए पनि गल्ती भइहाल्यो । जसले गरेको भए पनि त्यसको जिम्मा आफैँ लिन्छु । एउटा सामान्य नागरिकबाट भएको ठानेर माफी दिनुहोला ।’ 

यसो भनिरहँदा उनको आँखाबाट आँसु झरिरहेको थियो । स्वामीलाई त्यस्तो अवस्थामा देखेर व्यापारीले पनि मन थाम्न सकेनन् । उनको आँखाबाट आँसु चुहिन थाल्यो । त्यसपछि उनले स्वामीजीलाई अँगालो हाल्दै भन्न लागे–

‘होइन स्वामीजी ! त्यसो नभन्नुस् । गल्ती मेरो पनि थियो । मैले पनि तपाईँजस्ता सज्जनमाथि नराम्रो भावना राख्नुहुँदैनथ्यो । यस्तो अनुभव पहिलेदेखि नै नभएको पनि होइन तर आफ्नै अहमका कारण बोल्न सकिरहेको थिइन । आज तपाईँको आँखाबाट बगेको आँसुको धाराले बगाइदियो ।’

यति भनेर उनीहरू दुवै धेरै बेरसम्म अँगालोमा बाँधिएर रहे । अब दुवैको अहम् बगेर छुमन्तर भइसकेको थियो । 

स्वामीजी भोलिपल्ट नै ध्यान साधनाका लागि पुनः त्यतै लागे । यसले यति ठुलो जादु ग¥यो कि चाँडै नै ध्यान लाग्यो । उनी केही दिन त्यतै बसी साधना गरेर फर्के । यता व्यापारीको अवस्था पनि यस्तै थियो । स्वामीजीप्रतिको वैरभावका कारण केही समयदेखि काममा सफलता मिलिरहेको थिएन । जब मनको मैलो पगालियो तब काममा दत्तचित्त भएर लाग्न सके र चाँडै नै उन्नति र प्रगति गर्दै जान थाले । 

यसरी शत्रुता रहुन्जेल उनीहरू दुवैले गन्तव्य भेट्न सकेका थिएनन् । मानसिक अशान्तिका कारण जता पनि असफलता भोग्नुपर्‍यो । जब शत्रुताको सट्टा मित्रताको हात बढाए तब दुवैले अपूर्व शान्तिको अनुभव गरे । 

यो एउटा दृष्टान्त हो । जहाँ पनि यही नियमले काम गरेको हुन्छ । कसैप्रति दुर्भावना रहुन्जेल मन शान्त हुँदैन । जब मन अशान्त हुन्छ तब कुनै पनि काममा सफलता पाउन सकिन्न । यही नै प्रकृतिको अकाट्य नियम हो ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप