बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि पार्टीसँग तालमेल र सम्झौता गर्नुहुँदैन : महामन्त्री थापा

सोमबार, २९ जेठ २०८०, २१ : ५९
सोमबार, २९ जेठ २०८०

मकवानपुर  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि पार्टीसँग तालमेल र सम्झौता गर्न नहुने बताएका छन् । कांग्रेसले आगामी दिनहरुमा कुनै पार्टीसँग चुनावी तालमेल गर्दैन र सरकारका लागि विचारसँग सम्झौता गर्दैन भन्ने निर्णय गर्नुपर्ने उनले बताए ।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ र २ को प्रदेशसभा ‘ख’को संयुक्त आयोजनामा सोमबार हेटौंडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भदौमा गर्ने नीति अधिवेशनबाट कांग्रेसले कुनैपनि पार्टीसँग तालमेल गर्दैन भन्ने निर्णय गर्नुपर्नेमा जोड दिए । कांग्रेस बदलिन आवश्यक रहेको औँल्याउँदै उनले बदलेको कांग्रेसले मात्र देश र जनताको अवस्था बदल्न सक्ने दाबी गरे ।

‘सरकार र सत्ताका लागि कांग्रेस जोसँग पनि गठबन्धन गर्छ भन्ने गलत छवि बनेको छ’, थापाले भने, ‘अब हामी जस्तोसुकै समस्या आएपनि कसैसँग तालमेल र गठबन्धन गर्दैनौं भन्ने निर्णय गर्नु जरुरी छ । नेपालमा केही भएकै छैन, केही हुनेवाला छैन भन्ने सोचाइले जनताले आत्मविश्वास गुमाइरहेका छन् । नेपाली नागरिक अत्तालिएका छन्, निराश भएका छन् । किन निराशा छाएको छ भन्ने प्रश्नको उत्तर खोज्नु आवश्यक छ । कांग्रेस फेरि जनतामाझ जानु आवश्यक छ ।’

विगतको समस्याहरूलाई व्यवस्थापन गर्दै आरोपप्रत्यारोपलाई छोडेर कांग्रेसलाई कसरी राम्रो बनाउने भन्ने विषयमा सुविचारिक बहस जरुरी रहेको उनको भनाई थियो । पार्टीमा अब अनलाइनबाटै सदस्यता लिने र नवीकरण गर्ने अवस्था निर्माण गरिने उनले बताए । आफूले पाएको जिम्मेवारीमा राम्रोसँग काम गर्न सकेन भने जनताले हराइदिने भन्दै उनले कांग्रेसबाट जितेका जनप्रतिनिधिका कारण अर्को पटकको निर्वाचनमा कांग्रेसका उम्मेदवारले हार्ने अवस्था आउन नहुने बताए । नेताको घर घरमा धाएर टिकट पाउने अवस्थाको अन्त्य गर्दै टिकटका लागि जनता र कार्यकर्ताको माझ जाने अवस्था बनाउनुपर्ने महामन्त्री थापाको सुझाव थियो । भातृ तथा शुभेच्छुक संगठनलाई चुस्तदुरुस्त र चलायमान बनाउनुपर्ने भन्दै उनले सभापतिलाई पटकपटक भन्दा पनि पार्टीको बैठक नराखेको आरोप लगाए ।

‘कांग्रेस मुलुकको समस्याको समाधान बने मात्र नागरिकले भरोसा गर्ने अवस्था आउनेछ । सुशासन र जबाफदेहितालाई ध्यान दिँदै जनतामाझ पुगेर काम गर्नु जरुरी छ,’ महामन्त्री थापाले भने ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पार्टीलाई थप सुदृढ गर्दै अघि बढ्नुपर्ने धारणा राखे । निराशमा रहेका जनताको गुनासोलाई सम्बोधन गर्नुपर्ने उनको भनाई रहेको थियो । कांग्रेसभित्रको घात र अन्तर्घातको राजनीतिलाई हटाउन विधान संशोधन गर्नु जरुरी रहेको बानियाँले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप