सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

बढ्दो साइबर अपराध : पीडित महिला धेरै

प्रहरीको साइबर ब्यूरोमा हालसम्म ७ हजार ८ सय उजुरी (भिडियो)
आइतबार, १० असार २०८०

सूचना प्रविधिको विकास र आम नागरिकमा सहज पहुँचका कारण यसको दुरुपयोगबाट अपराधको क्रम पनि बढ्दै गएको नेपाल प्रहरीको आँकडाले देखाएको छ । विद्युतीय माध्यमको दुरुपयोगबाट हुने अपराधको ग्राफ निरन्तर बढ्दै गएको प्रहरी कार्यालयमा पर्ने उजुरीले देखाएको हो ।

प्रहरीले साइबर अपराधको अनुसन्धान तथा कानुनी कारबाही अघि बढाउनका लागि काठमाडौँको भोटाहिटीमा छुट्टै इकाई ‘साइबर ब्यूरो’ क्रियाशील गराइरहेको छ । प्रस्तुत छ साइबर अपराधका घटनाको अनुसन्धान र कानुनी कारबाहीका लागि काम गर्ने साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायसँग रातोपाटी संवाददाता दीपा दाहालले गरेको यो कुराकानी : 

साइबर अपराध भनेको के हो?

विभिन्न विद्युतीय सामाग्रीहरूमा पहुँच बनाएर अथवा त्यसैको दुरुपयोग गरेर गरिने अपराधलाई साइबर अपराध भनिन्छ । अर्को शब्दमा भन्नुपर्दा कतिपय अवस्थामा मेसिनले नै मेसिनलाई प्रयोग गरेर सेवा अवरुद्ध गर्नु र गैर कानुनी काम गर्नुलाई पनि साइबर अपराध भन्छौँ ।

नेपालमा साइबर अपराधको अवस्था कस्तो छ?

साइबर अपराध सम्बन्धी प्रहरीमा आउने केसहरू फरक फरक हुन्छन् । धेरै जसो फेक अकाउन्ट बन्द गर्ने केस आउँछ, ह्याक भएको आइडी बन्द गर्दिनुस् भनेर आउँछ । विशेष गरेर आउने केसहरू चाहिँ सामाजिक सञ्जालबाट चरित्र हत्या सम्बन्धी, महिला तथा बालबालिकासँग जोडिएको केसहरू, खास गरेर यौन हिंसा सम्बन्धी र पछिल्लो समयमा चाहिँ अनलाइनको माध्यमबाट ठगी भएका उजुरीहरू धेरै आएको छ । 

pashupati-kumar-ray

अहिले सम्म कतिवटा उजुरी परेको छ र परेका उजुरीहरूमाथिको मुद्दाको अवस्था के छ ?

हामीकहाँ दर्ता भएको पछिल्लो आँकडा अनुसार ७ हजार ८०० भन्दा बढी निवेदन दर्ता भएको छ । मुद्दा पनि चलेका छन् । हामीले प्राविधिक अनुसन्धान भएकाले प्राविधिक प्रमाणहरू सबै सङ्कलन गरेर त्यही अनुसार केस अगाडि बढाउँछौँ र अदालतसम्म पुर्‍याएका छौँ । आजको मितिसम्म ११९ वटा मुद्दा दर्ता भएर अदालतमा विचाराधीन अवस्थामा रहेको छ । 

कुन–कुन माध्यमबाट बढी साइबर अपराध हुने गरेको छ ?

फेसबुक लगायतका सामाजिक सञ्जाल, इन्टरनेटका विभिन्न प्लेटफर्महरू र म्यासेजिङ एपहरू लगायतबाट बढी अपराधका घटना घट्ने गरेका छन् । साइबर अपराधकै कुरा गर्दा ह्याकिङका केसहरू र अनधिकृत रूपमा पहुँच बनाउने केसहरू पनि छन् ।

साइबर अपराधमा सबैभन्दा बढी कुन उमेर समूहमा व्यक्तिहरू संलग्न भएको पाउनुभएको छ ? 

सङ्ख्याको हिसाबले २५ देखि ३५ वर्ष उमेर समूहहरूको केस बढी आउँछ । जेन्डर बेस हेर्दा महिलाको केस धेरै दर्ता हुने भएकाले महिला धेरै पीडित देखिए पनि समग्रमा यो अपराधका केसहरू हेर्ने हो भने महिला, पुरुष, संघसंस्थाहरुको पनि केसहरू छ ।

साइबर अपराध हनुका कारण के के भेट्नुभएको छ ? 

डिजिटल मिडियामा केही कुरा फर्जी हो कि होइन भनेर छु्ट्याउन गाह्रो भएकाले कुनै पनि कुरालाई हामी तुरुन्त विश्वास गर्छौ । हामीले हाम्रो आफ्ना डकुमेन्टहरू जस्तै नागरिकता, पासपोर्टजस्ता कुराहरू स्क्यान गरेर राख्दा त्यसको पनि दुरुपयोग भएर पनि अपराध भएको अवस्था छ । बैंकिङ लेनदेनहरू पनि विश्वास गरेर कुनै पनि मानिसलाई पठाउँदा पनि ठगी भएको हुन्छ । अनलाइनका हरेक कुरामा छिटो विश्वास गर्ने र सतर्कता नअपनाउनाले अपराधहरू धेरै हुन्छन् । 

साइबर अपराधको रोकथाम र नियन्त्रण कसरी गर्न सकिन्छ ?

सामाजिक सञ्जालमा भएका सेक्युरिटी फिचरहरू जस्तै सेक्युरिटी सेटिङ, प्राईभेसी सेटिङहरु प्रयोग गर्न जान्नु पर्छ, के सेयर गर्ने हो त्यो सार्वजनिक रूपमा राख्ने कि निजी रूपमा राख्ने कि त्यसमा पनि भर पर्छ । सेक्युरिटी राम्ररी प्रयोग गरेर राख्दा अपराध कम हुन सक्छ ।

साइबर अपराधबाट पीडित भएकाहरूले सहज रूपमा न्याय पाएका छन् कि छैनन् ?

हामीले अपराधसँग सम्बन्धित प्राविधिक प्रमाणहरू सबै सङ्कलन गरेर त्यही अनुसार केस अगाडि बढाएर अदालत सम्म पुर्‍याउँछौँ, अनि अदालतको प्रक्रियाबाट कारबाही अघि बढ्छ । कतिपयले काम तुरुन्तै खोज्नु पर्ने हुन्छ तर तुरुन्त गर्न कुनै कुनै काम गर्न असम्भव भएको कारणले ढिला हुन पनि सक्छ तर सकेसम्म हामीले छिटो नै गर्ने गरेका छौँ । 

साइबर अपराधमा परेर पनि कतिपय पीडितहरू आफ्नो समस्या बताउन नसक्ने अवस्थामा हुन सक्छन् ।  उहाँहरूलाई के भन्न चाहनुहुन्छ?

हामीले चलाएको हरेक मुद्दामा गोपनीयता कायम गरेको हुन्छ । अनुसन्धानका क्रममा पनि गोपनीयता कायम नै हुने गरेको हुन्छ । अदालतमा पनि बन्द इजलासमा पनि मुद्दासँग सम्बन्धित अनिवार्य मानिस बाहेक अन्य व्यक्तिको उपस्थिति हुँदैन ।  त्यसैले साइबर अपराधमा परेपछि उजुरी गर्न सङ्कोच मान्नु पर्ने अवस्था छैन । जबसम्म उहाँहरू हामीसम्म आइपुग्नु हुन्न तबसम्म हामीलाई पनि उहाँहरूको समस्या थाहा हुँदैन । त्यसैले कोही साइबर अपराधको पीडित हुनुहुन्छ भने खुलेर आउनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया