मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

थुम्के साहित्य महोत्सव–२०८२ सम्पन्न

आइतबार, १८ जेठ २०८२, २२ : ०८
आइतबार, १८ जेठ २०८२

इलाम । माईजोगमाई गाउँपालिका र थुम्के साहित्यिक समूहको संयुक्त प्रस्तुति थुम्के साहित्यिक महोत्सव २०८२ सम्पन्न भएको छ ।

बिहीबार र शुक्रबार (जेठ १५ र १६) इलामको मनोहर माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँ बजारका विभिन्न स्थानमा साहित्य, संस्कृति र समाजका विविध पक्ष समेटिएको यस महोत्सवमा रैथाने संस्कृति र साहित्यका विविध कार्यक्रमहरू समावेश गरिएको थियो । 

अमर कल्याण नमुना माध्यमिक विद्यालय, नयाँ बजारको प्रमुख व्यवस्थापकीय सहयोगमा सञ्चालित दुई दिने महोत्सवमा कविता उत्सव, चिया संवाद, कला संवाद, पुस्तक वार्ता, पुस्तक लोकार्पण, सूर्योदय सिर्जना लगायत विविध साङ्गीतिक सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे र विशिष्ट अतिथि वरिष्ठ कवि डा. नवराज लम्सालको उस्थितिमा माईजोगमाईको प्रमुख पर्यटकीय स्थल मलुपोखरीको भ्रमणबाट प्रारम्भ भएको थुम्के साहित्य महोत्सवको प्रथम दिवसमा कविता उत्सव अन्तर्गत माध्यमिक विद्यालयस्तरीय प्रतियोगितात्मक कविता वाचन, चिया संवाद तथा विविध साङ्गीतिक सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो ।

प्रतियोगितामा नेपालज्योति मा.वि.का सौरभ तामाङ प्रथम, अमर कल्याण नमुना मा.वि.का छात्राद्वय प्रश्ना कार्की र एल्भिसा भट्टराई दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नामसालिङ नमुना मा.वि.की शिक्षा घिमिरेले प्रोत्साहन पुरस्कार प्राप्त गरेकी थिइन् ।

महोत्सवको प्रथम दिन चियासंवादलाई यस क्षेत्रको चियाको समस्यामा केन्द्रित गरिएको थियो । चियाबारीका दृश्य–अदृश्य कथा शीर्षक दिइएको यस कार्यक्रममा चिया श्रमिक अस्मिता शेर्पा वक्ताका रूपमा सहभागी भएको यस संवादमा स्थानीय चियाउद्यमी सुबोध पौडेल र उत्पादक ज्ञानबहादुर ढकाल वक्ताका रूपमा सहभागी भएका थिए । 

नेपाल पत्रकार महासङ्घ इलामका अध्यक्ष भीम चापागाईंले सहजकर्ताको भूमिका निर्वाह गरेको संवादमा माईजोगमाईको चिया उत्पादन, प्रशोधन, बजारीकरण, श्रम तथा श्रमिकका कथाव्यथा प्रस्तुत गरिएको थियो ।

जेठ १६ को दोस्रो तथा अन्तिम प्रस्तुति माईजोगमाईको प्रमुख पर्यटकीय स्थल थुम्केरानीमा सूर्योदय सिर्जनाबाट प्रारम्भ गरिएको थियो । रैथाने तथा पाहुना कविका कविता प्रस्तुतिसँगै यस क्षेत्रको पर्यावरण र प्रकृतिको अवलोकन गरी सूर्योदय सिर्जनाको उद्देश्यलाई चरितार्थ गरिएको थियो ।

पूर्व क्षेत्रका वरिष्ठ सर्जकहरू धरणी गौतम, रविमान लम्जेल, टिका घिमिरे, प्रकाश थाम्सुहाङ, दिवाकर भण्डारी, इन्द्रनारायण सुवेदी, लगायत स्रष्टाका कविता वाचनका साथै वरिष्ठ गायक देवी गौतम, भूपेन्द्र राई, वृष प्रधान र कमल अर्याल लगायत स्रष्टाको गायन प्रस्तुत गरिएको थियो ।

दोस्रो दिनको  माईजोगमाईको कला : आस्था, अवस्था र सम्भावना शीर्षक दिइएको यस संवादमा आयाेजना गरिएकाे थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप