मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधन नभए नयाँ संविधानका लागि अर्को आन्दोलन हुन्छ : उपेन्द्र यादव

आइतबार, १० असार २०८०, १७ : ३०
आइतबार, १० असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयतामा नै त्रुटि रहेको बताएका छन् । अध्यक्ष यादवले संघीय संरचना निर्माण गरिए पनि त्यो त्रुटिपूर्ण रहेकोले त्यसलाई पूर्णता दिनका लागि संविधान संशोधन गनुपर्ने कुरामा जोड दिए । संघीयताको अनुभूति गर्नका लागि संविधान संशोधनबाहेक अरु कुनै विकल्प नरहेको बताउँदै उनले शासकीय स्वरुप समेत विकृत हुँदै गएको बताए । शासकीय स्वरुप विकृत भएका कारण कुनै पनि सरकार स्थिर हुन नसकेको बताउँदै यादवले शासकीय स्वरुप नै परिवर्तन गरि कार्यकारी राष्ट्रपतिय प्रणाली बनाउनुपर्नेमा जोड दिए । 

जसपाको आजदेखि सुरु भएको विधान अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । संविधान संशोधन नभए भविष्यमा नयाँ संविधानका लागि संघर्ष गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष यादवले भने, ‘तर अहिले त्यो अवस्था आएको छैन, संविधान संशोधन गर्ने अवस्था रहेको छ, संशोधन गरेर लोकतन्त्र र गणतन्त्रलाई जोगाउनका लागि संविधान संशोधन गर्नुपर्छ । यथास्थितिमा जनताले कुनै किसिमको अपेक्षा गर्ने ठाउँ देखिदैन ।’

सदन, सडक र सरकार तीनवटै ठाउँमा रहेर आफ्नो अधिकारका लागि संघर्ष गर्ने बताउँदै उनले सरकारमा रहेर जनताका लागि काम गर्ने, सदनमा नीति निर्माण गर्ने र यी दुवैबाट काम भएन भने सडकबाट पनि आफ्नो अधिकार लिनुपर्ने बताए । यादवले अहिलेको बजेटप्रति पनि असन्तुष्टि पोखे । ‘हामी चाहन्छौं यो सरकार अन्तिम समयसम्म रहोस्, सरकारले जनतालाई डेलिभर दिनुपर्छ,’ उनले भने, ‘तर अहिले आएको बजेटले जनतालाई निकै निराश बनाएको छ, अर्थतन्त्रलाई गति दिने खालका बजेट नआएकोले जनता निराश भएको छ ।’

नेपालको शिक्षा प्रणाली पनि एसियामै सबभन्दा कमजोर भएको बताउँदै उनले शिक्षा र स्वास्थ्यमा भएको व्यपारीकरणलाई रोक्नुपर्नेमा जोड दिए । अध्यक्ष यादवले कृषिलाई आधुनिकरण गर्नका लागि पनि सरकारले काम गर्नुपर्ने भन्दै यी सब कामका लागि जसपा बलियो हुनुपर्ने बताए । उनले भने, ‘जसपा नभएको भए देशमा संघीयता आउँदैनथ्यो, नागरिकता समस्या पनि समाधान हुँदैन्थ्यो ।’  यादवले पार्टीलाई अझ बलियो बनाउनका लागि सबै अघि बढ्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप