शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
बजेट

बुटवल उपमहानगरपालिकामा २ अर्ब ३६ करोडको बजेट

आइतबार, १० असार २०८०, १८ : ४४
आइतबार, १० असार २०८०

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट पेस गरेको छ ।

उपप्रमुख सावित्रादेवी अर्यालले आइतबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा ९१ करोड रुपैयाँ आन्तरिक राजस्वको लक्ष्य राखिएको छ ।

बजेटमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाका लागि १६ करोड ५० लाख, कृषि, पशुपंक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४० लाख विनियोजन गरिएको छ ।

यस्तै, फोहोरमैला व्यवस्थापन तथा वातावरणतर्फ १ करोड ८३ लाख रकम छुट्याइएको छ । बजेटमा स्वास्थ्यतर्फ बुटवल १३ र १७ नम्बर वडामा १५/१५ शय्याका अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाका लागि सबै खालको खर्च निःशुल्क गराउन नगर प्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिने र त्यसका लागि १ करोड रुपैयाँ बजेट छुट्याइएको उपप्रमुख अर्यालले बताइन् ।

नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी १ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, १८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु. ३ हजार दिने, स्तनपान गराउने आमाहरुका लागि उपप्रमुख दुग्धवर्द्धक जडीबुटी वितरण कार्यक्रम सञ्चालन, नगरवासीलाई जटिल रोगहरु (मुटुरोग, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा जनही १७ हजार रुपैयाँ राहत अनुदान दिने कार्यक्रमले निरन्तरता पाएका छन् ।

विद्यालयहरुको स्तरोन्नति तथा भौतिक सुधारका लागि २ करोड रुपैयाँ, बुटवलमै स्वास्थ्य जनशक्ति उत्पादनका लागि सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा पारामेडिकल शिक्षा सुरु गर्न ३० लाख रुपैयाँ छुट्याइएको छ ।

उज्यालो बुटवल कार्यक्रमअन्तर्गत मुख्य चोकहरुमा बत्ती जडान सौन्दर्यीकरणका लागि ४ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ ।

बुटवलको मुख्य सडक क्षेत्रलाई व्यवस्थित र बहुउपयोगी बनाउन पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन तय गर्ने र त्यसको व्यवस्थापन तथा सहकार्यमा नगरले जनशक्ति परिचालन गर्ने कार्यक्रम अघि सारिएको छ ।

यस्तै, बुटवलमा पार्किङ्ग व्यवस्थापन गर्न सार्वजनिक र निजी जग्गाको उपयोग गर्ने कार्यक्रम ल्याइएको छ ।

बुटवलले व्यवसाय दर्ता, नवीकरण, घरबहाल करजस्ता क्षेत्रको राजस्व संकलन गर्न र दायरा बढाउनका लागि राजस्व संकलन स्पेशल टास्क फोर्स गठन गरी परिचालन गर्ने नीति अगाडि सारेको उपप्रमुख अर्यालले बताइन् ।

बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्ने, रात्रिकालीन बजार सञ्चालन तथा पर्यटन प्रवर्द्धन, खेलाडी उत्पादनका लागि विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम ल्याइएको छ ।

महिलाहरुलाई उद्यमी बनाउन उपप्रमुख उद्यमशीलता कार्यक्रम, एकल महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन क्षमता विकास, अपाङ्गता भएका व्यक्तिहरुलाई सिप र रोजगारसँग जोड्ने कार्यक्रम बजेटमा ल्याइएको छ ।

एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति इरिक्सा र टेम्पुको सवारी धनी भई स्वयम् चालक भएकाहरुलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिने योजना बजेटमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप