सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘पार्टी अध्यक्ष नै दिन्छौँ भने पनि एमालेमा जान्नँ’

समाजवादी मोर्चा घोषणापछि मात्रै प्रचण्डले बोलाउनु भयो : वामदेव गौतम
सोमबार, ११ असार २०८०

काठमाडौं । कम्युनिस्ट नेता तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेले अहिले अध्यक्ष वा दोस्रो तहको वरीयता जे दिए पनि आफू एमालेमा नजाने दाबी गरेका छन् ।

‘अहिले अध्यक्ष नै बनाउँछौं, लौ आउनुस्, दोस्रो तहमा दिन्छौं भने पनि म जान्नँ । क्लोज भइसक्यो’, गौतमले रातोपाटीसँग भने, ‘म अब नेकपा एकता राष्ट्रिय अभियानलाई ७७ वटै जिल्ला र ७५३ वटै पालिकामा विस्तार गर्छु ।’

केही समयअघि एमाले र समाजवादी मोर्चाका नेताहरूसँग समानान्तर छलफल गरेका गौतम अन्तिममा समाजवादी मोर्चा र एमाले कतै अटाएनन् । गौतम समाजवादी मोर्चा वा एमाले कतै पनि नअटाएपछि कतिपयले ‘वामदेव गौतम यता न उता’ भनेर समेत टिप्पणी गरे ।

प्रस्तुत छ, बदलिदो राजनीतिक परिस्थिति र गौतमको भावी कदमबारे रातोपाटी अनलाइन टिभीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश : 

तपाईंं हालै नेकपा एमालेमा प्रवेश गर्ने भन्ने सुनिएको थियो, कहिले प्रवेश गर्दै हुनुहुन्छ ?

म नेकपा एमालेमा प्रवेश गर्ने कुरा अहिलेलाई ‘क्लोज’ भयो ।

किन ?

हामी एकीकृत हुन चाहेका थियौं । उहाँहरूले एउटा भिड जम्मा भएजस्तो गरेर ‘प्रवेश गर्नुस् । प्रवेश गरेपछि कसको क्षमता के छ ? त्यसपछि हामी विचार गरेरमात्र जिम्मेवारी दिन्छौं’ भन्नुभयो । मलाई भिडका रुपमा लिनु हुन्थेन । मलाई के जिम्मेवारी दिने भन्ने कुरा गर्नु पर्दथ्यो । हामीले चाहेर पनि ब्रेन त खाली हुँदैन । केही न केही काम गरिरहेको हुन्छ । त्यो काम गरिराख्ने भएर नै मान्छे हुन्छ । त्यसलाई कुनै समय रित्तो राखेर जे गर्छौं, हाम्रो दिमागमा भरिदेऊ भनेर छोड्न सकिँदैन थियो ।

यसको अर्थ तपाईंं नेकपा एमालेमा एकीकरण चाहनु भएको थियो, एमाले अध्यक्षले भने विलय गराउन खोज्नु भयो ?

विलय त विलय नै हो । तर त्यहाँ जाँदा हामी एकीकृत हुने हो । अभियान एमालेमा एकीकृत हुँदा कसले के जिम्मेवारी पाउने भन्ने कुरा पहिला सबै छलफल हुनुपर्‍यो भन्ने मेरो कुरा हो । तर त्यो छलफल गर्न उहाँहरूले चाहनु भएन । तपाईंंहरू पार्टीमा प्रवेश गर्ने, त्यसपछि तपाईंहरूको व्यवस्थापन हामीले कसरी गर्ने हो, त्यो हाइलेभल कमिटीले गर्छ भन्नुभयो, त्यो अनिश्चित भयो ।

मैले जे भन्ने हो आत्मकथा लेखेछु भने त्यसैबेला भनौंला । किनकि उहाँसँगको सहकार्य अझै पनि आवश्यक छ ।

भन्नाले पदमा कुरा मिलेन ?

जिम्मेवारीमा कुरा मिलेन ।

विगत २०७२ को नवौैं महाधिवेशनमा केपी ओलीलाई काँधमा बोक्नु भयो । तर त्यस यताको तपाईंहरू बीचको सम्बन्ध हेर्दा त्यसबेला गल्ती गरिएछ भनेर पश्चाताप लाग्दैन ?

त्यो कुरा अहिले म भन्दिनँ । मैले जे भन्ने हो आत्मकथा लेखेछु भने त्यसैबेला भनौंला । किनकि उहाँसँगको सहकार्य अझै पनि आवश्यक छ । नेपाली कम्युनिस्ट आन्दोलनको मूर्धन्य नेताका रुपमा उहाँ अझै पनि हुनुहुन्छ । त्यसकारण अहिले नै टुंगो लाग्ने गरी सबै विषय राख्न हुँदैन ।

तर, मैले जे महसुुस गरेको छु, त्यो कुरा कुनै न कुनै बेला अगाडि सार्नुपर्छ, भन्नुपर्छ । त्यसैबेला भनौंला र अहिले नै कसैसँगको सम्बन्ध पनि तोड्ने होइन ।

मेरो जिम्मेवारी नेपाल कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने हो । मैलेमात्रै एकतावद्ध गराउन सक्छु । सबै पक्षका कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याएर अगाडि बढाउन म हरेक बेला बलिदान हुन तयार हुन्छु ।

बलिदान हुन तयार हुने र क्षमता पनि भएको व्यक्ति कमै हुन्छ । त्यसकारण, मैले त्यो भूमिका विगतमा पनि निर्वाह गरेको छु । फेरि पनि निर्वाह गर्नुपर्छ । जसरी आज कम्युनिस्ट आन्दोलन छरपस्ट भएको छ, यस्तो हुन दिनु हुन्न । नेपाल र नेपाली जनताको भविष्यको निम्ति र नेपालको अस्तित्वको रक्षाका निम्ति पनि म बाँचुञ्जेल काम गर्नुछ ।

केपी ओलीलाई अध्यक्ष बनाउने कुरामा पश्चात नै नलागे पनि गल्ती चाहिँ भएछ भन्ने महसुस त भयो होला नि ?

त्यसबेला त्यही ठिक थियो, त्यसै गरियो । परिणाम के भयो, कसो भयो भनेर विश्लेषण नगरौं । त्यसरी गइयो भने छिनोफानो नै हुन सक्छ ।

भनेपछि अझै एमालेमा भित्र्याउँछन् कि भन्ने आश छ ?

अझै पनि केपी ओलीलाई सम्मान गर्ने एमालेमा जति छन्, त्यति नै मलाई सम्मान गर्ने पनि छन् । म त्यहाँ पुग्दा केही व्यक्तिमात्रै बेखुस् हुन्छन्, अरु सबै खुसी हुने स्थिति हो । तर त्यहाँ हामी प्रवेश गरिसकेपछि एउटा सम्मान त हुनुपर्‍यो, अर्को जिम्मेवारी पाउनुपर्‍यो । जिम्मेवारीले मात्रै प्रवेश सम्मानजनक भयो, भएन भन्ने हुन्छ ।

मैले नेकपा दुईतिर फाटिसकेको अवस्थामा केपी ओलीसँग भनेको थिएँ, ‘तपाईं वरिष्ठ नेता हुनुुस्, सर्वमान्य नेता हुनुस् । र, मलाई अध्यक्षको जिम्मा दिनुस् ।’

त्यसैले, भविष्यमा म के गर्छु भन्ने बाँकी नै छ तर नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य जति पनि कम्युनिस्ट पार्टी र विभिन्न घटकहरूलाई एकताबद्ध गर्न सकियो भने हामी समाजवाद निर्माणमा त्यसै साल प्रवेश गर्छौँ ।

यसको अर्थ एमालेलाई वामदेव गौतम आवश्यक छ तर एमाले अध्यक्ष ओलीलाई चाहिँ वामदेव आवश्यक छैन भन्ने बुझियो नि ?

त्यो तपाईंहरूले बुझ्ने हो । मैले भन्दिनँ । किनभने उहाँले भोलि नै बोलाउनु भयो भने म जान्छु । बसेर छलफल गर्छु । म राजनीतिक व्यक्ति हो ।

एमालेमा दोस्रो तहको पोजिसन नपाए पनि जानुहुन्छ ?

मैले नेकपा दुईतिर फाटिसकेको अवस्थामा केपी ओलीसँग भनेको थिएँ, ‘तपाईं वरिष्ठ नेता हुनुुस्, सर्वमान्य नेता हुनुस् । र, मलाई अध्यक्षको जिम्मा दिनुस् ।’ उहाँले भन्नुभयो, ‘तपाईंले सक्नु हुन्न ।’

हामीले छलफल पनि गर्‍यौं, निश्कर्षमा म पनि पुगेँ कि त्यस बेलाको परिस्थितिमा उहाँ नै अध्यक्ष हुनुपर्दथ्यो, नेकपा एमाले हाँक्नका लागि । तर, उहाँको नजिकमा म बस्नु पर्दथ्यो । त्यसो भएको भए अहिले पार्टीको अवस्था धेरै राम्रो हुन्थ्यो ।

उहाँ (केपी ओली) का कमी कमजोरी हटाउन मैलेमात्र सक्छु । म जसरी क्रियाशील हुन्छु, त्यसरी नै क्रियाशील हुन उहाँले दिनुभयो भने उहाँको कमी हटिहाल्छ । त्यसकारण मैले तपाईंपछिको जिम्मेवारी मलाई दिनुस् भनेको हो । अहिले पनि मैले उहाँलाई त्यो प्रस्ताव गरेँ । छलफलका दौरानमा तेस्रोमा वा चौथोमा बस्नुस् भन्नुभयो ।

तर, मलाई के जिम्मा दिनुपर्छ भने मैले राति पनि सोच्छु । मैले के काम गरिरहेको छु ? त्यो सोच्न सक्ने हुनुपर्‍यो । मेरो क्षेत्र सानो गाउँ होइन, सिङ्गो नेपाल हुनुपर्‍यो । मसँग फेरि पार्टी निर्माण गर्न सक्ने क्षमता छ ।

आरोप त के–के छ, के–के छ ? आरोप त एक जनाले अन्तरवार्तामा भनिरहेको थियो कि ‘१५ टन सुन वामदेवले ल्यायो ।’

केपी ओलीमा ‘वान मेन शो’ छ । आलोचना र विरोध गर्ने सम्भावना छैन । त्यस्तो बेला भोलि तपाईं आएपछि त उहाँको कमजोरी होइन कि ओलीलाई नै हटाउन ल्याकत राख्ने नेतालाई दोस्रो तहको जिम्मेवारी दिएर भित्र्याउँदैनन् भनेर बुझ्न सक्नु भएन ?

मैले त्यसो गर्ने भए आजभन्दा अगाडि नै गर्न सक्दैन थिएँ ? माधव नेपाललाई त्यसै गरी हटाउन सक्दिन थिएँ ? मैले झलनाथ, माधव नेपाललाई पनि बोकेँ । मदन भण्डारीलाई बोकेँ । कोअर्डिनेशन केन्द्रकालमा मुक्तिमोर्चा भन्ने हाम्रो समूह थियो, जसमा मोदनाथ प्रश्रित, युद्धप्रसाद मिश्र, मदन भण्डारी, जीवराज आश्रित लगायतका धेरै साथीहरू हुनुहुन्थ्यो । त्यो समूह र कोअर्डिनेशन केन्द्रबीच एकता गराउने मुख्य सुत्रधार मै हो । त्यसपछि मार्क्सवादी र मालेका बीचमा अन्तिम पटक एकता गराउने पनि म थिएँ । र, नेकपा एमाले र माओवादीबीच एकता गराउन पनि मैले भूमिका खेलेको हो ।

तपाईं बारम्बार यहाँका सबै कम्युनिस्ट पार्टीलाई एकीकरण गर्छु र त्यो नगरी सुखै छैन, त्यो मैले मात्र गर्न सक्छु भन्ने दाबा गर्नुहुन्छ । तर, हिजो नेकपा विभाजन गराउने तहमा पुर्‍याउने पनि वामदेव गौतम हुन् भनेर मान्छेहरू भन्छन् । फेरि तपाईंले एकताको कुरा गरिरहँदा तपाईंको भागमा फुटैफुट परेको छ । जस्तो २०५४ या नेकपा एमाले विभाजन नै किन नहोस्, यो आरोप त छ नि ?

आरोप त के–के छ, के–के छ ? आरोप त एक जनाले अन्तरवार्तामा भनिरहेको थियो कि ‘१५ टन सुन वामदेवले ल्यायो ।’ तर यथार्थ के हो ? नेकपा फुटाउन मैले भूमिका खेलेको हो ?

हो, नेकपा विभाजन रोक्न सकिएन । रोक्नका लागि केपी र प्रचण्ड दुई जनाले भूमिका खेल्नुपर्थ्यो, उहाँहरूले खेल्नु भएन । हामीले २०७५ साल जेठ २ गते राति प्रचण्ड र ओलीबीच  ५ बुँदे हस्तलिखित सम्झौता गरेका थियौं । त्यसको साक्षी नेकपा एकता संयोजन समिति थियो । हामीले सुनेर हुन्छ भनेर नेकपा भएको हो । त्यसमा अध्यक्षता गर्दा पनि आलोपालो, प्रधानमन्त्री पनि आलोपालो भनिएको थियो ।

२०७६ सालको मंसिर ४ गतेको सचिवालय बैठकमा कमरेड प्रचण्डले आफू कार्यकारी अध्यक्ष भएपछि अब मलाई प्रधानमन्त्री चाहिँदैन, आलोपालो पनि चाहिँदैन भन्नुभयो । र, प्रधानमन्त्री केपीजी तपाईं पाँच वर्ष नै प्रधानमन्त्री बन्नुुस् भनेर छोड्नुभयो । प्रचण्डले त्यसो भन्दा ल तुरुन्तै माइन्युट लेख्नुस् भन्नुभयो । हामीसँग सोधिएन । छलफल गरौँ पनि भनिएन । उहाँले त्यसरी छोडेको हप्ता दिनपछि गल्ती गरिएछ, अब त्यो कसरी प्राप्त गर्ने भन्दा पार्टी नै फुट्यो ।

सावाँ पनि ल्याउन सकिनँ, हामी २८ हजार पार्टी सदस्य गएका हौं । आउँदा २५ हजार आइयो ।

तपाईं पनि त्यहीँ नै हुनुहुन्थ्यो । एक भएको पार्टी जोगाउन सक्नुभएन त ?

म मात्रै छु त्यहाँ ? जोगाउन नसक्नुमा सबैको भूमिका छ । बरु त्यो माइन्युट लेख्नुहुन्न, यो गर्नुहुन्न भनेर मैले भन्नुपर्थ्यो, त्यो भनिनँ । त्यसकारण आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लैजाने तहसम्म पुग्यो । त्यो भएपछि मैले आजबाट म तपाईंहरूको गुटमा छैन भनेँ ।

फुटेर अर्को पार्टी बनाएँ र मैले ? अर्को पार्टी त पोहोर साल  २०७९ असार ११ मा घोषणा गरेको हो । पार्टी त उहाँहरूले खोल्नुभयो, चलाउनुभयो नि ! अनि मैले पार्टी फुटायो रे ! लाज लाग्दैन उहाँहरूलाई ?

मलाई जसले पार्टी फुटायो भन्छ नि ! २०५४ सालमा हामी एमालेबाट १४ जनालाई निष्कासन गरिएको हो । म मात्रै होइन, मोहनचन्द्र अधिकारी, आरके, सीपी पनि निष्कासित हुनेमा हुनुहुन्थ्यो । हामीले मत भिन्नता राखेका थियौँ, त्यो मतभिन्नता महाकाली सन्धिबाट उत्पन्न भएको थियो । त्यसपछि उहाँहरूले निष्कासन गरेपछि भावना भड्कियो र पार्टी विभाजन भयो । तर मैले नै फेरि मालेलाई ल्याएर एमालेमा हुलेँ ।

त्यतिखेर व्याज ल्याउन सकिनँ, सावाँ ल्याएँ भन्नु भएको थियो नि ?

सावाँ पनि ल्याउन सकिनँ, हामी २८ हजार पार्टी सदस्य गएका हौं । आउँदा २५ हजार आइयो ।

तपाईंले एकता एकता भन्ने गरे पनि वामदेवको भागमा फुटमात्रै पर्ने, कस्तो दुर्भाग्य भनेर मानिसहरू भन्ने गर्छन् नि ? किनभने हिजो १६ पेज लामो आरोपपत्र ओलीलाई नलगाएको भए हुन्थ्यो भन्ने पनि छन् नि ?

यो ममाथिको शत प्रतिशत गलत आरोप हो । मैले लगातार २ वर्षदेखि अन्तरपार्टी संघर्षमा छौँ भनेँ । अन्तरपार्टी संघर्षकोे मेमोरी हुनुपर्छ कि पर्दैन ? भविष्यका नेता र नेपाली जनताले जान्नुपर्छ कि पर्दैन ? हामी कुन विषयमा यत्रो संघर्ष गरिरहेका छौँ भनेर ? हो, त्यही विषयमा केन्द्रित भएर केही डकुमेन्ट प्रस्तुत गरौं मैले भनेको त्यति हो ।

त्यो डकुमेन्ट तपाईंले लेख्नुपर्‍यो भनेर उहाँहरूले भन्नुभयो । मैले म लेख्दिनँ, तपाईंहरूले लेख्नुस भनेँ । यदि मैले लेखेको डकुमेन्ट पास भयो भने मै अध्यक्ष हुनुपर्छ भनेपछि ‘हैन म लेख्छु’ भनेर प्रचण्डले भन्नुभयो । लेखेको पनि प्रचण्डले नै हो । मैले कतिपय विषयमा ड्राफ्ट दिएको हो तर त्यो अस्वीकार्य भयो । प्रचण्डले लेखेको डकुमेन्टमा मैले समर्थन चाहिँ गरेको हो ।

किन जाने सर्लक्क ? अनुहार देखेर जाने ? म त्यस्तो मान्छे होइन । म त्यसमा सिद्धान्त हेर्छु । तत्कालिक नीति हेर्छु ।

तपाईंले प्रचण्ड र केपीलाई जोगाउन चाहनुभयो तर पार्टी फुटाउने उहाँहरू नै हो । यस्तो अन्याय पनि गर्ने हो ? नेकपा भित्रका दुई तीन सय केन्द्रीय सदस्य मसँग छन् ? मैले लगेको छु ? कि केपी, प्रचण्ड वा माधवसँग छन् ? फुटाउने यी तीनै जना होइनन् ?

पछिल्लो समय फेरि समाजवादी मोर्चा गठन भएको छ । यसमा त तपाईं खुसी नै हुनुहुन्छ होला नि ?

जहिले मलाई प्रचण्डले सुनाउनु भयो, त्यसैबेला मैले यसलाई समर्थन गरेको हो ।

कम्युनिस्ट एक बनाउने अभियानमा लागेको मान्छे यो मोर्चामा सर्लक्क जानुपर्थ्यो नि ?

किन जाने सर्लक्क ? अनुहार देखेर जाने ? म त्यस्तो मान्छे होइन । म त्यसमा सिद्धान्त हेर्छु । तत्कालिक नीति हेर्छु । जनताको समर्थन छ कि छैन, त्यो हेर्छु । काम गर्न बोकेर हिँड्ने चिज केही छ कि छैन ? नाम्लो लगाएर भारी बोक्नुपर्ने हो कि ? विचार बोकेर हिँडनुपर्ने हो कि, त्यो सबै खोज्छु ।

केही छैन मोर्चामा ?

केही छ, छैन भन्नेमा मैले छलफल नै गरेको छैन अहिले । उहाँहरूले आउनुपर्छ भन्नु भएको छ । म विचार गर्दैछु, त्यो समाजवादी मोर्चा । एउटा गठबन्धनभित्र अर्को बनाउँदा कतै आशंका पैदा भएर सरकार चलाउने गठबन्धन टुट्यो भने के हुन्छ ? त्यो पक्ष पनि विचार गर्नु पर्नेछ । राम्रो काम भनेर समर्थन गरेको छु तर समय उपयुक्त भयो भएन ? अनि भएका विषयहरूमा आवश्यक छलफल गरेर जाने हो, त्यसरी सरक्क जाने होइन ।

समाजवादी मोर्चामा वामदेव गौतम जानुहुन्छ भनेर त्यहीबेला केपी ओलीले बोलाएर अल्मल्याउनु भयो । त्यसपछि गौतम न एमालेतिर न मोर्चातिर भनिन्छ नि ?

मलाई समाजवादी मोर्चामा आउनुस् भनेर घोषणा भएपछि प्रचण्डले भनेको हो । हामी घोषणा गर्दैछौँ आउनुस् भन्नु नै भएन ।

त्यसरी सुझाव दिँदा मोर्चा नाम हुने भयो, चुनाव चिह्न पनि एउटै बनाएर, संसदीय दल पनि बनाएर निर्वाचनमा जाने गरी जाऔं भनेर प्रस्ताव राखेको हो ।

तपाईंसँग समाजवादी मोर्चा बनाउने विषयमा छलफल नै भएन त ?

अहँ ! बाहिर बाहिर मैले थाहा पाएँ, अरु केही पनि भएको छैन । एक पटक प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदा माधव नेपाल, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र प्रधानमन्त्री प्रचण्ड बसिरहनु भएको थियो । त्यसबेला यो छलफलमा तपाईं बसेर सुने पनि केही फरक पर्दैन, हामी समाजवादी मोर्चा बनाउनेबारे छलफल गर्दैछौँ भन्नुभयो ।

त्यसो भनेपछि ‘ठिक छ, म अरु नै कामले आएको, फर्कन्छु’ भनेर फर्कन थाल्दा प्रचण्डले ‘हैन तपाईं बस्नुस्, के छ तपाईंको विचार ?’ भनेपछि मैले ‘ठिक छ, राम्रो छ’ भनेको हो । त्यसमा मैले नेपालको संविधान र त्यसमा भएका कानुनहरूले व्याकिङ गरोस्, त्यसरी लैजाउँ भनेर सुझाव दिएको हो ।

त्यसरी सुझाव दिँदा मोर्चा नाम हुने भयो, चुनाव चिह्न पनि एउटै बनाएर, संसदीय दल पनि बनाएर निर्वाचनमा जाने गरी जाऔं भनेर प्रस्ताव राखेको हो । मेरो त्यो प्रस्तावमा माधव नेपालले ‘कुनै पनि हालतमा यो हुँदैन’ भन्नुभयो । मोर्चा बनाउने, मोर्चा भए पुग्यो भनेर प्रतिवाद गर्नुभयो ।

त्यसपछि तपाईंहरू छलफल गर्नुस्, म बस्दा बोल्न लगाउनुहुन्छ । बोलेपछि के के हुन्छ भनेर म बाहिर निस्केँ । र, उहाँहरू गएपछि प्रचण्डलाई भेटेर आएँ । त्योबाहेक केही कुराकानी भएको होइन । त्यसपछि अस्तिमात्रै प्रचण्डले एमालेमा प्रवेश गर्ने कुरा के भो ? भनेर सोध्नुभयो । मैले ‘भएन’ भनेँ ।

नेपाली राजनीतिमा तपाईंकोे योगदानबारे सबैलाई थाहा छ । तपाईं अझै पनि एकताको कुरा पनि गरिरहनु भएको छ । पछिल्लो कालखण्डमा तपाईंका मन मिल्ने प्रचण्ड, माधव, उपेन्द्रहरू भएको मोर्चामा पनि अटाउनु भएन । ओलीसँग त तपाईंको धेरै कुरा मिलेको इतिहास पनि पाइँदैन । भनेपछि वामदेव गौतमजस्तो नेता एक हिसावले ‘पेण्डुलम’ भए भनेर भन्ने गरेको पनि सुनिन्छ नि ?

मसँग सरसल्लाह नगरी प्रचण्डले केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव तयार गर्नुभयो । त्यो मलाई कतै मान्य हुँदैन थियो । त्यसरी जाने हो भने पार्टीमा निर्णय गरेर जान सक्नुपर्थ्यो । आदि इत्यादि प्रक्रिया थिए । त्यो पनि पुस ४ मा मात्रै मैले थाहा पाएँ, त्यसमा म संलग्न हुने स्थिति नै थिएन ।

समाजवादी मोर्चामा चारवटा पार्टी संलग्न छन्, यी मध्ये विप्लवसँग मेरो त्यति धेरै घनिष्टता छैन । अरुसँग धेरै राम्रो सम्बन्ध छ ।

त्यसपछि केपी ओलीले बोलाउनु भयो । पार्टी पनि एउटै छ नेकपा । तर दशौँ हजार छन्, अर्कातिर १५/२० हजार छन् । यो उत्सव हो कि आन्दोलन हो कि ? के हो ? देशभरबाट मान्छे जम्मा गरेको छ, भाषण गरेको छ । भन्नु नभन्नु भनेको छ । त्यो अवस्था सिर्जना भयो । तर म कतै पनि लागिनँ, दुवै तर्फका नेताहरूलाई मैले गाली पनि गरिनँ ।

राजनीतिक सैद्धान्तिक रुपमा मैले भन्छु, आलोचना गर्छु, केही ऐतिहासिक तथ्याङ्कका बारेमा बोल्छन् भने मैले अध्ययन गरेअनुसार केही हस्तक्षेप पनि गर्छु । त्यो होइन, यो हो भन्छु । त्यसो भएर केपीले पनि पार्टीमा आउनुस् भनेर बोलाउनुहुन्छ । अहिले प्रचण्डले समाजवादी मोर्चामा आउनु पर्‍यो भन्नुभयो । अरुले भन्दैनन् ।

समाजवादी मोर्चामा चारवटा पार्टी संलग्न छन्, यी मध्ये विप्लवसँग मेरो त्यति धेरै घनिष्टता छैन । अरुसँग धेरै राम्रो सम्बन्ध छ । तर जाने कि नजाने भनेर निर्णय गरेको छैन । अहिले मैले विचार गर्नुपर्ने कुरा चाहिँ शंका उपशंकाहरू उत्पन्न हुन थाले । एउटा गठबन्धन, अर्को गठबन्धन यस्तो गरेर केका निम्ति हो भन्ने प्रश्न खडा भयो । त्यस्तो प्रश्न उठ्दा गठबन्धन नै टुट्ने वा सरकार नै गिर्ने हो कि ? भन्ने जस्ता प्रश्न छन् ।

म आजै प्रचण्डसँग मेरो मनमा खडा भएका प्रश्नहरूबारे  छलफल गर्छु । सरकार गिराउनु हुन्न भन्नेमा म छु, त्यसमा लाग्छु पनि ।  

त्यो आशंका कांग्रेसलाई हो । तर कांग्रेससँगै सल्लाह गरेर बनाएको भनेर माधव नेपाल र प्रचण्ड दुवैले भनिसक्नु भएको छ त ?

कांग्रेससँग सल्लाह गरेर बनाएको भनेर एउटा दुई वटाले भनेर हुन्न । परिस्थिति के हो ? राजनीति के हो भनेर आफूले पनि बुझ्नुपर्छ । हिजोमात्रै गगन थापा र विश्वप्रकाशले यही गठबन्धनमा बस्नुपर्छ भन्ने छैन, हामीले सुरु गरिसकेका छौँ भनिरहेका थिए ।

सरकारको फेरबदलबारे अनेक कुरा आइरहेको छ । यसबारे के भन्नुहुन्छ ?

म आजै प्रचण्डसँग मेरो मनमा खडा भएका प्रश्नहरूबारे  छलफल गर्छु । सरकार गिराउनु हुन्न भन्नेमा म छु, त्यसमा लाग्छु पनि ।  

सरकार जोगाउने जिम्मा प्रचण्डको हो नि ? तपाईंलाई किन चिन्ता ?

यस्तो पनि सोच्नुहुन्छ ?

जब प्रधानमन्त्रीलाई नै चिन्ता छैन भने तपाईंको त केही जाँदैन, सरकारको पदमा पनि हुनुहुन्न ?

कस्तो कुरा गर्नुहुन्छ ? सरकारमा हुने र नहुने एउटा जिम्मेवार नेताको र नागरिकको चासोको विषय हुँदैन ?

यो गए पनि अर्को सरकार बनिहाल्छ नि ?

हो, म नागरिक हुँ । त्यसैले, यो सरकार गिर्नु हुन्न भन्ने मेरो मान्यता छ । म सरकारमा जाउँला, मन्त्री बनाउलान् भन्ने होइन । तर ६/६ महिनामा सरकार गिर्नु राम्रो हुन्न ।

मैले एमाले, एकीकृत समाजवादी, माओवादीलाई नोक्सान गर्ने काम बाहिर बस्दा पनि गर्दिनँ, फाइदा हुने मात्रै गर्छु ।

तपाईं एकीकृत समाजवादीमा जाने सम्भावना कत्तिको छ ?

छैन, त्यो त केपी ओलीले बोलाउनु भन्दा पहिला नै क्लोज भइसक्यो । पहिला हामीले नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र एमाले तीन वटा पार्टीसँग वार्ता गर्ने निर्णय गरेका थियौं । सबैसँग बुझ्ने तर जाँदा एकीकृत समाजवादीमा जाने भनेर निर्णय नै गर्‍यौँ । र, म सोझै माधवलाई भेटेर हामीले निर्णय गर्‍यौँ भनेँ । हाम्रो व्यवस्थापन कसरी गर्नुहुन्छ, म सुन्न आएको भन्दा पटक्कै बोल्नु भएन । फेरि पछि पनि बोल्नु भएन ।

तपाईंसँग किन यति धेरै नेताहरू डराउँछन्, वामदेव प्रवेश गर्‍यो कि बिताइहाल्छ भनेर हो ?

अनि किन आइज आइज भन्ने त ?

टाढा वा बाहिर राख्दा पनि गाह्रो छ भनेर होला नि ?

हैन, हैन मैले बिगार्दिनँ । मैले एमाले, एकीकृत समाजवादी, माओवादीलाई नोक्सान गर्ने काम बाहिर बस्दा पनि गर्दिनँ, फाइदा हुने मात्रै गर्छु ।

तपाईं, प्रचण्ड र माधव नेपालको नेकपा बिउँत्याउने एउटै स्वर सुनिन्छ, सम्भावना कति छ ?

मैले त हामी तीन वटै भएर बिउँत्याउ भनेको थिएँ ।

एमालेबाहेक सम्भव छ ?

एमालेबाहेक पनि नेकपा बिउँत्याउन सकिन्छ । दुई वटा अध्यक्ष राखिदिने । एउटा अध्यक्ष भर्ने, अर्को केपी ओलीका लागि राखेको भन्ने । त्यसको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने । त्यसपछि हुन्न भनेर जसले भन्छ, अनिमात्र विरोध गर्ने ।

हिजो सर्वोच्च अदालतले नेकपा भङ्ग गर्‍यो तर हामीले त्यसलाई अस्वीकार गरेका छौँ । सर्वोच्चले भनेअनुसार आयोगमा गएर नाम परिवर्तन गर्न सकिन्छ । त्यसपछि एमालेसँग तिम्रो अध्यक्ष पद खाली छ भनेर भनौं । त्यसपछि वातावरण बन्छ भनेर स्थानीय तहको निर्वाचन अघि नै हामीले यो कुरा गरेको हो । एकपटक सहमति पनि भयो र नेकपा संयोजन समिति बनाएर अघि बढौं पनि भन्नुभयो । हुन्छ भन्ने पनि भयो र त्यसबेलाका हाम्रो ५ जना (प्रचण्डसहित)को गुट पनि बस्यौं ।

म सक्रियतापूर्वक अघि बढ्दा र एमालेमा प्रवेश गर्दा त १०/१५ लाख नै थपिन्छन् । तर, म आफैँ अघि बढ्दा त्यति धेरै नहोला ।

अहिलेको नयाँ गठबन्धनलाई समाजवादी मोर्चा किन भनेको होला ?

उहाँहरूले समाजवादी मोर्चामा संगठित गर्ने कोसिस गर्नु भएको छ । समाजवादी मोर्चा किन भनेको होला भन्ने लाग्छ भने कम्युनिस्ट भन्दा उपेन्द्र यादव कुनै पनि हालतमा नाम नमान्ने हुुनुहुन्छ । त्यसो हुँदा कम्युनिस्ट नमाने पनि समाजवादी समाजवादी मिलेर जाने भन्ने सोच्नु भएको होला । ठिकै पनि छ, त्यसरी पनि जान सकिन्छ ।

यो अवस्थामा वामदेव गौतमको राजनीतिक भविष्य के हुन्छ र तत्काल के कदम चाल्नुहुन्छ भन्ने धेरैको आमचासो छ नि ?

हामी नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानलाई कायमै राख्छौँ । यो पार्टीलाई ७७ वटै जिल्ला र ७५३ वटै पालिकामा विस्तार गर्छौँ ।

त्यसरी विस्तार गर्ने मान्छे वामदेव गौतमसँग छन् ?

म सक्रियतापूर्वक अघि बढ्दा र एमालेमा प्रवेश गर्दा त १०/१५ लाख नै थपिन्छन् । तर, म आफैँ अघि बढ्दा त्यति धेरै नहोला । देशभर २/३ लाख मानिस जम्मा गर्न म सक्छु । अब म जनस्तरमै जान्छु । मेरो मूल उद्देश्य फेरि पनि देशको विकास कसरी गर्ने ? सुझाव पनि दिइरहन्छु । यी कम्युनिस्टहरूलाई फेरि एक ठाउँ ल्याएर त्यो शक्तिले देशको विकास गर्ने ठाउँमा कसरी पुर्‍याउने भनेर लागिरहन्छु ।

एमालेले भित्र्याइदिए हुन्थ्यो भन्ने आश पनि कायमै छ ?

भाषा तपाईंले किन यस्तो प्रयोग गर्नुहुन्छ ? तपाईं आफू आफू र मित्रहरूसँग बोल्दा पनि यस्तै कुरा गर्नुहुन्छ ? चप्काइदिए, हिर्काइदिए, भित्र्याइदिए यस्तो नभन्नुुस् ।

मैले आफूलाई केन्द्रमा राखेर एकता भनेको छैन । म अध्यक्ष भएँ ? मैले मलाई अध्यक्ष बनाउँ भनेर भनेको सुन्नु भएको थियो ?

आमन्त्रण भनौँ त ?

छोड्नुस् त्यसो नगर्नुस् । अहिले हामी दिन्छौँ, अध्यक्ष नै बनाउँछौँ, लौ आउनुस्, दोस्रो तहमा दिन्छौँ भने पनि म जान्नँ । अहिले क्लोज भइसक्यो, अघि नै भनिसकेँ, नि मैले ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा एमाले यसमा अरु को को आउने हो । कम्युनिस्टहरू यी सबै ठाउँ जाउँ, त्यसरी जाने सन्दर्भमा समाजवादी मोर्चा आवश्यक पर्छ भने यो गर्न सकिन्छ ।

कम्युनिस्ट विचारबाट कुनै न कुनै रुपबाट प्रेरित भएका शक्तिहरू एक ठाउँमा नआइ यो देश बन्दैन । यो देशको विकास हँुदैन । जनतालाई खुसी बनाउन सकिँदैन । र, गलत क्रियाकलापमा संलग्न हुने, भ्रष्टाचारमा संलग्न भएका व्यक्तिलाई छान्नुपर्छ ।

वामदेव गौतमलाई अहिले पनि पदको मोह छ, किन ? कहिले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ भन्ने, कहिले एकता एकता भन्ने, त्यसमा आफूलाई केन्द्रमा राख्ने भन्ने पनि आरोप छ नि ?

मैले आफूलाई केन्द्रमा राखेर एकता भनेको छैन । म अध्यक्ष भएँ ? मैले मलाई अध्यक्ष बनाउँ भनेर भनेको सुन्नु भएको थियो ? केपी, प्रचण्डलाई तपाईंहरू हट्नुपर्छ, त्यो ठाउँमा म हुनुपर्छ भनेर मैले भनेँ कहिल्यै ?

केपी ओलीले मलाई के भन्नुभयो भने तपाईं प्रत्यक्ष निर्वाचनमा नजानुस्, अहिले राष्ट्रिय सभा निर्वाचन भइरहेको छ, तपाईं एक ठाउँबाट उठ्नुस् भनेपछि म राष्ट्रिय सभामा जाँदैन भनेको हो ।

किन जानुहुन्न ? उहाँले सोध्नुभयो । विभेद छ राष्ट्रिय सभा र प्रतिनिधि सभामा, दोस्रो दर्जाको छ राष्ट्रिय भनेँ । त्यहाँबाट प्रधानमन्त्री निर्वाचित हुँदैन, प्रधानमन्त्री बनाउँदा भोट हाल्न पाइँदैन, त्यो हटाउन सक्नुहुन्छ ? त्यो सक्नुहुन्न भने म त्यता जाँदैन, मेरो क्वालिटी प्रतिनिधि सभामा हो भनेँ ।

तर, पछि के के स्वार्थ मिले, केपीबाहेक सबैले राष्ट्रिय सभामा जाने जाने भनेपछि केपी पनि चुप लाग्नु भयो । सबै मिलेर सहमति भइसकेपछि यत्रो भन्दा तपाईंले नमानेर हँुदैन भनेपछि म मानेर गएको हो । अहिले पनि म लागे पुगेसम्म राष्ट्रिय सभा छोड्न चाहेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया