बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँका स्ववासीहरूलाई लालपुर्जा दिन प्रक्रिया अगाडि बढाइएको छ : मन्त्री श्रेष्ठ

मङ्गलबार, १२ असार २०८०, १४ : ३७
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौँका स्वासीहरुलाई जग्गाधनी पुर्जा दिने प्रक्रिया अगाडी बढाइएको बताएकी छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौँमा कमैया जीवन बिताउन बाध्य धेरै मूलवासी नेवारहरु रहेका भन्दै उनीहरुलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि बढाइएको बताएकी हुन् । उनले भूमिहिनहरुलाई जग्गाको लालपुर्जा दिन राष्ट्रिय भूमि आयोगले ७७ वटै जिल्लाका काम गरिरहेको पनि बताइन् ।  

उनले भनिन्, ‘तराईमा कमैया प्रथा उन्मुलन भएको २३ वर्ष भयो तर सुन्दापनि अचम्म लाग्छ । यद्यपि काठमाडौँमा पनि कमैयाको जीवन बिताउने मूलवासी नेवारहरु धेरै छन् । काठमाडौँमा धेरै स्ववासीको घरको लालपुर्जा छैन । अब हाम्रो लक्ष्य ति स्ववासीलाई घरको लालपुर्जा दिनु पनि हो ।’ 

मन्त्री श्रेष्ठले सहकारी पीडितहरु आन्दोलित भइरहेको सन्दर्भमा सरकारको ध्यानाकर्षण भएको बताइन् । उनले गरिब घर, परिवार पहिचान गरी परिचयपत्र वितरण गरिने पनि जानकारी गराइन् ।  

उनले भनिन्,‘सहकारीहरु सहकारीका प्रचलित मूल्य, मान्यता एवं सिद्धान्तहरु तथा सहकारी ऐन, नियम बमोजिम नै खडा गरिनेछ । अनुगमन, नियमन गरी मूल्यांकन समेत गरिनेछ । त्यस्तै हाम्रो मन्त्रालयले काम गरिरहेको गरिब घर, परिवार पहिचान कार्यक्रममार्फत गरिब घर, परिवारको पहिचानपश्चात् उपलब्ध गराइने राज्य सुविधा, परिचयपत्रका आधारमा गरिबहरुलाई राज्यले सहुलियतपूर्ण सेवा, सुविधा उपलब्ध गराउनका लागि परिचयपत्र वितरण गरिनेपनि जानकारी गराउन चाहन्छु । अहिले सहकारी पीडितहरु धर्नामा बसेका छन् । सहकारी पीडितहरुले आफ्नो पैसा आफैँले पाएका छैनन् । तिनले छिटोभन्दा छिटो आफ्नो पैसा फिर्ता पाउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । सहकारी संस्थालाई पनि कसरी दिगो र बलियो बनाउने हो यसको विस्तृत अध्ययन, अनुसन्धानको प्रक्रिया पनि अगाडी बढाइसकेको जानकारी गराउन चाहन्छु ।’ 

मन्त्री श्रेष्ठले सहकारी संस्थाहरुलाई दिगो र बलियो बनाउनका लागि विस्तृत अध्ययन र अनुसन्धानको प्रक्रिया अगाडी बढेको बताइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप