शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
नाटक

नाटक : गुरु महिमा

शनिबार, १६ असार २०८०, १० : ०६
शनिबार, १६ असार २०८०

स्थान :– कुनै सार्वजनिक चौर 

समय :– जुनसुकै

पात्रहरूः 

हजुर बा :– अन्दाजी ७० वर्षका वयोवृद्ध बौद्धिक व्यक्तित्व 

विपिन/सुमन :– कक्षा १० का १५ वर्षीय छात्र 

प्रभा/निहारिका :– कक्षा १० का १५ वर्षीया छात्रा

नेपथ्यमा गाउँको छेउमा सानो जङ्गल देखिन्छ, जहाँ पशुपंक्षी चरिरहेका हुन्छन् । उत्तरतर्फ हाँसिरहेको हिमालयको हैमवती प्रभाले जङ्गल परिसरलाई राम्रै प्रभावित पारेको छ ।  जङ्गलकै छेउमा सानो तुरतुरे धारोबाट पानी झरिरहेको देखिन्छ । एकाएक मञ्चमा पात्रहरू प्रवेश गर्छन् ।  

हजुरबा :– ‘द्यौ शान्ति अन्तरिक्ष शान्ति पृथिवी शान्ति आप शान्ति, औषय शान्ति, वनस्पतय शान्ति’ भन्दैै नजिकैको काठे कुर्सी तानेर बस्छन् र वरिपरी बसेका पात्रहरूलाई हेर्दै भन्छन्– 

‘भन त बाबु नानी हो ! मलाई किन बोलायौ ?’

विपिन :– हजुरबा ! अस्ति तपाईंले गुरुहरू भनेका भगवान् भन्दा पनि ठूला हुन्छन् भन्नु भएको थियो । त्यसैबारे थप जानकारी पाउन बोलाएका हौँ । यति बेला हामी यही जान्न चाहन्छौँ कि गुरुहरूले के गर्छन् र भगवान्भन्दा पनि ठूला मानिन्छन् ?  

हजुरबा :– (अन्य पात्रहरूको भावना जान्न खोज्दै) के तिमीहरूको चाहना पनि त्यही हो ? 

अन्य पात्रहरू :– (सामूहिक स्वरमा) हो हजुरबा ! हाम्रो पनि चाहना त्यही हो । 

हजुरबा :– गुरु धेरै किसिमका हुन्छन् । तिनमा केही हामी जस्तै हाडमासुले बनेका शरीरधारी मानिस पनि हुन सक्छन्, पशुपंक्षी पनि हुन सक्छन् । केही त यस्ता पनि हुन सक्छन्, जसको त्यस्तो शरीर नै हुँदैन । 

अहिलेलाई यति नै बुझ गुरु भनेका संस्था हुन् । उनीहरूले हित र अहितको सन्देश दिएर हामीलाई असल मार्गमा लाग्न सिकाउँछन् । ज्ञान र उपदेशद्वारा भगवत् प्राप्तिको अवस्थासम्म पु¥याउन सक्छन् । त्यसैले, उनीहरूलाई भगवान्भन्दा पनि ठूला हुन्छन् भनिएको हो ।  

विपिन :– गुरुहरू धेरै किसिमका हुन्छन् भन्नुभयो । त्यो भनेको के हो ? उनीहरूलाई छुट्याउने कुनै आधार पनि छ कि ? छ भने त्यसलाई पनि प्रष्ट पारिदिन ुहुन आग्रह गर्छौ ।

हजुरबा :– छ, छ किन नहुने ? गुरुहरूलाई चार किसिमले वर्गीकरण गर्न सकिन्छ । 

प्रभा :– के गुरुहरू चार किसिमका हुन्छन् भन्ने बुझौँ ? 

हजुरबा :– त्यस्तै बुझ्न सक्छौ ।  

सुमन :– त्यसो भए के कस्ता हुन्छन् र के के गर्छन् त हजुरबा ? 

हजुरबा :– गुरुहरू जो भए पनि उनीहरूले गर्ने काम सही बाटो देखाएर सबैको हित र उन्नति गर्नु हो । जहाँसम्म के कस्ता हुन्छन् भन्ने प्रश्न छ, तिनमा पहिलो गुरु भनेको विवेक हो, जुन हामीलाई भगवान्को कृपाले प्राप्त हुन्छ । जसले यसलाई सदुपयोग गर्छ, उसलाई अन्य गुरुको आवश्यकता पर्र्दैन । यसैबाट नै चाहे अनुसारको उन्नति र प्रगति गर्न सकिन्छ । 

निहारिका :– अनि दोस्रा गुरु कस्ता हुन्छन् नि हजुरबा ?

हजुरबा :– दोस्रा गुरु प्राणी समुदायमा पर्छन्, जसमा मानिसलगायत प्रकृतिका यावत प्राणी पर्छन् । जसले पहिलो गुरु अर्थात् विवेकलाई सदुपयोग गर्न सकेको छैन, उसले यिनै गुरुहरूले देखाएका बाटो पछ्याएर कल्याण गर्न सक्छ । 

प्रभा :– अनि तेस्रा गुरु नि हजुरबा ?

हजुरबा :– तेस्रा गुरु ती हुन्, जो हामीलाई असल ग्रन्थको रूपमा प्राप्त भएको छ । जसले प्राणीहरूद्वारा दिइएको सन्देशलाई ग्रहण गरेको छैन, गर्न जानेको छैन वा चाहेको छैन । उनीहरूले महापुरुषहरूद्वारा लेखिएका यिनै ग्रन्थहरू अध्ययन गरी जीवन सार्थक बनाउन सक्छन् ।

विपीन :– चौथो गुरु कस्ता हुन्छन् नि हजुरबा ?

हजुरबा :– चौथो गुरु भनेको सत्संग हो । आफूभित्रको कमीकमजोरीलाई सज्जनहरूको सङ्गतबाट हटाएर सन्मार्गमा लाग्ने प्रयास गर्नु नै सत्संगको प्रयोजन हो ।   

पात्रहरू :– (सामूहिक स्वरमा) ओहो ! हामीमाथि गुरुको ऋणको भार त ठूलो पो रहेछ ।

हजुरबा :– हो, ठीक भन्यौ । 

पात्रहरू :– (सामूहिक स्वरमा) अनि त्यसबाट मुक्त हुने उपाय के कस्ता छन् नि हजुरबा ?

हजुरबा :– गुरुले बताए अनुसारको बाटोमा हिँड्नु, उनीहरूले दिएका सन्देशअनुसार आफ्नो जीवनलाई ढालेर अघि बढ्ने प्रयास गर्नु नै गुरुको ऋणबाट मुक्त हुने उपाय हो ।

....

पर्दा खस्छ, सबै यताउता लाग्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप