खुलालु–लालीघाट सडकखण्ड चार दिन बन्द हुने*
सारांश
- कर्णाली राजमार्गको खुलालु-लालीघाट सडकखण्ड मर्मतका लागि आगामी मंगलबारदेखि चार दिन बन्द हुने भएको छ।
- सडक डिभिजन कार्यालयको ठेक्काअन्तर्गत निर्माणाधीन सडकखण्डमा संरचना निर्माण र मर्मत गरिनेछ।
- कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई यात्रामा असुविधा हुनेछ, तर जिते र लालीघाटमा सवारी साधन रोकिने व्यवस्था मिलाइनेछ।
कालिकोट । कर्णाली करिडोरको खुलालु–लालीघाट सडकखण्ड आगामी मङ्गलबारदेखि चार दिन मर्मतका लागि सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएको हो । कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए । ‘यही जेठ २० गते बिहानदेखि २४ गते बेलुकीसम्म यो सडकखण्ड बन्द रहनेछ’, उनले भने, ‘कर्णाली करिडोर हुँदै आएका गाडी जिते हुल्ममा रोकिने छन् भने हुम्ला, बाजुरा र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकाबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुलाई गन्तव्यमा पठाउन सकिनेछ ।’
सडक डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भई निर्माणाधीन खुलालु–लालीघाट सडकखण्डमा आवश्यक संरचना निर्माण र मर्मतका लागि सवारी आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निर्माण कार्य सहज बनाउन करिडोरको करिब एक किलोमिटर खण्ड चार दिन बन्द गर्नुपरेको प्रशासनले जनाएको हो । उक्त ठाउँ साँघुरो र अप्ठ्यारो छ ।
*यसअघि कर्णाली करिडोर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण