‘धिमे बाजा’ को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय
सारांश
- भोजपुरमा नेवार समुदायले लोप हुन लागेको धिमे बाजाको संरक्षणका लागि एक महिने तालिम सञ्चालन गरेको छ।
- तालिमको उद्देश्य नयाँ पुस्तालाई धिमे बाजाको बारेमा जानकारी गराउँदै यसको महत्वबारे प्रोत्साहन गर्नु रहेको छ।
- तालिममा सहभागीहरूले धिमे बाजा बजाउन सिक्नुका साथै यसको सांस्कृतिक महत्व बुझेका छन्।
भोजपुर। भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे बाजाको परम्परालाई संरक्षण गर्न जिल्लामा एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
नेवार समुदायमा प्रचलित धिमे बाजालाई जोगाइराख्न नेवाः मिसा दबुको आयोजनामा एकमहिने तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष अवनी शाक्यले बताइन् । नयाँ पुस्तामा धिमे बाजाका बारेमा जानकारी गराउँदै यसतर्फ प्रोत्साहन गर्न यो तालिमको आयोजना गरिएको उनको भनाइ छ ।
धिमे बाजा नेवार समुदायमा हरेक शुभकार्यमा बजाइने चलन रहँदै आएको छ । प्रशिक्षक प्रेम शाक्यले सबै मिलेर आफ्ना बाजा, वेशभूषा, संस्कार र संस्कृति जीवन्त राख्न आवश्यक भएको बताए । उनले भने, “आफ्नो संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई पनि सीप र कला हस्तान्तरण गर्न यस्ता प्रशिक्षण जिल्ला तहमा महत्त्वपूर्ण हुनेछन्।”
युवा पुस्ताले चासो नदिए संस्कृति नै हराउने जोखिम बढेको छ । विगतदेखिका कला, संस्कृति र परम्परा जोगाउन आफूले युवाहरूलाई प्रोत्साहन गर्दै आएको अध्यक्ष शाक्यले बताए। पन्ध्र जनाको सहभागितामा आयोजित प्रशिक्षणले धिमे बाजाको ज्ञानसहित आफूहरूलाई सो बजाउने चरणबद्ध तरिकासमेत आएको प्रशिक्षणका सहभागी निलेस प्रधानले बताए। “मलाई धिमे बाजाका बारेमा ज्ञान थिएन, एक महिनाको तालिम लिएपछि अब बजाउन पनि आउँछ”, उनले भने ।
धिमे बाजा नेवार समुदायमा नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा बजाउने गरिन्छ । नयाँ पुस्तामा सांस्कृतिक ज्ञान र सीप हस्तान्तरण नहुँदा संस्कृति लोप हुने अवस्थामा पुग्ने भएकाले यसलाई जोगाउन जरुरी रहेको नेवार समुदायका अगुवाहरूको भनाइ छ । पुराना संस्कार र संस्कृतिको जगेर्नामा नगरपालिकाले पनि सहयोग गर्दै आएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताए ।
नेपाली संस्कार र संस्कृति अमूल्य सम्पत्ति भएकाले सबै भाषा, धर्म र संस्कृतिको संवर्द्धन जरुरी रहेको नगरप्रमुख आलेको धारणा छ । प्रशिक्षणका क्रममा आर्जन गरेका सीप व्यवहारमा उतार्न जरुरी रहेको उल्लेख गर्दै नगरप्रमुख आलेले धिमे बाजा केवल बाजामात्र नभएर मौलिक संस्कृति र पहिचान भएको बताए । नेवाः मिसा दबु भोजपुरको आयोजना तथा भोजपुर नगरपालिकाको सहयोगमा सञ्चालित एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण