शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती

‘गिरिजाबाबुले ‘मलाई राष्ट्रपति बनाइदेऊ’ भनेर कसैलाई कहिल्यै भन्नुभएन’

सोमबार, १८ असार २०८०, १७ : २६
सोमबार, १८ असार २०८०

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको आज १०० औं जन्मजयन्ती । नेपालको राजनीतिमा उनको योगदानको चर्चा सबैजसो दलका नेताहरुले गर्ने गर्दछन् । किनकि २०४६ सालको जनआन्दोलनपछिको राजनीतिक परिवर्तनदेखि २०६२÷०६३ को राजनीतिक परिवर्तनपछिसम्म झण्डै दुई दशक नेपाली राजनीतिको केन्द्रमा थिए गिरिजाप्रसाद कोइराला ।

कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले सत्तादेखि प्रतिपक्षको भूमिकासमेत निर्वाह गर्‍यो । उनकै नेतृत्वमा रहेको कांग्रेस विभाजन हुनेदेखि लिएर एकीकृत हुनेसम्मको घटनाक्रम इतिहासमा दर्ज भएको छ ।

नेपाली राजनीतिमा थुप्रै आरोह–अवरोह झेलेका गिरिजाप्रसाद कोइरालालाई धेरैले धेरै अर्थमा स्मरण गर्दछन् । लामो समय उनको राजनीतिक सल्लाहकार रहेका पुरञ्जन आचार्य भने कोइरालालाई एउटा राजनेतामा हुनुपर्ने सबै गुण सम्पन्न नेताका रुपमा सम्झिन्छन् ।

राष्ट्रपति बन्न किन सकेनन् गिरिजाप्रसाद ?

तत्कालीन प्रधानमन्त्री कोइरालाका राजनीतिक सल्लाहकार आचार्यका अनुसार पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाबाबु राष्ट्रपति बन्नेमा धेरैले अडकलबाजी गरेका थिए । तर कोइरालाले कहिल्यै त्यो चाहना ‘एक्सपोज’ नगरेको उनले बताए ।

‘उहाँले राष्ट्रिय सहमति भएमा राष्ट्रपति बन्ने सोच राख्नुभएको हुन सक्छ । तर त्यसलाई कहिल्यै पनि व्यक्त गर्नुभएन,’ आचार्यले भने, ‘मलाई राष्ट्रपति बनाउ भनेर उहाँले कसैलाई पनि भन्नुभएन । त्यो म ग्यारेन्टीका साथ भन्न सक्छु ।’

उनले अगाडि भने– तर सबै पार्टी मिलेर तपाई राष्ट्रपति बन्नुपर्छ भनेको भए उहाँले के भन्नुहुन्थ्यो होला ? त्यो अनुमानको कुरा भयो । मलाई लाग्छ, त्यो अवस्थामा उहाँले सम्भवतः ‘नो’ भन्नुहुन्थेन होला ।

त्यसो त, सोमबार गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेकोमा पश्चात्ताप लागेको बताए ।

तर आचार्य भने प्रचण्डको उक्त अभिव्यक्ति अहिले कांग्रेसलाई विश्वासमा लिनका लागि केन्द्रित भएको बताउँछन् । प्रचण्डले सहानुभूति लिनका लागि अहिले त्यो कुरा गरेको हुन सक्ने उनको भनाइ छ । उनले भने– गिरिजाबाबुले पुष्पकमल दाहालसँग ‘मलाई राष्ट्रपति बनाउनुस्’ भनेर भन्नुभयो भनेर कसैले भन्छ भने म पत्याउँदिन । उहाँले त्यस्तो कुरा कसैलाई भन्नुभएको हुन्थ्यो भने त्यो कुरा हामीलाई पक्कै पनि सुनाउनु हुन्थ्यो ।

गिरिजाप्रसाद कोइरालामा त्यस्तो अव्यक्त आकांक्षा थियो भने पनि त्यो दबिएर गएको आचार्यको भनाइ छ । उनले भने, ‘एउटा कर्नरमा मलाई के लागेको थियो भने सबै पार्टी मिलेर राष्ट्रिय सहमतिका साथ उहाँलाई प्रस्ताव गरेको भए उहाँले नाइ भन्नु हुन्थेन भन्ने म अनुमान गर्न सक्छु ।’

नेपाली कांग्रेसले अहिले गिरिजाप्रसाद कोइरालाको बाटो त्यागेको आचार्यको टिप्पणी छ । गिरिजाप्रसाद कोइरालाले विभिन्न आन्दोलनमा दलहरुसँग सहकार्य गरेको स्मरण गर्दै उनले भने, ‘तर उहाँ चुनावमा कसैसँग सहकार्य गर्ने पक्षमा कहिल्यै हुनु भएन ।’

गिरिजाप्रसाद कोइराला चुनामा दलहरुले आ–आफ्नो विचार, सिद्धान्त लिएर जनतामा जानुपर्छ, जनताले जे म्यान्डेट दिन्छन्, त्यसलाई स्वीकार गरेर जानुपर्छ भन्ने पक्षमा सदैव रहेको उनले सुनाए । ‘संघर्षमा जाने सवालमा, विधेयकहरु संसदबाट पारित गर्ने सन्दर्भमा, व्यवस्था जोगाउन, प्रजातन्त्र जोगाउन उहाँले दलहरुसँग सहकार्य गर्नुभयो । तर चुनावमा जाने सवालमा उहाँले कसैसँग सहकार्य गर्नुभएन,’ उनले भने, ‘त्यसको विपरीत अहिले कांग्रेसका कार्यकर्ताले अरु दलको चुनाव चिह्नमा र अरु दलका कार्यकर्ताले कांग्रेसको चुनाव चिह्नमा मत दिनुपर्ने अवस्थामा हामी छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप