शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती

‘... अनि मलाई गिरिजाबाबुले राष्ट्रपतिको उम्मेदवार बनाउनुभयो’

प्रथम राष्ट्रपति रामवरण यादवको सम्झनामा गिरिजाप्रसाद कोइराला
सोमबार, १८ असार २०८०, १५ : २६
सोमबार, १८ असार २०८०

काठमाडौं । गिरिजाप्रसाद कोइरालालाई नेपाली राजनीतिमा लोकतान्त्रिक आन्दोलनको योद्धाका रुपमा चिनिन्छ । २०४६ सालको जनआन्दोलनपछिका दुई दशक नेपालको राजनीतिको केन्द्रमा रहेका उनी चार पटक प्रधानमन्त्री बने । २०६२/०६३ को जनआन्दोलनमा उनको नेतृत्वदायी भूमिका थियो ।

एक दशक लामो माओवादी जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउँदै देशमा गणतन्त्र स्थापना गर्न गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । प्रधानमन्त्रीका रुपमा अन्तिम कार्यकाल उनले राष्ट्र प्रमुखको जिम्मेवारीसमेत सम्हाले पनि गणतन्त्र नेपालको प्रथम राष्ट्रपति हुन भने सकेनन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन आफूले त्यतिबेला नसघाउनुलाई जीवनकै एउटा प्रमुख गल्तीका रुपमा चित्रण गर्दै आएका छन् । सोमबार गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा समेत प्रचण्डले गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिका रुपमा गिरिजाप्रसाद कोइरालालाई आफूले प्रस्ताव नगरेकोमा पश्चात्ताप रहेको बताए ।

‘गिरिजाप्रसाद कोइरालाको परिपक्व राजनीति, सुझबुझ या दुरदृष्टि, अस्पतालमा जतिबेला उहाँ मृत्युसँग जुधिराख्नुभएको थियो, मलाई एक्लै बोलाएर सम्हाल्नुस् देश भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति अगाध आस्था र विश्वास भइराख्यो, भइराख्छ,’ प्रचण्डले भने, ‘शान्तिको रक्षा गर्ने कुरा, संविधानको रक्षा गर्ने कुरा र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठुलो दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिजाप्रसाद कोइराला हो ।’

अनि राष्ट्रपति बन्ने सोच त्यागे गिरिजाले

पहिलो संविधानसभा निर्वाचन हुँदा गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेसको सभापति थिए । यद्यपि, सो निर्वाचनमा माओवादी पहिलो राजनीतिक शक्तिका रुपमा स्थापित भयो ।

Shutterstock_7883639c

उक्त निर्वाचनपछि देशले पहिलो राष्ट्रपति चयन गर्नुपर्ने थियो । तर, दोस्रो जनआन्दोलनको नेतृत्व गरेको र माओवादीलाई शान्तिपूर्ण राजनीतिक धरातलमा ल्याएर १० वर्षे जनयुद्धलाई अन्त्य गराएको श्रेय स्वाभाविक रुपमा गिरिजाप्रसाद कोइरालालाई गए पनि त्यसको प्रतिफल व्यक्तिगत रुपमा आफूले लिनुपर्छ भन्ने सोच गिरिजाप्रसादमा कहिल्यै नदेखिएको गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव बताउँछन् ।

बरु आफूले नै गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बनाउनु पर्छ भनेर सार्वजनिक रुपमा अभिव्यक्ति दिएको उनले स्मरण गरे ।

रातोपाटीसँग संक्षिप्त कुरा गर्दै प्रथम राष्ट्रपति डा. यादवले भने, ‘गिरिजाप्रसाद कोइरालाको कुशल नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको, लोकतान्त्रिक गणतन्त्रको मुख्य फिगर पनि भएका कारण उहाँलाई राष्ट्रपति बनाउनु पर्छ भनेर मैले सार्वजनिक रुपमा अभिव्यक्ति दिएको थिएँ ।’

पहिलो संविधानसभा निर्वाचनबाट माओवादी ठुलो पार्टीका रुपमा स्थापित भएका कारण सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउनुपर्ने, एमालेबाट सभामुख, मधेसवादी दलहरुलाई उपसभामुख, उपराष्ट्रपति पद दिएर शक्ति सन्तुलन मिलाउनुपर्छ भनेर आफूले त्यतिबेला प्रस्ताव गरेको उनको भनाइ छ ।

तर माओवादीले त्यसबेला गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिमा स्वीकार नगरेका कारण कांग्रेसबाट आफू उम्मेदवार बनेको डा. यादव बताउँछन् । ‘जबकि गिरिजाबाबुलाई राष्ट्रपति बनाउने एउटा समझदारी कुनै चरणमा थियो । माओवादी त्यसबाट पछाडि हट्यो,’ उनले भने ।

‘गिरिजाबाबु सर्वसम्मत रुपमा राष्ट्रपतिका लागि सिफारिस भएको भए सायद पहिलो राष्ट्रपति बन्न तयार हुनुहुन्थ्यो । तर माओवादीले नमानेपछि उहाँले राष्ट्रपतिमा रुची राख्नुभएन,’ उनले भने ।

एमालेबाट माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव आएको थियो । कांग्रेसका एक पक्षले माधवकुमार नेपाललाई राष्ट्रपतिमा समर्थन गर्नुपर्ने मनसायसमेत राखेका थिए तर त्यसमा पनि माओवादीले नमान्दा कुरा अघि बढ्न सकेन ।

त्यतिबेलाको समीकरण अनुसार राष्ट्रपति निर्वाचित हुन कांग्रेस, एमाले र मधेसवादी दल मिलेको खण्डमा मात्र सम्भव थियो । डा. यादवका अनुसार गिरिजाबाबु र माधव नेपालको नाममा माओवादी सहमत नभएपछि कांग्रेसले आफ्नोतर्फबाट उम्मेदवार दिनुपर्छ भन्ने कुरा आयो ।

यस्तो अवस्थामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आन्तरिक रुपमा कांग्रेसबाट चार जनाको नाम प्रस्ताव गरेको डा. यादवले सुनाए । ‘गिरिजाबाबुले शेरबहादुर देउवा, रामचन्द्र, पौडेल, डा. रामशरण महत र मेरो नाम प्रस्ताव गर्नुभयो,’ उनले भने, ‘चारै जनाबीच पनि कसलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भन्नेबारे छलफल भयो ।’

डा. यादवका अनुसार रामचन्द्र पौडेल आफू अहिले राष्ट्रपति नबन्ने भनेर पन्छिएका थिए । उनले भने, ‘डा. रामशरण पनि पन्छिनुभयो । मधेसमा आन्दोलन भइरहेको थियो । मैले हिमाल, पहाड र मधेस जोड्नुपर्छ भन्ने कुरा गर्दै आइरहेको थिएँ । त्यसले गर्दा सबैले मेरै नाममा जोड दिनुभयो । पार्टीमा छलफल हुँदा अन्तिममा गिरिजाबाबुले मेरो नाम फाइनल गर्नुभयो ।’

जनआन्दोलनको कमाण्डर भएकाले आफूचाहिँ गिरिजाबाबु नै राष्ट्रपतिको उम्मेदवारका लागि उपयुक्त पात्र हो भनेर प्रस्ताव गरेको तर दलहरुबीच आफ्नो नाममा सहमति नभएका कारण गिरिजाबाबुले पार्टीबाट उम्मेदवार बनेर प्रतिस्पर्धामा जान नचाहेको डा. यादव सम्झिन्छन् । ‘गिरिजाबाबुको नाममा दलहरु नै तयार नभएपछि उहाँले आन्तरिक छलफल गरेर मेरो नाम राष्ट्रपतिको उम्मेदवारका रुपमा फाइनल गर्नुभयो ।’

गिरिजाप्रसाद कोइरालालाई कुन रुपमा सम्झिने ?

चुनौतीपूर्ण अवस्थामा पनि पार्टी, देशलाई नेतृत्व दिन सक्ने र समस्याको निकासमा पुग्न सक्ने क्षमता गिरिजाप्रसाद कोइरालामा रहेको डा. यादव बताउँछन् । ‘उहाँले चार वटा राजाको शासन झेल्नुभयो । तत्कालीन राजाहरु त्रिभुवन, महेन्द्र, वीरेन्द्र हुँदै ज्ञानेन्द्रको पालामा समेत राजनीति गर्नुभयो,’ उनले भने, ‘राजनीतिमा यति लामो अनुभव थियो, देश र जनताको आवश्यकतालाई राम्रोसँग बुझ्नु भएको थियो, पार्टीको संगठनलाई चलायमान बनाउने खुबी उहाँमा थियो ।’

गिरिजाप्रसाद कोइरालाले जीवनभर राष्ट्रियता र लोकतन्त्रलाई नै आफ्नो राजनीतिको मेरुदण्ड बनाएको पनि डा. यादव बताउँछन् । ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसको चुरो थियो, समाजवादमा उहाँले कति गर्नुभयो, त्यो आफ्नो ठाउँमा छ तर राष्ट्रियता र लोकतन्त्रका लागि उहाँ कहिल्यै डगमगाउनु भएन,’ उनले भने ।

आफ्नो अनुकुल रहे पनि, नरहे पनि गिरिजाप्रसाद कोइरालाले राष्ट्रियता र लोकतन्त्रका सम्बन्धमा कहिल्यै कसैसँग गलत ढंगले सम्झौता नगरेको उनी बताउँछन् । शान्तिपूर्ण लोकतान्त्रिक अभ्यास होस्, जनताले आफ्नो अधिकार उपभोग गर्न पाउन् भनेर नै गिरिजाबाबुले हतियार बोकेको शक्तिलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याएर राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको महामन्त्रीको भूमिकासमेत निर्वाह गरेका डा. यादव गिरिजाप्रसाद कोइरालालाई कुशल संगठनकर्ता, आवश्यक निर्णय लिने क्षमता भएको नेताका रुपमा स्मरण गर्दछन् ।

‘राजनीतिमा सही लाग्यो भने आवश्यक निर्णय लिने क्षमता उहाँमा थियो,’ उनले भने, ‘यसो भन्दैमा उहाँले कहिल्यै गलत निर्णय लिनुभएको मलाई याद छैन ।’

गिरिजाप्रसाद कोइराला राजनीतिमा सक्रिय कुनै पनि व्यक्ति, त्यो आफ्नो पार्टीको होस् या अरु पार्टीको किन नहोस्, उसलाई आवश्यकता परेको बेलामा आफ्नो तर्फबाट जस्तोसूकै सहयोग गर्न तयार हुने गरेको पनि उनले सुनाए । उनले भने, ‘आफू पदमा हुँदा होस् या नहुँदा होस्, राजनीतिक पृष्ठभूमि भएको मान्छेलाई उसको आवश्यकतामा आफूले सकेको सहयोग गर्न तयार हुनुहुन्थ्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप