शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

भारतीय इसारामा बनेको प्रधानमन्त्री स्वीकार्य हुन्न, राजीनामा नदिई बैठक चल्न दिन्नौँ: दाहाल

बुधबार, २० असार २०८०, १५ : २६
बुधबार, २० असार २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । बुधबार राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् । 

उनले आफूहरुको सो माग पूरा नभई संसद् बैठक चल्न नदिने अडान राखे । नेता दाहालले प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने पटकपटक दोहोर्याए भयो । उनले भने, ‘गत १८ गते भारतीय नागरिक प्रितम सिंहको ८८ औँ जन्म दिनको अवसरमा उनको छोरीले लेखेको पुस्तक विमोचन विमोचन गर्ने सन्दर्भमा हाम्रो देशका सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिलाई लिएर अहिले देशव्यापी रुपमा एउटा कौतुहलता जागेको छ । यो हाम्रो देशको प्रधानमन्त्री कसले बनाउँछ ? हाम्रो देशको प्रधानमन्त्री कसले नियुक्त गर्छ । कसेको इसारामा हुन्छ ?’ 

नेता दाहालले प्रधानमन्त्री दाहाल स्वयम्ले आफू भारतको इसारामा, भारतीय नागरिक सिंहको पहलमा प्रधानमन्त्री भएको अभिव्यक्ति दिनु लज्जाको विषय भएको पनि बताए ।

उनले थपे, ‘सम्माननीय प्रधानमन्त्रीजीले त्यहाँ अभिव्यक्त गर्नु भएको छ । प्रितम सिंह राजनीतिमा पनि चासो राख्नु हुन्थ्यो । र, मलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा उहाँ पटकपटक दिल्ली जानु भयो । र, दिल्लीमा गएर उहाँले राजनीतिक वातावरण बनाउनु भयो भन्ने आशय र यहाँ नेपालमा पनि विभिन्न नेताहरुसँग छलफल गर्ने क्रममा उहाँले भूमिका खेल्नु भयो । एउटा भारतीय नागरिक, यहाँ व्यापार, बिजनेस गर्ने हिसाबले बसेको नागरिकले यहाँ देशका नेताहरुसँग समन्वय गर्छ । र, भारतमा गएर दिल्लीमा पनि नेताहरुसँग समन्वय गर्छ । र, प्रधानमन्त्री बनाउँछ । यो हाम्रो देशका लागि शिर निहुँर्‍याउने विषय भएको छ । र, उहाँ स्वयम्ले यो कुरा अभिव्यक्त गर्दाखेरी हामी लज्जित भएका छौं । हामीलाई लज्जाबोध भएको छ । हामी कुन देशका नागरिक हौं ? हामीले हाम्रो देशको प्रधानमन्त्री बनाउँदा खेरी यो देशका सार्वभौमसत्ता सम्पन्न संसद्ले बनाउँछ कि भारतको इसारामा, दिल्लीको इसारामा बन्छ ? भन्ने कुरा आम नेपाली जनतालाई एउटा कौतुहलतापूर्वक यो कुरा सोचिरहेको छ । त्यसले गर्दा हाम्रो पार्टी नेकपा एमालेले यसलाई गम्भीर रुपमा लिएको छ । र, यसरी भारतको इसारामा प्रधानमन्त्री बन्छ भन्ने त्यो प्रधानमन्त्री हामीलाई ग्राह्य छैन । त्यो प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन । त्यसकारण हामी प्रधानमन्त्रीले यो देशका प्रधानमन्त्री जुन भनिरहनु भएको छ । उहाँले राजीनामा दिनु पर्छ । उहाँलाई यो देशको प्रधानमन्त्री हुने कुनै अधिकार छैन । हक छैन । जब उहाँ दिल्लीको इसारामा प्रधानमन्त्री बन्नु भएको हो भने नेकपा एमालेलाई त्यो स्वीकार्य छैन । किनभने एउटा प्रक्रियाबाट प्रधानमन्त्री बन्छ । यो देशको नियम, कानुन अनुसार प्रधानमन्त्री बन्छ यसो हेर्दाखेरी । तर, के देखियो भने उहाँ त यो त देखाउने कुरा मात्रै रहेछ । यहाँ गणितको कुरा त देखाउने कुरा मात्रै रहेछ । त्यसकारण उहाँले तुरुन्तै राजीनामा दिनु पर्छ । र, मार्ग प्रशस्त गर्नु पर्छ । भारतको इसारामा, भारतको नेतृत्वमा, भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन । त्यसैले गर्दाखेरी प्रधानमन्त्रीले राजीनामा नदिउन्जेलसम्म यो बैठक अवरुद्ध गर्दर्छौं । र, यो बैठक संचालन गर्न दिँदैनौं । एमाले यो दृष्टिकोण राख्न चाहन्छु ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप