शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

अनुदानमा पाएको ४६ लाख सिरिन्ज प्रयोग गर्न नमिल्ने, जिल्लाहरूबाट धमाधम फिर्ता

शुक्रबार, २२ असार २०८०, १३ : ५४
शुक्रबार, २२ असार २०८०

काठमाडौं । सरकारले अनुदानमा प्राप्त गरेको ४६ लाख सिरिन्ज प्रयोग गर्न नमिलेपछि धमाधम फिर्ता ल्याउन थालिएको छ । कोरोना महामारीकालमा युनिसेफले नेपाललाई अनुदानमा उपलब्ध गराएको ०.५ एमएलको ४६ लाख २९ हजार ५०० सिरिन्ज विभिन्न जिल्लाबाट फिर्ता गर्न थालिएको हो ।

पथलैया स्टोरमा ७ लाख २० हजार सिरिन्ज सङ्कलन गरी भण्डारणमा राखेको जनस्वास्थ्य निरीक्षक सञ्जय साहले जानकारी दिए । खोप दिँदा सिरिन्जले तान्न नसक्ने, तान्दा चुँडिने, खोप चुहिने समस्या देखिएकाले प्रयोग गर्र्न समस्या भएपछि त्यस्ता सिरिन्ज संकलन भइरहेको व्यवस्थापन महाशाखा अन्तर्गत खोप भण्डारण शाखा प्रमुख निशा पराजुलीले बताइन् ।

खोप भण्डारण शाखाका अनुसार प्रदेश, जिल्ला र स्थानीय तहहरूमा पठाइएको प्रयोग गर्न नमिल्ने सिरिन्ज संकलन कार्य ५० प्रतिशत सकिएको छ । यसरी संकलन गरिएको सिरिन्ज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको छ ।

अनुदानमा प्राप्त गरिएको सिरिन्ज कमसल भएको र खोप लगाउन समस्या भएपछि स्थानीय तहका स्वास्थ्यकर्मीले केन्द्रमा रिपोर्टिङ गरेका थिए । त्यसपछि सरकारले युनिसेफसँग समन्वय गरी ती सिरिन्ज सङ्कलन गर्न थालेको हो ।

यसअघि सरकारमार्फत खरिद गरिएको सिरिन्जमा कुनै पनि समस्या  नभएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका अधिकृत भरत भण्डारीले बताए ।

‘कोरोना महामारीकालमा सिरिन्जको हाहाकार थियो । ज–जसले सिरिन्ज दिन्छन्, उनीहरूबाट मापदण्ड अनुसार सरकारले स्वीकार ग¥यो,’ उनले भने, ‘महामारीकालमा अनुदानमा आएको सिरिन्जले ५ वर्षसम्म पुग्छ ।’

कोरोना महामारीकालमा अनुदानमा सिरिन्ज आउँदा मापदण्ड र गुणस्तरभन्दा पनि तत्काल अभाव पूर्ति गर्न बढी ध्यान केन्द्रित भएको सरकारी अधिकारीहरु बताउँछन् ।

तर गुणस्तरीय सिरिन्ज नआउँदा गएको दुई वर्ष ती सिरिन्जकै कारण खोप खेर जाने समस्या बढेको स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।

बालबालिकालाई दिइने नियमित खोप, कोभिड–१९ विरुद्धको फाइजर खोपबाहेक अन्य खोप खेर जानुको मुख्य कारण सिरिन्ज पनि भएको भण्डारीले बताए । सिरिन्जको कारणले १०–२० प्रतिशत खोप खेर जाने गर्छ ।   

‘सरकार, महालेखा लगायतले खोप खेर जाने दर किन बढ्यो भनेर स्वास्थ्यकर्मीलाई बेलाबेला प्रश्न गर्नुहुन्छ,’ भण्डारीले भने, ‘सिरिन्ज ल्याउँदा पहिला सम्बन्धित निकायले ख्याल गर्नुपर्छ ।’  

पाँच वर्षलाई पुग्ने सिरिन्ज स्टकमा

सरकारलाई विभिन्न दातृ निकायले अनुदानमा उपलब्ध गराएको सिरिन्ज ०.५ एमएलको ५ करोड ९९ लाख ९८ हजार ७९३ थाप स्टक छ । यस्तै, महामारीकालमा युनिसेफबाट अनुदानमा आएको ०.५ एमएल सिरिन्जमध्ये १ करोड १ लाख ७१ हजार ९०० सिरिन्ज पथलैयामा स्टक रहेको जनस्वास्थ्य निरीक्षक साहले बताए । यो स्टकले पाँच वर्ष धान्ने जनाइएको छ ।

खोप भण्डारण शाखा प्रमुख पराजुलीका अनुसार केन्द्रको भण्डारणमा ०.५ एमएल ७ लाख ५५ हजार १८ सिरिन्जले एक वर्ष खोप दिन पुग्छ । ०.५ एमएल सिरिन्जले कोभिड–१९ विरुद्धको फाइजर खोप बाहेक अन्य प्रायःजसो सबै खोप लगाउन मिल्ने उनले बताइन् ।

१० करोड जोगियो

यसअघि सरकारले वार्षिक ४० लाख सिरिन्ज खरिद र अनुदानमार्फत ल्याउने गरेको थियो । जसमा २० लाख सिरिन्ज सरकारले खरिद गर्थ्यो भने २० लाख सिरिन्ज गाभीले अनुदानमा उपलब्ध गराउँदै आएको थियो ।

‘सरकारले प्रत्येक वर्ष २० लाख सिरिन्ज खरिदका लागि २ करोड बजेट विनियोजन गर्थ्यो,’ उनले भनिन्, ‘केही वर्षका लागि सो बजेट जोगिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप