शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

ओ हितसङ्गी ! भन्दैछन् तिमीले त बास सार्‍यौ अरे ! (भिडियोसहित)

शनिबार, २३ असार २०८०

काठमाडौँ । 

ओ हितसङ्गी तिमी कहाँ छौ ? 
खोज्दै छु सुन्दर गाउँ 
जहाँ हामी सँगै लड्ने कसम खाँदैथ्यौँ 
ओ भन प्रिय तिमी कहाँ छौ ?
खोज्दै छु तिम्रो सहर, 
जहाँ हामीसँगै मर्ने वाचा बाँधेथ्यौँ 
भन्दैछ्न तिमीले त बाटो मोड्यौ अरे ।

‘ओ हितसङ्गी’ बोलकाे गीतका हरफ हुन् यी । चिरन सीको शब्द तथा संगीत र कर्ण विद्रोहीको स्वर रहेको ‘ओ हितसङ्गी’ बोलको म्युजिक भिडियो शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । विभाजित हुन पुगेको कम्युनिस्ट आन्दोलन, पार्टी र विचारलाई यस गीतले समेटेको छ । 

जनवादी गायक कर्ण विद्रोहीको स्वरले यस गीतको भावलाई न्याय गरेको छ । गायक विद्रोही भन्छन्, ‘शब्द मन परेरै मैले यो गीत गाएको हुँ । ओ हितसङ्गीले छोयो ।’

गायक विद्रोहीको शब्द, संगीत तथा स्वर रहेको ‘टुटफुट खण्डित कुरा नगर’ बोलको गीत चर्चित छ । दश वर्षे जनयुद्धमा लागेका विद्रोही भन्छन्, ‘ओ हितसङ्गी गीतले कम्युनिस्ट आन्दोलनको एउटा दर्द भन्छ । यस गीतमा मेरो भोगाइ र महसुस छ ।’    

गीतकार चिरन सी (जो अहिले नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य छन्)ले यस गीतलाई दुई वर्षअघि लेखेका थिए, जति बेला उनको पार्टीलाई राज्यले प्रतिबन्ध लगाएको थियो । 

‘कम्युनिस्ट आन्दोलन अथवा सांस्कृतिक आन्दोलन, अझ भनौँ हामी आफैँभित्र देखिएका समस्यालाई लिएर यी शब्द लेखिएका हुन्,’ गीतकार चिरन भन्छन्, ‘समाजवाद, साम्यवादका लागि हिजो एउटै प्रतिबद्धताका साथ सँगै हिँडेकाहरु, एउटै आवाजसहित मोर्चाबन्दी गरेकाहरु हामी आज छिन्नभिन्न हुन पुग्यौँ । पार्टी विभिन्न खेमामा टुक्रिए, कति साथीहरुमा विचलनता आएजस्तो भयो । कति सहयोद्धाहरु कम्युनिस्ट आन्दोलनबाट स्खलन भए । हिजो सँगै हिँडेको साथीलाई सम्झेर यो गीत लेखेको हुँ ।’

जनवादी संगीत सिर्जना गर्ने नेपालका सबै दलका संगीतकर्मी पछिल्लो एक वर्षदेखि ‘संगीत अभियात्रा’मा रहेको चिरन बताउँछन् । जसको मूल उद्देश्य एकताको आह्वान हो ।

‘६२–६५ प्रतिशत कम्युनिस्ट जनमत रहेको देशमा विभाजन र विखण्डनका कारण कम्युनिस्ट पार्टी, आन्दोलन र विचार कमजोर हुन पुगेको छ,’ चिरन भन्छन्, ‘यो अवस्थामा हामी एकता खोजिरहेछौँ ।’

समाजमा वर्गीय खाडल रहेसम्म वर्ग संघर्ष रहने र वर्ग संघर्ष रहेसम्म जनवादी गीतको मूल्य रहने चिरन बताउँछन् । ‘आज देशभरि महोत्सव चलेका छन्, जहाँ अश्लील खालका गीत प्रस्तुत हुन्छन् । यस्ता अश्लील गीतलाई राज्यले टेलिभिजन, रेडियोबाट बजाइरहेकै छ,’ उनी भन्छन्, ‘कम्युनिस्ट नेता नै प्रमुख भएका गीतमा पनि अश्लील गीत गाइन्छन् । यसप्रति पनि हाम्रो चासो हो ।’

बाग्लुङ गलकोटका चिरन केटाकेटीदेखि नै रक्तिम सांस्कृतिक परिवारसँग जोडिएका हुन् । उनले आजसम्म चार सय जति जनवादी गीत लेखेका छन् । ‘चमचम गर्ने खुकुरी’, ‘विदेशी गल्लीगल्लीमा’, ‘मेरो झन्डा झुकेको होइन मैले क्रान्ति छाडेको छैन’ जस्ता उनका शब्द–संगीतका गीत क्रान्तिकारीहरुबीच चर्चित छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया