सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
सारांश
- वरिष्ठ अभिनेता राजेश हमालले सीमा अतिक्रमणका दुई फरक पाटालाई स्पष्ट पार्दै नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक भएको बताएका छन्।
- उनको भनाइअनुसार नदीले धार परिवर्तन गर्दा, सीमा स्तम्भ हराउँदा वा बस्ती विस्तार हुँदा हुने अतिक्रमण भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिको परिणाम हो।
- यस्तै, राज्य–प्रायोजित भू–अतिक्रमणमा भने व्यक्ति नभई राज्यका संस्थाहरू संलग्न हुने र यसको उदाहरणका रूपमा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई प्रस्तुत गरेका छन्।
काठमाडौँ । वरिष्ठ अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा सुनिने ‘सीमा पार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ एउटै अर्थमा बुझिने गरिए पनि यी दुई पूर्ण रूपमा फरक विषय भएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै हमालले सीमा अतिक्रमणका दुई फरक पाटा र देशलाई आवश्यक पर्ने नेतृत्वको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनको भनाइअनुसार सीमा पार अतिक्रमण सरकारभन्दा पनि स्थानीय नागरिकसँग जोडिएको हुन्छ। नेपाल र भारतबिचको खुला सीमाका कारण शताब्दीयौंदेखि दुवै देशका नागरिक व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएकाले यस्ता समस्या आउने हमालले उल्लेख गरेका छन्।
नदीले धार परिवर्तन गर्दा, सीमा स्तम्भ हराउँदा वा क्षतिग्रस्त हुँदा र बस्ती विस्तार हुँदा यस्तो अतिक्रमण हुने उनको बुझाइ छ। यस्ता घटना नीतिगत नभई भौगोलिक निकटता र ऐतिहासिक परिस्थितिको परिणाम भएको हमालले बताएका छन्। उनले यसलाई रणनीतिक विस्तार नभई प्रशासनिक र स्थानीय समस्याको रूपमा अर्थ्याएका छन्, जसलाई संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट समाधान गर्न सकिन्छ।
तर, राज्य–प्रायोजित भू–अतिक्रमणको प्रकृति भने पूर्ण रूपमा फरक हुने हमालले दाबी गरेका छन्। कुनै राष्ट्रले विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रियता देखाउँदा यस्तो अतिक्रमण हुने उनले बताएका छन् ।
‘यसमा व्यक्ति होइन, राज्यका संस्थाहरू नै संलग्न हुन्छन्,’ हमालले भनेका छन्, ‘सडक निर्माण गरिन्छ, प्रशासनिक संरचना खडा गरिन्छ, सुरक्षा निकाय परिचालन गरिन्छ, सरकारी नक्साहरू संशोधन गरिन्छ र राज्यको अधिकार औपचारिक रूपमा लागू गरिन्छ।’ उनले यसको सबैभन्दा प्रमुख उदाहरणका रूपमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई प्रस्तुत गरेका छन्।
सीमा विवादको गम्भीरतालाई प्रस्ट पार्दै हमालले देशको नेतृत्वमाथि पनि टिप्पणी गरेका छन्। वर्तमान विश्व राजनीतिक परिवेश ढामाडोल र अनिश्चित रहेको भन्दै उनले यस्तो बेला देश चलाउने नेतृत्व सक्षम हुनुपर्नेमा जोड दिएका छन्। राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा देशले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ हमालले सचेत गराएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण