शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा ट्रेकिङ गाइड तालिम सुुरु

शनिबार, २३ असार २०८०, २० : ३९
शनिबार, २३ असार २०८०

कास्की । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा पाँचहप्ते ट्रेकिङ गाइड तालिम पोखरामा सुरु भएको छ ।

पदयात्रा पर्यटनलाई व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यका तालिम सुरु गरिएको हो । आवश्यक मापदण्ड पूरा गरी अन्तर्वार्तामार्फत छनोट भएका तीन सय प्रशिक्षार्थी तालिममा सहभागी छन् ।

लेकसाइडस्थित तालवाराही माविमा विभिन्न छवटा सेक्सनमा विभाजन गरी तालिम दिइने संयोजक गोपालकृष्ण सङ्ग्रौलाले जानकारी दिए । विगत ३० वषयता विभिन्न समयमा गरी करिब एक हजार नौ सयलाई तालिम प्रदान गरिसकेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए ।

देशको राजनीतिक उतारचढाव, प्राकृतिक प्रकोपसँगै कोरोना महामारीलगायतका कारण पर्यटन क्षेत्रका मजदुर पलायन हुँदै गएका अवस्थामा हुन तालिम महत्त्वपूर्ण हुनेमा उहाँले विश्वास व्यक्त गरे । तालिमले दक्ष जनशक्ति उत्पादन मात्र नभई व्यवसाय गर्न इच्छुकका लागि पनि यो पहिलो खुड्किलो भएको उनले बताए ।

नाथमका प्राचार्य रामकैलाश विच्छाले टानसँगको सहकार्यमा सुरु गरिएको तालिम महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गर्दै सहभागीलाई अधिकतम ज्ञान, सीप हासिल गर्न आग्रह गरे । तालिममा सहभागीलाई नाथमका निर्देशक तथा तालिम संयोजक रतन साउदले अभिमुखीकरण गराएका थिए ।

पोखरा आसपासका क्षेत्रमा विश्वकै १० उत्कृष्टमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, धवलागिरि चक्रीय पदमार्ग, सहस्राब्दी (मिलेनियम) पदमार्ग, पुनहिललगायतमा पछिल्लो समयमा पदयात्रा पर्यटनतर्फ आकर्षण बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप