शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

एन्टिबायोटिक औषधि बीचैमा छाड्नु कति घातक ?

मङ्गलबार, २६ असार २०८०, १० : १५
मङ्गलबार, २६ असार २०८०

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीले चेकजाँचपछि दिएको एन्टिबायोटिक औषधि बिरामीले बीचमै सेवन गर्न छाड्ने गरेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्ययन अनुसार २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बीचमै छाड्ने गरेको पाइन्छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले लेखिदिएको एन्टिबायोटिक औषधि सेवन गर्न थालेपछि रोग निको भएजस्तो महसुस भएपछि बीचैमा औषधि सेवन गर्न छाड्दा रोग पुनः बल्झिने जीवाणु विज्ञ डा. सन्तोष दुलालले बताए । एन्टिबायोटिक औषधि पूरा मात्रामा सेवन नगर्दा एन्टिबायोटिकविरुद्ध लड्ने ब्याक्टेरियाको क्षमता वृद्धि भई अर्को पटक बिरामी हुुँदा सोही एन्टिबायोटिक औषधिले काम नगर्ने स्थिति सिर्जना हुने डा. दुलालले बताए ।

‘एन्टिबायोटिक औषधिको पूरा मात्रा सेवन नगर्दा ब्याक्टेरिया झन् शक्तिशाली भई अर्को पटक त्यही मात्रा एन्टिबायोटिकले नपुगेर बढाउनुपर्ने र सो औषधिले काम नै नगरेर त्यो भन्दा हाई डोजको एन्टिबायोटिक्स चलाउनुपर्ने स्थिति सिर्जना हुन सक्छ,’ उनले भने ।

डा.दुलालका अनुसार एन्टिबायोटिक औषधि पूरा सेवन नगरेमा सुक्ष्म जीवहरूको प्रतिरोधी क्षमता विकास भई एन्टिमाइक्रोवियल (रेसिस्टेन्स प्रतिजैविक प्रतिरोध) ‘एएमआर’को प्रयोग गर्दा पनि जीवित रहन र वंश बढाउन सक्ने क्षमता विकास हुँदा पहिला काम गर्ने एन्टिबायोटिकले रोगको विरुद्ध काम गर्न छाड्ने अवस्था आउन सक्छ ।

यस्तै, अध्ययनमा आफू खुसी २८ प्रतिशत बिरामीले औषधि किन्ने गरेको पाइएको छ । भर्ना नगरिएका २८ प्रतिशत बिरामीले चिकित्सकको सल्लाहबिना औषधि किन्ने गरेका छन् । चिकित्सकको सल्लाहबिना मनलाग्दी एन्टिबायोटिक्स खरिद गरी सेवन गर्ने, चिकित्सकको सल्लाहमा सेवन गरिरहेको एन्टिबायोटिक्स छोड्ने र तोकिएको मात्रा भन्दा आफैँ खरिद गरी एन्टिबायोटिक्स सेवन गर्ने प्रवृत्तिका कारण एन्टिबायोटिकले काम नगर्ने डा. दुलालले बताए । यसरी चिकित्सकको सल्लाह बिना मनलाग्दी औषधि सेवन गर्दा पनि सेवन गरिरहेको एन्टिबायोटिक औषधिले काम नगरी ब्याक्टेरिया बलियो हुने उनको जिकिर छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार एन्टिमाइक्रोवियल रेसिस्टेन्स प्रतिजैविक प्रतिरोध विश्वव्यापी रुपमा स्वास्थ्य र विकासमा चुनौती बन्दै गएको छ । यस्तै प्रमुख १० विश्वव्यापी जनस्वास्थ्य खतराहरूमध्ये एन्टिमाइक्रोवियल रेसिस्टेन्स प्रतिजैविक प्रतिरोध एक रहेको डब्ल्यूएचओले जनाएको छ ।

विश्वमा एन्टिबायोटिक्स ५० प्रतिशतले अनावश्यक सेवन गरेको पाइएको छ । डब्ल्यूएचओका अनुसार अत्यधिक एएमआरको बृद्धि विश्वमा मृत्युको प्रमुख कारण बनेको छ । विश्वमा वार्षिक १२ लाख ७० हजार मृत्युमा एएमआर प्रत्यक्ष प्रमुख कारक रहेको बताइन्छ । यो मृत्यु दर एचआईभी एड्स र मलेरियाबाट हुने मृत्युभन्दा बढी हो ।

यस्तै, एएमआर ४९ लाख ५० हजार मृत्युसँग अप्रत्यक्ष सम्बन्धित हुन्छ । एएमआरकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन् ।

रोकथाम र नियन्त्रण

–एएमआर रोकथाममा स्वयम् नागरिक र चिकित्सकको सिफारिसमा मात्र एन्टिबायोटिक सेवन गर्नुपर्छ ।

–जथाभावी रुपमा एन्टिबायोटिकको प्रयोग नगर्ने ।

–एन्टिबायोटिक बाँडेर नखाने ।

–सरसफाइमा ध्यान दिने र बिरामीसँगको दूरी कायम गर्ने ।

–कुनै पनि खोप नछुटाई लगाउने ।

–बिरामी हुँदा अस्पताल वा नजिकैको स्वास्थ्य संस्थामा उपचार गराउने र स्वास्थ्यकर्मीको सल्लाह सुझाव अपनाउने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप