जुम्लाको गुठिचौर गाउँपालिकाकी उपाध्यक्षले अध्यक्षलाई कुटिन्, प्रहरीमा उजुरी
सुर्खेत । जुम्लाको गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले सोही पालिकाका अध्यक्ष दानबहादुर बुढामाथि हातपात गरेकी छन् । गाउँ कार्यपालिकाको बैठकमा नै मल्लले बुढामाथि हातपात गरेकी हुन् ।
अध्यक्षले बजेटमा मनपरी गरेको आरोप मल्लको छ । अध्यक्ष बुढाले भने आफूमाथि हातपात भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।
‘कार्यपालिकाको बैठकमा हातपात भएको भन्दै उजुरी आएको छ,’ जुम्लाका प्रहरी प्रमुख प्रह्लाद कार्कीले भने, ‘उहाँहरूकै आन्तरिक विषय हो ।’
बैठकमा उपस्थित एक जनप्रतिनिधिका अनुसार उपाध्यक्ष मल्लले अध्यक्ष बुढामाथि सुरुमा चप्पल प्रहार गरेकी थिइन् । तर, चप्पलले नलागेपछि मल्लले हातपात गरेकी थिइन् । उपाध्यक्ष मल्ल नेकपा एकीकृत समाजवादीबाट निर्वाचित हुन् भने अध्यक्ष बुढा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
म न्याय खोज्न कहाँ जाऊँ ? ः उपाध्यक्ष
उपाध्यक्ष मल्लले आफूले हातपात गरेको स्वीकार गरेकी छन् । रातोपाटीसँग कुराकानी गर्दै उनले आफूले अत्याचार सहन नसकेर कुनै उपाय नलाग्दा हातपात गर्न बाध्य भएको बताइन् । अध्यक्ष बुढाले आफ्नो अधिकारलाई कुण्ठित गरेको र आफू निकै पीडित रहेको मल्लले बताइन् ।
‘म अरूलाई न्याय दिने मान्छे हो, म आफै न्याय खोज्न कहाँ जाऊँ ?,’ उनले प्रश्न गरिन्, ‘एक वर्षसम्म मैले बाहिर कुनै कुरा गरिनँ । मैले सहनुसम्म सहेँ । अति भएपछि हातपात नै गर्न बाध्य भएकी हुँ ।’
अध्यक्ष बुढाले आफ्नो पक्षमा काम नगर्ने बित्तिकै प्रमुख प्रशासकीय बदल्ने काम गरिरहेको उनको आरोप छ । १० असारमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूलाई जानकारी नगराई कार्यक्रम गरिएको उनले आरोप लगाइन् । ‘असार २४ गतेसम्म पनि म अनुगमनमा भ्याई नभ्याई व्यस्त थिएँ,’ उनले भनिन्,‘काममा अनियमितता, लापरबाही भएको भन्दै गुनासा आएपछि म आफैँ फिल्डमा खटिएको थिएँ । अनुगमन गर्न राज्यले उपाध्यक्षलाई दिने कुनै पनि सेवा सुविधा मलाई दिएको छैन । म अरूकै बाइकमा तेल हालेर अनुगमनमा जाने गरेको थिएँ ।’
बजेट पास गर्ने विषयमा २९ गते दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइए पनि त्यो नभएको उनको भनाई छ । छलफलका क्रममा आफूलाई पुरै बेवास्ता गरिएको उनको भनाइ छ । २९ गते राति जुम्लाको पौवा होटेलमा अध्यक्ष बुढाले माओवादीनिकट कार्यपालिका सदस्य र कांग्रेस निकट सदस्यसँग मात्र बसेर छलफल गरेको उनले बताइन् ।
‘म गाउँपालिकाको सेकेन्ड पर्सन हैन र ? मलाई कति अन्याय भएको छ,’ उनी भन्छिन्, ‘मलाई कुनै जानकारी नदिएर नै सबै मिलेर पास गराउने उहाँ (अध्यक्ष) को रणनीति थियो । ३० गते बस्ने भनिएको बैठकमा पनि कोही आएनन् । म घर फर्किएँ । ठिकै छ त बजेट ल्याइसके अब छलफलको माध्यमबाट सहमति गरेर जाउँला भन्ने सोच मेरो थियो । तर, मलाई नसोधेर नै बजेट ल्याइयो । आज पनि कर्मचारीदेखि सबैले मलाई अलमल पारे । म अन्याय पारेँ ।’
अध्यक्षले आफू निकट कर्मचारी, जनप्रतिनिधिलाई छुट्टै बोलाए छलफल गरिरहेको र आफूमाथि अत्याचार भएको महसुस गरेपछि आफूले हातपात गरेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण