सोलारमा चट्याङले क्षति पुर्याएपछि खानेपानीको समस्या
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन् । चण्डिभञ्ज्याङ्मा सञ्चालित ढुङ्ग्रे लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा असार ८ गते परेको चट्याङले क्षति पुर्याएको थियो ।
क्षति पुर्याएको महिना दिन पुग्न लाग्दा पनि समयमै मर्मत गर्न नसक्दा खानेपानीको लागि स्थानीयले सास्ती व्यहोर्नु परेको हो । दुई वर्षअघि सञ्चालनमा आएको उक्त खानेपानी आयोजनाको सोलार प्यानल र कन्ट्रोलरमा गत असार ८ गते परेको चट्याङले क्षति पुर्याएको ढङ्ग्रे–तुन्तेस खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दिलकुमार गुरुङले जानकारी दिए । उनका अनुसार चट्याङले आयोजनाको मुख्य पम्पिङमै समस्या आएपछि ट्याङ्कीमा पानी तान्न सकिएको छैन ।
“खानेपानीको सोलारमा क्षति भएकाले पुरानै अवस्थामा करिब १ घण्टा लगाएर कुवाको पानी पिउनुपर्ने बाध्यतामा स्थानीय छन्”, गुरुङले भने । उनका अनुसार उक्त आयोजनाबाट ढुङ्ग्रेका करिब ३५ घरपरिवारका साथै राष्ट्रिय माध्यामिक विद्यालय ढुङ्ग्रे र चण्डिभञ्ज्याङ स्वास्थ्य चौकीले खानेपानी प्रयोग गरिरहेका थिए । लामो समयदेखि नियमित खानेपानी आपूर्ति हुन नसक्दा स्थानीयसँगै विद्यालय र स्वास्थ्यचौकीलाई समेत अप्ठ्यारो परेको उनको भनाइ थियो ।
खानेपानीको अभावका कारण वर्षायाममा झरेको बलेनीको पानी सङ्कलन गरी काम चलाउनु परेको राष्ट्रिय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक विश्वनाथ गुरुङले बताए । “पिउनका लागि हामी विद्यार्थीलाई स्थानीय कुवाबाट भरेर खानेपानी ल्याउन लगाएका छौँ भने शौचालयका लागि वर्षायाममा झरेको बलेनीको पानी सङ्कलन गरी काम चलाइरहेका छौँ”, उनले भने ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिल गुरुङले चट्याङले क्षति पुर्याएको सोलार प्यानल र कन्ट्रोलर मर्मतको लागि समितिसँग रकम नभएकाले वडा र पालिकालाई अनुरोध गरेको बताउँदै पालिकाले अहिलेसम्म सुनुवाइ नगरेको जानकारी दिए ।
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले स्थानीयको गुनासो आउने वित्तिकै तत्कालै प्राविधिक पठाएर चट्याङले क्षति पुर्याएको कन्ट्रोलर मर्मतका लागि काठमाडौँ पठाइएको बताए । मर्मत कम्पनीले समयमै मर्मत गरेर जडान नगरिदिएकाले नियमित खानेपानी वितरणमा ढिलाइ भएको उनको भनाइ थियो । “अब दुई/तीन दिनभित्रैमा सामान ल्याएर जडान गरी पानी वितरणको तयारीमा छौँ”, अध्यक्ष गुरुङले भने ।
वडा नं ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले चट्याङले क्षति पुर्याएको स्थानमा विद्युत् पुगेकाले सोलार सिस्टम हटाई छिट्टै विद्युतीय सिस्टम जडान गरी खानेपानीको समस्याको दीर्घकालीन रुपमा समाधान गरिने बताए ।
इच्छाकामना गाउँपालिकाको ‘एक घर एक धारा’ अवधारणाअन्तर्गत गाउँपालिकाको रु २५ लाख, जिल्ला समन्वय समिति चितवनको रु २५ लाख र वाग्मती प्रदेश सरकारको रु ५० लाख गरी कूल रु एक करोडको लागतमा साझेदारी सिरान ढङ्ग्रे, माझ ढुङ्ग्रे र तुन्तेस गाउँका करिब ८० घरधुरीमा खानेपानी पुर्याउनका लागि दुई वर्ष अघि उक्त खानेपानी आयोजना निर्माण गरिएको थियो ।
ढुङ्ग्रे र तुन्तेसमा २० हजार लिटर क्षमताको छुट्टाछुट्टै पाँच वटा ट्याङ्की निर्माण गरिएको छ भने करिब ८० घरमा घरैपिच्छे एउटा धारा निर्माण गरिएको आयोजनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अध्यक्षमा पाण्डे
-
ब्याडमिन्टन सङ्घ कञ्चनपुरको अध्यक्षमा भट्ट
-
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक
-
भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने
-
राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९ वैशाखमा
-
मुख्यमन्त्रीको दाबी : पार्टीको केन्द्रीय नेतृत्वसँगको परामर्शबाटै एमालेबाट मन्त्री बनाइएको हो