शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिस लिटल आइडलको छनोट सुरु

शनिबार, ०६ साउन २०८०, १७ : ५६
शनिबार, ०६ साउन २०८०

काठमाडौँ । काठमाडौँ प्याब्सन र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा राष्ट्रिय नाच घर जमलमा ‘मिस लिटल आइडल’ छनोट सुरु भएको छ । शनिबार नाच घरमा आयोजित सो छनोट कार्यक्रममा उपत्यकाका अधिकांश विद्यालयका विद्यार्थीका अभिभावक आफ्ना छोराछोरी लिएर सो कार्यक्रममा उपस्थित भएका थिए । 

काठमाडौँ प्यब्सनका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा आयोजित कार्यक्रममा सो प्रतियोगिताको उद्देश्यका बारेमा जानकारी दिइएको थियो । मिस लिटल आइडल कार्यक्रमकी संयोजक रीता राईले विद्यालयको पाठ्यक्रमको पढाइले मात्र विद्यार्थीको सर्वाङ्गीण विकास नहुने भएकाले यस्तो कार्यक्रम आयोजना गरेको बताइन् । उनले भनिन्, “विश्वव्यापी प्रतिस्पर्धाको युगमा हाम्रा नानीहरूलाई कक्षाकोठाका मात्र सिकाइले पुग्दैन । भविष्यमा आइपर्ने चुनौतीको सामना गर्ने क्षमताको विकास गर्न यस्ता कार्यक्रमहरूको आयोजना हुनुपर्छ ।” उनले बालिकामा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउन मिस लिटिल आइडल जस्ता प्लाटफर्म आवश्यक पर्ने जानकारी दिइन् । २१औँ शताब्दीमा आवश्यक पर्ने व्यावहारिक सीपको विकास यस्ता कार्यक्रमहरूले गर्ने र त्यसका लागि अभिभावकहरू पनि सचेत रहने पर्ने बताइन् । 

कार्यक्रमका कोरियोग्राफर रोजिनले बालबालिकामा लुकेर रहेको प्रतिभा, क्षमता र दक्षता उहाँहरूमा भएको प्रतिस्पर्धी क्षमतालाई अझ बढी निखारेर ल्याउन प्रभावकारी हुने बताए । यो नितान्त प्रतिभा क्षमता र आत्मविश्वासमा प्रभावकारिता ल्याउने विश्वासमा काम गर्ने जिकिर गरे । यो प्रशिक्षण कार्यक्रममा उमेर समूह र कक्षाका आधारमा गरिने उनले बताए । 

कार्यक्रममा अभिभावकका तर्फबाट रमेश पौडेलले नानीहरूलाई अतिरिक्त मञ्चको व्यवस्था गर्नु राम्रो कार्य भएको बताए । “यो बच्चाहरूलाई कसरी आफ्नो जीवन अगाडि बढाउने, आफ्नो क्षमता मञ्चमा गएर कसरी गर्ने भन्ने अवश्य सिकाउँछ,” उनले भने, “तर प्याब्सनले यस प्रतियोगितालाई अन्तर विद्यालय प्रतियोगिता गर्दै अन्तिममा छनोटमा परेका ७० प्रतिभाहरूबीच प्रतिस्पर्धा गराएको भए उत्कृष्ट हुने थियो ।” विद्यालयलाई विद्यार्थी पठाउन लगाएर अभिभावकलाई दुःख दिएको आरोपसमेत लगाए । विद्यार्थीको प्रतिभाको पहिचान नै नगरी सिधै मुख्य प्रतिस्पर्धामा बोलाएर भद्रगोल पारेको उनको आरोप थियो । यस्ता कार्यक्रममा विद्यालयसँग राम्रो समन्वय गरेर मात्र आयोजना गर्नुपर्ने जिकिर उनको थियो । 

प्याप्सन काठमाडौँका अध्यक्ष प्रेमकुमार राईले आफ्नो क्षमतालाई निखार्न यो मञ्च अत्यन्त उपयोगी भएको बताए ।

‘तुलसी उसले फाँड्यो झार नचिनेर, करेन्ट लाग्यो उसलाई तार नचिनेर’ भन्ने गीत प्रस्तुत गर्दै राईले भने अभिभावकहरू आफ्ना नानीहरूको प्रतिभा पहिचान गर्न नसकेर भ्रममा परिरहेको हुन सक्छन् । यस्ता प्रतियोगिताले आफ्ना नानीहरूको प्रतिभाको पहिचान गर्न सकिने बताए । 

कार्यक्रम सञ्चालक शिभिरा लामाले यस्तै प्रतियोगितामा पाएको अवसरबाट नै आफूले थुप्रै कार्यक्रममा सहभागी हुने मौका पाएको अनुभव सुनाइन् । एक पटक अवसर पाएपछि त्यसको कदर अन्य ठाउँमा पनि पाइने र अन्य अवसरहरूका ढोका खुल्ने पनि उनले बताइन् । 

सो प्रतियोगिताका लागि ६० जना बालिका छनोट गरी प्रशिक्षण दिइने छ । प्रशिक्षण साउन ६ गतेबाट सुरु हुने जानकारी दिइएको छ । त्यसैगरी मिस लिटल आइडलको ट्यालेन्ट सो साउन २० गते शनिबार बिहान ११ बजे सांस्कृतिक संस्थान नाचघरमा हुने छ भने यसको ग्रान्ड फिनाले साउन २७ गते शनिबार सोही स्थानमा हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप