बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

ग्रिल तथा स्टिल व्यवसायीहरुको संरक्षणमा सरकारको ध्यान जानुपर्छ : सभामुख घिमिरे

बिहीबार, ११ साउन २०८०, १९ : ३१
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली ग्रिल तथा स्टिल व्यवसायीहरुको संरक्षणमा सरकारको ध्यान जानुपर्ने बताएका छन् । 

ग्रिल तथा स्टिल व्यवसायी महासंघको टोलीले पेस गरेको ज्ञापनपत्र बुझ्दै सभामुख घिमिरेले ग्रिल तथा स्टिल व्यवसायीहरुको जायज माग सम्बोधनमा सरकारको ध्यान जानुपर्ने बताएका हुन् । केही व्यवसायीहरुले दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको पाइएको उनले बताए । 

सभामुख घिमिरेले व्यवसायीहरुलाई उद्योग तथा वाणिज्य मन्त्रालयलाई महशुस हुनेगरी कुरा बुझाउनुपर्ने बताए । बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालले कम महत्त्व दिइने तर श्रम र पसिना ज्यादा खर्च हुने यो व्यवसायलाई आम नागरिकले मात्र नभई सरकारले हेर्ने दृष्टिकोण समेत सम्मानजनक नभएको भन्दै सभामुख घिमिरेलाई ध्यानाकर्षण गराएको हो । सभामुख घिमिरेले यस विषयमा सांसद्हरुलाई बढी लबिङ गर्नुपर्ने बताए । 

सभामुख घिमिरेले ऐन नहुँदा निर्देशिका नियमावली जारी गरेर पनि अघि बढ्न सकिने भन्दै विदेशी कामदारले कर पनि तिर्नु नपर्ने, नेपालमा आएर काम गर्ने, नेपाली कामदारको सीपको विकास नहुने भन्ने विषयमा आफू गम्भीर रहेको बताए । महासंघले फलाम तथा स्टिलजन्य सामग्रीको उत्पादन गर्ने कम्पनी या कारखानालाई नेपाल सरकारको करको दायरामा ल्याउन निश्चित मापदण्ड बनाई, अन्य उद्योग वा कारखानाले झैँ कम्पनी रजिष्टार,घरेलु तथा साना उद्योग र स्थानीय सरकारका वडा कार्यालयहरुमा दर्ता गर्न पाउने प्रष्ट नीति बनाई लागू गर्नुपर्ने माग गरेको छ । 

यस्तै, जोखिम पूर्ण व्यवसायको रुपमा लिइने यो व्यवसायमा आबद्ध मजदुर तथा कर्मचारीहरुको निःशुल्क या न्यून शुल्कमा बीमा, स्वास्थ्य र शिक्षाको व्यवस्था गर्न स्थानीय स्तरमै कानून बनाई लागू गर्नुपर्ने माग अगाडी सारेको छ । निर्माण व्यवसाय र फलाम, स्टिल आल्मुनियम, यु पिभिसि लगायतका काम फरक फरक भएको हुँदा सार्वजनिक खरिद ऐनमा भएका कमजोरीहरुलाई संसोधन गरी, टेण्डर आह्वान गर्दा पनि मेकानिकल स्ट्रक्चरको भाग छुट्याएर सम्बन्धित काममा दक्षता भएको लाइसेन्स प्राप्त कम्पनी बीचमा मात्र टेण्डर गर्ने कानूनी व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप