शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

कृषिउपजलाई कसरी बनाउने मूल्यवान् ?

शनिबार, १३ साउन २०८०, १४ : ५३
शनिबार, १३ साउन २०८०

नेपाल कृषि प्रधान देश हो । करिब ७५ प्रतिशत जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोबास गर्ने हुनाले उनीहरू कृषि र पशुपालनमा निर्भर छन् । फलफूल, तरकारी, अनाज, दुध, मासु र अन्डा आदिको उत्पादन उनीहरूको आम्दानीको प्रमुख स्रोत हो । पछिल्लो केही वर्षदेखि हाम्रो देशमा पशुजन्य उत्पादनमा निरन्तर वृद्धि भइरहेको छ । दुध, मासु र अन्डा जस्ता उत्पादन उच्च पौष्टिक खाद्य पदार्थ हुन् । जसबाट हामीले शरीर र मस्तिष्कको समग्र विकासका लागि आवश्यक पर्ने उच्च गुणस्तरको प्रोटिन, ऊर्जा बढाउने बोसो र सन्तुलित मात्रामा खनिज लवण पाउँछौँ तर प्राकृतिक रूपमा यी उत्पादनहरू कोठाको तापक्रममा नाश हुने भएकाले छिट्टै राम्रोसँग प्रशोधन गर्नु अत्यन्त आवश्यक छ ।

प्रशोधन

उत्पादनलाई मानव र जनावरको प्रयोगका लागि आधुनिक प्रविधि र वैज्ञानिक ज्ञानको सहायताले प्राकृतिक रूपबाट थप उपयोगी स्वरूपमा रूपान्तरण गर्नु प्रशोधन हो । उत्पादनमा गुणस्तर र पोषक तत्त्व बढाएर एक रूपबाट अर्काे रूपमा परिवर्तन गरी मूल्य अभिवृद्धि गर्नु प्रशोधन हो । खाद्यान्नलाई घाममा सुकाउने, सरसफाइ गरेर शीतल ठाउँमा भण्डारण गर्ने जस्ता प्रशोधन घरेलु विधि हुन् । समय परिवर्तनसँगै प्रविधिमा आधुनिकता पनि बढ्दै गएको छ । सोही अनुसार प्रशोधनका क्षेत्रमा पनि नवीन प्रकारका आविष्कार भइरहेका छन् । कृषकले उत्पादन गरेको दुधबाट विभिन्न उत्पादन भइरहेका छन् । जस्तै कन्डेन्स्ड मिल्क प्रोडक्ट, तातो र एसिड प्रक्षेपित उत्पादन, उच्च फ्याट उत्पादन, फ्रोजन उत्पादन आदि ।

अत्यन्त व्यस्त जीवनशैलीमा प्रशोधित खाद्य पदार्थको माग बढ्दै गएको छ । तर हाम्रो देशमा मात्रै १५(२० प्रतिशत उत्पादनलाई सङ्गठित खाद्य उत्पादन प्लान्टमा प्रशोधन गरिन्छ । तर विकसित देशहरूले कृषि उत्पादनको ९० देखि ९२ प्रतिशत उत्पादन प्रशोधन गर्ने गरेको पाइन्छ । त्यसरी उत्पादन प्रशोधन गरेपछि अतिरिक्त मूल्य अभिवृद्धि हुन्छ । प्रशोधनकै कारण हामीले विदेशबाट प्रशोधित खाद्यवस्तु आयात गर्नुपर्ने बाध्यता छ ।

यसको एउटा मुख्य कारण ग्रामीण क्षेत्रका अधिकांश सीमान्तकृत पशुपालक किसान छन् । उनीहरूले कोल्ड चेन र आधुनिक उपकरणको लागत धान्न सक्दैनन् । सरकारले खाद्य प्रशोधनका लागि राष्ट्रिय खाद्य प्रशोधन नीति, प्रधानमन्त्री कृषि यान्त्रीकरण व्यवस्थापन जस्ता योजना पनि सुरु गरेको छ । यसको उद्देश्य किसानलाई सशक्तीकरण गरी स्रोतसाधनको आधुनिकीकरण गरी आय वृद्धि गर्ने भन्ने छ । तर त्यसको प्रभावकारी कार्यान्वय हुन सकेको छैन । 

कृषिउपज प्रशोधन र मूल्य अभिवृद्धिको आवश्यकता 

पोषणमा वृद्धि

प्राथमिक खाद्य पदार्थहरूलाई प्रशोधनका माध्यमबाट अत्यधिक उपयोगी, संरक्षित, पौष्टिक, स्वादिष्ट र लामो समयसम्म नबिग्रिने खाद्यपदार्थमा परिणत गर्न सकिन्छ ।

हानिकारक तत्त्वबाट सुरक्षा

दुध, मासु, सी फुड जस्ता खाद्यवस्तुमा कैयौँ प्रकारका हानिकारक कीटाणु र विषाक्त तत्त्वहरू उत्पन्न हुने भएकाले प्रशोधनको सहायताले यी हानिकारक तत्त्वहरूलाई नष्ट गरी खाद्य वस्तुहरू भौतिक, रासायनिक र जैविक रूपमा नष्ट हुनबाट बचाउन सकिन्छ ।

रोजगारी सिर्जना

बदलिँदो जीवनशैली र सहरीकरणको वृद्धिका कारण भारतमा पनि स्वादिष्ट र पौष्टिक खानाको माग निरन्तर बढ्दै गएको हुनाले खाद्य प्रशोधन उद्योगले देशका बेरोजगार जनसङ्ख्यालाई ठुलो परिमाणमा बजार उपलब्ध गराई रोजगारीका अनेकन अभिनव माध्यमहरू सिर्जना गर्दै आर्थिक सशक्तीकरणमा अभिवृद्धि गरिरहेको छ ।

निरन्तर र कुशल आपूर्ति

नेपालमा ढुवानी लागत, गोदामको अभाव र बालीको मूल्यको अनिश्चितता जस्ता कारणले बर्सेनि करिब एक चौथाइ कृषि उत्पादन र पशुजन्य उत्पादन नष्ट हुने गरेको छ । यसका लागि खाद्य प्रशोधन उद्योगको ठुलो आवश्यकता छ । मुलुकमा निरन्तर र प्रभावकारी आपूर्ति शृङ्खला र पूर्वाधारको विकास हुने र त्यसको सहयोगले कृषि उत्पादनको उचित मूल्य बचाउने मात्रै होइन, यसबाट बहुमूल्य उत्पादन नष्ट हुनबाट समेत बचाउँछ । किसानले पनि आफ्नो मेहनत र श्रमको उचित मूल्य पनि पाउने छन् ।

विविधता प्रवर्द्धन

नेपालमा ठाउँअनुसार विभिन्न किसिमका संस्कृति, जल, हावा र खानपानका संस्कृति पाइन्छ । त्यसैले भौगोलिक बनावट र हावापानी अनुसार बाली तथा खाद्यवस्तुको विविधता पाइन्छ । त्यसैले यहाँ परम्परागत खाद्य विविधतालाई प्रशोधन गरी उच्चस्तरमा प्रवर्द्धन गरी गुणस्तरीय बनाउन सकिन्छ ।

अर्थतन्त्रमा वृद्धि

नेपालमा आधुनिक विकाससँगै प्रशोधित खाद्यवस्तुको माग पनि निरन्तर बढ्दै गएको छ । विदेशबाट ठुलो मात्रामा प्रशोधित वस्तु आयात गर्नुपर्ने बाध्यता बनेको छ । तर मुलुकमा सङ्गठित प्लान्टको पूर्वाधार स्थापना गरी खाद्यपदार्थको प्रशोधन सहज रूपमा गर्न सके विदेशबाट आयात हुने वस्तुको ढुवानी खर्च बचत गर्न सकिन्छ । फलफूल, तरकारीजन्य उत्पादनलगायत स्वदेशी प्रशोधनजन्य उत्पादनमा समेत बचत हुने छ । यसले गर्दा देशको समग्र अर्थतन्त्रमा सुधार आउने छ ।

प्रशोधन क्षेत्रमा अवरोध र त्यसको रोकथाम

प्रशोधन उपकरणको उच्च लागत

देशका अधिकांश कृषक मध्यम वर्गीय रहेकाले प्रशोधनमा प्रयोग हुने आवश्यक पूर्वाधार र स्तरीय प्राविधिक उपकरणको लागत धान्न नसक्ने अवस्थाका छन् । यसका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले कृषि क्षेत्रमा महत्त्वपूर्ण योजना लागु गरी किसानको आम्दानीमा वृद्धि गर्न आवश्यक छ । यसले किसानलाई आर्थिक रूपमा सशक्तीकरण गर्दै देशको आर्थिक सुरक्षा पनि सुनिश्चित गर्छ ।

अपर्याप्त उत्पादन भण्डार

उत्पादनको तुलनामा शीतभण्डार र गोदामको सङ्ख्या र क्षमता अपुग छ । यही कारण बर्सेनि ठुलो परिमाणमा खाद्यान्न नष्ट हुने गरेको छ । यो समस्या समाधान गर्न केन्द्र र प्रदेश सरकारले सकारात्मक पहल गरेर खाद्यान्नको क्षयलाई न्यूनीकरण गर्न शीतभण्डार गृह निर्माण गरी उत्पादनको संरक्षण गर्नु आवश्यक छ । 

यातायातको समस्या

ग्रामीण क्षेत्रमा सडक यातायातको अभाव छ । भएका सडकमा पनि ढुवानी खर्च अत्यधिक भएकाले किसानले प्राथमिक उत्पादनलाई उपयुक्त बजारसम्म पुर्याउन सकेका छैनन् । उनीहरूले आफ्नो उत्पादनलाई ताजा रूपमा ग्रामीण बजारमा मात्रै बिक्री गर्ने गरेका छन् । उनीहरूको उत्पादनलाई सरकारी संस्था र धनी लगानीकर्ताले विभिन्न किसिमका साना तथा ठुला उत्पादनका सवारीसाधनलाई न्यूनतम ढुवानी खर्चको निर्धारण गर्नुपर्छ । यो व्यवस्थाले ग्रामीण क्षेत्रका प्राथमिक उत्पादनको व्यवस्थित रूपमा ढुवानी गर्न सकिन्छ । अनि मात्र कृषकले सहज रूपमा प्रशोधन प्लान्ट र मण्डीहरूमा पुर्याउन सक्छन् । जसले गर्दा श्रमको उचित मूल्य पनि पाउन सक्छन् । 

प्रशोधन चेतनाको कमी

ग्रामीण क्षेत्रका अधिकांश उत्पादकमा प्रशोधनसम्बन्धी चेतनाको अभाव छ । यही कारण किसान र बजार व्यवस्थापकबीचको सञ्चार र समन्वयको अभाव भएको हो । त्यसैले गर्दा किसान बिचौलियामा निर्भर रहन्छन् । किसानबाट बिचौलियाले नाफाको ठुलो हिस्सा आफैँ राख्छन् । तर किसानले उत्पादनको उचित मूल्य पाउँदैनन् । त्यसैले किसानले उचित मूल्य पाउने गरी राज्यले व्यवस्थापन गर्नु पर्छ । 

निष्कर्ष

शरीरिक विकासका लागि पौष्टिक तत्त्वको ठुलो भूमिका हुन्छ । जुन सन्तुलित आहारबाट प्राप्त हुन्छ । प्राथमिक बाली, फलफूल, तरकारी तथा पशुजन्य उत्पादनमा पोषक तत्त्वहरू राम्रो मात्रामा पाइन्छ । तर ताजा र अप्रशोधित सेवनले गर्दा त्यसमा पाइने पोषक तत्त्व र खनिज लवणको पूर्ण लाभ शरीरले पाउँदैन । त्यसैले उत्पादनलाई प्रशोधन गरेर यसमा पाइने पोषक तत्त्वहरूलाई अत्यधिक सक्रिय र पौष्टिक बनाउन सकिन्छ । प्रशोधित उत्पादनहरूले बढ्दो जनसङ्ख्याका लागि खाद्य सुरक्षामा अभिवृद्धि गर्ने छ । यसले अहिलेको व्यस्त जीवनशैली र तनावपूर्ण दिनचर्यामा सन्तुलित आहारको पूरक बनाउन मद्दत गर्छ । यस्ता उत्पादनले शरीरको प्रतिरक्षा बढाउने, मधुमेह, हृदयघात, पक्षाघात जस्ता गम्भीर रोग रोक्नसमेत  मद्दत गर्छ ।

खाद्यान्न प्रशोधन उद्योगले कृषकको मेहनतको उच्चतम मूल्य उपलब्ध गराउँछ । यसले किसानको आम्दानी बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने र विदेशी वस्तुको आयातलाई न्यूनीकरण गर्छ । जसबाट स्वदेशी उत्पादनको निर्यात बढाएर समग्र देशलाई आर्थिक र पोषण सुरक्षा प्रदान गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप