धरानमा डेंगु : परीक्षण गरिएकामध्ये ५९ प्रतिशतमा सङ्क्रमण
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । धरानमा हालसम्म डेंगुको सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार हालसम्म धरानमा मात्रै २ हजार ३५३ जना सङ्क्रमित भएका छन् । तीमध्ये कतिपयको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने सामान्य बिरामीको घरमै उपचार भइरहेको छ ।
धरानमा वैशाख अन्तिमदेखि डेंगुको प्रकोप बढ्न थालेको हो । अहिलेसम्म ३ हजार ९८१ जनाको परीक्षण गरिएको छ । त्यसमध्ये ५९ प्रतिशतमा डेंगु देखिएको मेहताले जानकारी दिए ।
धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणको लागि भन्दै ‘सर्च एण्ड डिस्ट्रोय’लाई नै प्राथमिकता दिएको छ । यद्यपि उक्त अभियान प्रभावकारी नदेखिएको कतिपयको भनाइ छ ।
‘सर्च एण्ड डिस्ट्रोय’ अभियानमा धरानमा २४० वटै टोल विकास संस्थालाई परिचालन गरिएको मेहताले जनाए । ‘हामीले २४० वटा टोल विकास संस्थालाई डेंगु नियन्त्रण अभियानमा परिचालन गरेका छौँ । विद्यालयका प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरेर शिक्षक, विद्यार्थी पनि परिचालन गर्ने, स्वास्थ्यकर्मी, जनप्रतिनिधि परिचालन गरेर सर्च एण्ड डिस्ट्रोय अभियान लिएर घरघरमा जाँदैछौँ,’ मेहताले भने ।
उनले हाल देखिएको डेंगुले महामारीको रूप लिन सक्ने बताए । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ । डेंगु तीव्र गतिमा फैलिन थालेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १ सय ५० जनासम्म अट्ने गरी डेंगुको छुट्टै वार्ड स्थापना गरिएको छ ।
धरानमा ०७७ र ०७८ मा फाट्टफुट्ट मात्रै डेंगु देखिएको थियो । त्यतिबेला १०२ जना सङ्क्रमित भएका थिए । २०७५ सालको अन्तिम र २०७६ को सुरुवातमा पनि डेंगुको सङ्क्रमण फैलिएको थियो । त्यसबेला ४ हजार ३ सय मानिस सङ्क्रमित भएका थिए । त्यतिखेर पनि ‘सर्च एण्ड डिस्ट्रोय’ र ‘फगिङ’ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण