मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
प्रदेश

वन्यजन्तु तस्कर भगाउन स्थानीयकै सहयोग, प्रहरीमाथि आक्रमण

स्थानीयले कानुन कार्यान्वयनमा असहयोग गरे : प्रहरी
मङ्गलबार, १६ साउन २०८०, १४ : ५७
मङ्गलबार, १६ साउन २०८०

 बारा । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भित्रको टाँगियावस्तीमा स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरी वन्यजन्तु तस्करलाई भगाएका छन् ।  राष्ट्रिय वन क्षेत्रभित्र रहेको सो बस्तीमा मंगलवार बिहान ६ बजे निजगढबाट खटिएको प्रहरी टोली सागर लामालाई नियन्त्रणमा लिन पुगेको थियो । 

वन्यजन्तुको दाँत, नङ्ग्रा तथा हातहतियार भएको गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको कमान्डमा १५ जनाको टोली लामाको घरमा पुगेर खानतलासी गर्दा भरुवा बन्दुक, वन्यजन्तुको दाँत, नङ्ग्रा, हात्तीको रौँ फेला परेको थियो ।

सोही क्रममा वन्यजन्तुको तस्करीको आशङ्कामा हातहतियारसहित फेला परेका घरधनी सागर लामालाई नियन्त्रणमा लिएर फर्किने क्रममा टाँगिया बस्तीका स्थानीयले प्रहरीलाई चारैतिरबाट घेराबन्दी गरेका थिए । 

करिब ३ सयको सङ्ख्यामा आएका महिला, वृद्धवृद्धा सहितका स्थानीयले प्रहरीलाई घेरा हालेर लामालाई भगाएको प्रहरीले जनाएको छ । 

‘सागर लामालाई हतकडीसहित प्रहरी टोलीबाट खोसी स्थानीयवासीले भगाएकोमा प्रहरी टोलीले निजलाई भाग्न नदिई भीड हटाउन ३०३ राइफलबाट ५ राउन्ड हवाई फायर गरी भीडलाई तितरबितर बनाइएको थियो,’ प्रहरीको विज्ञप्तिमा उल्लेख छ । 

सो घटनामा लामाको घरबाट लोड भएको भरुवा बन्दुक १ थान, बन्दुकको बारुत, छर्रा, जनावरको दाँत २ वटा, हात्तीको रौँ  १३ वटा, जनावरको नङ्ग्रा ३ वटा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले टाँगिया बस्तीका स्थानीयले कानुन कार्यान्वयनमा असहयोग गरेको गुनासो गरेका छन् । 

‘हतियारसहित वन्यजन्तु सिकारी भइरहेको छ भन्ने सूचनाका आधारमा सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर जङ्गलको बाटो फर्कने क्रममा महिला, वालवालिका तथा वृद्धवृद्धासहित स्थानीयले बाटो अवरोध गरी प्रहरीलाई दुर्व्यवहार गरेपछि बाध्य भएर ठुलो घटना नहोस् भन्नका लागि हामीले छोड्नु परेको हो,’ प्रहरी उपरीक्षक बोगटीले भने, ‘लामाको खोजी भइरहेको छ । प्रहरीलाई दुर्व्यवहार गर्नेलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउँछौ ।’  

लामाले पर्सा राष्ट्रिय निकुञ्जका वन्यजन्तु मारेर तस्करी गर्ने गरेको र उनको अन्य वन्यजन्तु तस्करहरूको गिरोहसँग उठबस रहेको हुन सक्ने प्रहरीले जनाएको छ । 

बिहान भएको सो घटनामा परी इलाका प्रहरी कार्यालय निजगढका वरिष्ठ सई कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालाराम गिरी घाइते भएका छन् । 

जीतपुर सिमरा उपमहानगर–१६ का वडाध्यक्ष हरिदेव खरेलले प्रहरी सँगको दोहोरो झडपमा करिब ५०० स्थानीय उपस्थित भएको  र प्रहरीको २ वटा मात्रै भ्यान रहेको बताएका छन् ।  

प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय वन क्षेत्रभित्र रहेको सो बस्ती यतिबेला डिभिजन वन कार्यालय, स्थानीय प्रशासन, विमानस्थल आयोजना कार्यालय सबैका लागि तनावको विषय भएको छ ।

टाँगिया बस्तीमा वन तस्कर, वन्यजन्तु तस्कर र छोटी भन्सार सिम्रौनगढबाट चोरी तस्करी गरी ल्याएको सामान लुकाउने र गैरकानुनी काम गर्ने थलोको रूपमा विकास हुँदै गएको स्थानीय प्रशासनले जनाएको छ । 

हाल सो क्षेत्रमा न त वन कार्यालयको पोस्ट छ, न प्रहरीको नै । सो क्षेत्रमा विशेष गरी जनजातिहरूको बसोबास रहेको छ । उनीहरुले घरेलु मदिरा उत्पादन, कृषि तथा पशुपालन र जङ्गलको काठ दाउरा बिक्री गरी परिवार पाल्दछन् ।

                

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप