शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनए पोर्चुगलमा खड्काको नेतृत्व, केन्द्रीय सदस्यमा दुई जना चयन

नीतिगत छलफल ओझेलमा
बुधबार, १७ साउन २०८०, १६ : ४४
बुधबार, १७ साउन २०८०

लिस्वन । साधारणतः अधिवेशन नीति निर्माण र नेतृत्व छनौटका लागि हुने गर्दछ ।  तर गैरआवासीय नेपाली संघ, पोर्चुगलको नवौं अधिवेशन भने नेतृत्व छनौटमा मात्रै सीमित हुँदै जुलाई ३० मा सम्पन्न भएको छ ।
नयाँ बन्ने समितिको पदीय आकांक्षीहरुको सङ्ख्या धेरै भएकोले सहमतिको प्रयासमा समय खर्चदा नीतिगत छलफल ओझेलमा परेको हो । अघिल्लो अधिवेशनमा निर्वाचन प्रकियामा असन्तुष्टि जनाउँदै बनेको समिति र मूल समितिबीचको एकता प्रक्रियाले पनि तयारीको लागि समय अभाव भएको थियो ।

२,२७८ जना पञ्जीकृत सदस्य रहेको पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको अधिवेशनबाट ४९ जनाको जम्बो कार्यसमिति र दुईजना आइसिसी (केन्द्रीय) सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । 

दुई वर्ष कार्यकाल रहेको समितिको अध्यक्ष पदका लागि एक–एक वर्ष विभाजन गरेर दुईजना अध्यक्ष बन्ने निर्णय भएको छ । पहिलो वर्ष उमेशकुमार खड्का र दोश्रो वर्ष दीपा काफ्ले अध्यक्ष बन्ने छन् । यसका लागि आवश्यक विधान र नियमावली पनि संशोधन गरेर अधिवेशनबाट पारित गरिसकेको छ ।

यसपटक विगतको भन्दा ठूलो कार्यसमिति बनेको छ । पदीय आकांक्षीहरु धेरै हुँदा समाजका अगुवाहरुलाई मिलाउन निकै कठिन परेको थियो । अघिल्लो कार्यकालमा भएको दुई समानान्तर समिति र गतिविधिले समाजमा नराम्रो सन्देश गएको थियो । यसबाट शिक्षा लिएका अध्यक्षद्वय रबीन अधिकारी र सोमफूरी शेर्पाले जसरी पनि निर्विरोध कार्यसमिति निर्माण गर्न चाहेका थिए । यस मामिलामा उनीहरु सफल पनि भए । अध्यक्षद्वयको अभियानमा निवर्तमान महासचिव रहेका राजकुमार थापालगायत पनि भूमिका निर्वाह गरेका थिए । यसका लागि संघका पूर्व अध्यक्षहरु पूर्ण हमाल, रमेश गुरुङ, लक्ष्मीप्रसाद सापकोटा र तिलक गैरेको पनि केही भूमिका रहेको थियो ।

निर्वाचन समितिले सहमतिकै लागि पटक पटक निर्वाचन कार्यालिका संशोधन गरेको थियो । दुईजना आइसिसि सदस्य छानिनु पर्नेमा तीनजना राजकुमार थापा, विष्णु बस्नेत, सज्जन हमाल र  बस्नेतले निवेदन दर्ता गरेका थिए । एकजना अध्यक्षका लागि तीनजना यामेन्द्रकुमार घर्ती, दीपा काफ्ले र उमेशकुमार खड्काले उम्मेद्वारी दर्ता गरेका थिए । सहमतिका लागि अन्य पदलाई गौण राखी यसैमा केन्द्रीत थियो ।

 धेरै रस्साकसीपछि आइसिसी सदस्यबाट हमाल र अध्यक्षबाट घर्तीले उम्मेद्वारी फिर्ता लिएपछि सहमतिको बाटो खुल्यो । 

एनआरएनए, पोर्चुगलको सन् २०२३–२०२५ को कार्यकालमा दीपा काफलेले दोश्रो वर्ष संघको नेतृत्व गर्ने निश्चित भएपछि नयाँ इतिहास बन्न लागेको छ । कार्यकाल सम्हालेपछि उनी पहिलो महिला अध्यक्ष हुनेछिन् । बाग्लुङ घर भएकी काफ्ले एक सफल व्यावसायी पनि हुन् । उनी अघिल्लो कार्यकालमा महिलातर्फ उपाध्यक्ष थिइन् ।
विभिन्न प्रतिवेदनहरु बन्द शत्रबाट पारित

ढिलोगरी शुरु भएको बन्द शत्रमा संघको तर्फबाट निर्वमान महासचिव राजकुमार थापाले संस्थागत प्रतिवेदन, शान्ति अर्यालले आर्थिक प्रतिवेदन र जयभद्र सापकोटाले विधान संसोधनको प्रस्ताव प्रस्तुत गरेका थिए । बन्द शत्रमा प्रस्तुत गरेको सबै प्रतिवेदन सबै मौखिक थिए र पुस्तिकाको रूपमा पछि प्रकाशित गरिने जानकारी दिइएको थियो । सबै प्रतिवेदनहरु बन्द शत्रले पारित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप