शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

काठमाडौँमा डेंगु फैलिइसकेपछि मात्र लार्भा खोज्ने र नष्ट गर्ने हो ?

आइतबार, २८ साउन २०८०, ११ : १३
आइतबार, २८ साउन २०८०

हाल धरान र आसपासका क्षेत्रमा लामखुट्टे डेंगु फैलाउन व्यस्त रहेको देखिन्छ । डेंगु सङ्क्रमित बिरामीको सङ्ख्या थपिने क्रम पनि जारी छ । पानी पर्ने र रोकिने क्रम सुरु भएलगत्तै पानी जम्मा हुने सक्नेजस्तै फालिएका गाडीका टाएर, ड्रम, खाल्डाखुल्डी, घरका बाल्टिन, फूलका गमला, ठुला प्लास्टिकका झोला जस्ता ठाउँहरूमा लामखुट्टेले आफ्नो वृद्धि विकास (जीवन चक्र) सुरु गर्ने गर्दछ । कहिलेकाहीँ मनसुन भित्रिनु अगाडि (प्रि–मनसुनमा) नै बेमौसमी झरी र पानी पर्दा पनि लामखुट्टेले आफ्नो जीवन चक्र सुरु गर्ने गर्दछ । बेमौसमी झरी र पानीका कारणले लामखुट्टे डेंगु फैलाएको वा फैलाउन सक्षम हुन्छ भन्ने अवस्था सन् २०१९ मा धरानबाट फैलिएको डेंगुले महामारीको स्वरूप लिएकाबाट पनि देखाउँछ । किनभने त्यो बेला मनसुन सिजन नेपाल भित्रिसकेको थिएन । हाल काठमाडौँमा निरन्तर पानी पर्ने र रोकिने क्रम जारी छ भने डेंगु पनि देखिने क्रम सुरु भएको छ ।      

एडिस जातको लामखुट्टेले डेंगु फैलाउने गर्दछ । सामान्यतया यो लामखुट्टेको आवरण सेतो–कालो रङको हुन्छ । एडिस एजिपटाई र एडिस अल्बोपिकटस मुख्य रूपमा नेपालमा डेंगु र चिकुनगुनिया भाइरस फैलाउने गरिरहेका छन् । डेंगुको चर्चा हाल बढी हुने गरेको भए पनि चिकुनगुनिया भाइरसको फैलावट सँगसँगै हुन सक्ने अवस्थालाई पनि नकार्न सकिँदैन । नेपालमा चिकुनगुनिया भाइरस सन् २०१३ मा नै पुष्टि भइसकेको भए पनि केही वर्षयता यसको परीक्षण स्थगित भएकाले यो भाइरसको अवस्था नेपालमा हाल अज्ञात नै देखिन्छ । ज्वरो, जोर्नीमा पीडा र शरीरमा देखिने बिमिरा डेंगु र चिकुनगुनिया दुवै भाइरसका मुख्य लक्षण नै हुन् ।

अझ जोर्नीमा अत्यधिक पीडा चिकुनगुनिया भाइरस सङ्क्रमितमा व्यापक देखिने गर्दछ । डेंगु शङ्कास्पद सबै बिरामीमा डेंगु पोजेटिभ नहुने हुँदा चिकुनगुनिया भाइरस पनि सँगसँगै फैलिरहेको अनुमान गर्न सकिन्छ । गत वर्ष काठमाडौँ डेंगु महामारीमा पनि डेंगु जस्तो लक्षण भएका दर्जनौँ बिरामीमा परीक्षण गर्दा डेंगु नेगेटिभ देखिने गरेको थियो । एडिस लामखुट्टे विशेषत सूर्य उदय भएको १२ घण्टापछि र सूर्यअस्त हुनुभन्दा २, ३ घण्टा अगाडि सबैभन्दा सक्रिय हुने गर्दछ ।

तर यसको अर्थ रातमा यसले नटोक्ने भन्ने चाहिँ होइन । तसर्थ लामखुट्टेले सामनातय डेंगु भाइरस दिनमा सार्ने हुँदा अधिकांश मानिस या त आफ्नो कार्यस्थलमा वा दिनमा जहाँ बढी समय व्यथित गर्दछन् सो ठाउँमा सङ्क्रमित हुने गर्दछन् । सन् २०१९ को डेंगु महामारीले विशेषत काठमाडौँमा जिल्ला ठुलो प्रभावमा पारिरहेको अवस्थामा भक्तपुरमा बसोबास गर्ने तर काठमाडौँमा कार्यस्थल भएका धेरैजना डेंगु सङ्क्रमित भएका थिए । ती सङ्क्रमितहरूका परिवार वा छिमेकीहरू सङ्क्रमित नहुनु वा सङ्क्रमित बसेको क्षेत्र वरिपरि डेंगु नफैलनुले पनि कार्यालय समयमा एडिस लामखुट्टेले टोक्दा उनीहरू डेंगु सङ्क्रमित भएका पुष्टि हुन्छन् । 

‘जब भयो राति, तब बुढी ताँती’ भन्ने नेपाली उखान झैँ जब डेंगुले व्यापकता पाउँछ तब मात्र लार्भा नष्ट गर्ने बहसले उचाइ लिने गरेको देखिन्छ ।

एडिस लामखुट्टे दिनमा सक्रिय हुनु र टोक्नु नै हाम्रो लागि सबैभन्दा ठुलो अभिशाप वा चुनौती हो । दिनको समयमा लामखुट्टेको आवाज नसुनिने वा नजिकै आएको थाहा नहुने, कार्यालय समयमा व्यस्त हुने र खुट्टा, पाखुरामा बढी टोक्ने हुदा (सीधै नदेखिने) टोकेको थाहा नहुने वा टोकिसकेपछि मात्र चिलाउँदा थाहा हुने हुँदा लामखुट्टेलाई तत्काल मार्न त्यति व्यावहारिक पनि देखिँदैन । गत वर्ष काठमाडौँमा धेरै सङ्क्रमित बिरामीहरूले लामखुट्टे भगाउने विभिन्न उपाय वा समानहरूको प्रयोग गरेका र त्यसको बाबजुत पनि सङ्क्रमित हुनुपरेको भनेका थिए अर्थात् एडिस लामखुट्टे नियन्त्रण गर्न हाल उपलब्ध सामग्रीहरू लामखुट्टे भगाउन प्रभावकारी नभएको हो कि भन्ने देखाउँछ । तसर्थ लामखुट्टेको लार्भा वा प्युपा अवस्थामा हाम्रो आँखाले देख्न सक्ने हुँदा सो समयमा खोजेर नष्ट गरिसक्नु पर्दछ ।

यदि यो समयमा हामी लार्भा वा प्युपा नष्ट गर्न चुकेमा लामखुट्टे अनियन्त्रित भई हामीमाथि नै हाबी हुने र डेंगु सहज रूपमा फैलाउन सक्नेछ । यही गल्ती गत वर्ष काठमाडौँमा र हाल धरानमा भएको देखिन्छ । यस्ता उपाय थाहा पाइरहेका र सुनिरहेका वा सामाजिक सञ्जालमा देखिरहेका भए पनि लार्भा नष्ट गर्ने जागर भने कहीँकतैबाट पनि चलाएकोरचलेको देखिँदैन ।  

‘जब भयो राति, तब बुढी ताँती’ भन्ने नेपाली उखान झैँ जब डेंगुले व्यापकता पाउँछ तब मात्र लार्भा नष्ट गर्ने बहसले उचाइ लिने गरेको देखिन्छ । तर दुर्भाग्यवश, बहस मात्र हुने गरेको र गर्दछ तर एक्सनमा जाने गरेको उदाहरणहरू भने शून्य प्रायः देखिन्छ । डेंगु फैलिसके पछि लार्भा नष्ट गर्नु भनेको जति क्षेत्रमा लामखुट्टे फैलिसकेको छ । त्यो ठाउँमा डेंगु घट्ने भन्ने होइन कि थप भौगोलिक रूपमा लामखुट्टेको विस्तारलाई ब्रेक लगाउने भन्ने बुझ्नु पर्दछ । यसबाट डेंगु एपी–सेन्टरका आसपास क्षेत्रहरू तथा थप अरू जिल्लाहरूमा डेंगु बिस्तारलाई रोक्न सहज हुने छ । 

अहिले पनि ‘लार्भा खोज र नष्ट’को अभियानले चर्चा र बहस पाउने तर एक्सनमा भने कमी देखिँदै आइरहेको छ ।

अन्त्यमा लामखुट्टे ‘लार्भा खोज र नष्ट’ अभियान हरेक वर्ष मनसुन भित्रिएसँगै सुरु वा अभ्यास गर्नु गर्नु पर्दछ । डेंगु कोभिड–१९ को समस्या जस्तो सकियो भनेर ढुक्क भएर बस्ने अवस्था भने होइन किनभने यो बर्सेनि लामखुट्टेको फैलावटसँगै फैलने रोग हो र आगामी वर्षमा पनि यसले व्यापक वा निरन्तरता पाउने अनुमान गरिएको छ । कहिलेकाहीँ मनसुन अगावै (प्रि–मनसुन) बेमौसमी झरी परे पनि ‘लार्भा खोज र नष्ट’ अभियानलाई अगाडि बढाउनु पर्दछ ।

अहिले पनि ‘लार्भा खोज र नष्ट’को अभियानले चर्चा र बहस पाउने तर एक्सनमा भने कमी देखिँदै आइरहेको छ । यस्ता अभियानको चर्चा र बहस गर्दै गर्दा लामखुट्टेले भने आफ्नो छोटो जीवन चक्रको बयस्क अवस्थामा पुगी घरघरसम्म पुगिसकेका देखिन्छन् । काठमाडौँमा सम्भवतः गत वर्षको जस्तो डेंगुले ठूलो स्तरको प्रकोपका रूप त नलेला तर विगतको अनुभवलाई आधार मान्ने हो भने कुनै पकेट क्षेत्रमा फैलन सक्ने जोखिम भने पोस्ट मनसुनसम्म पनि रहिरहने छ । हाल यसको विशेष औषधी र खोप नहुँदा डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नु नै हो र लामखुट्टेको टोकाइबाट बच्न यसको लार्भालाई डेंगु फैलनु अगाडि नै नष्ट गरिसकेको हुनुपर्नेको अर्काे विकल्प छैन ।    

पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप