आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

आठ हजार भन्दा धेरै अकाउन्ट ब्लक गर्न एक्सलाई भारतको निर्देशन

शुक्रबार, २६ वैशाख २०८२, ०९ : २७
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । भारत–पाकिस्तानबिच तनाव बढ्दै जाँदा भारत सरकारले सामाजिक सञ्जाल एक्सका आठ हजारभन्दा धेरै अकाउन्ट ब्लक गर्न निर्देशन दिएको छ । 

भारत सरकारले पाकिस्तानी राजनेताहरू, सेलिब्रेटीहरू तथा मिडिया संगठनका सामाजिक सञ्जाल अकाउन्टहरूलाई भारतमा प्रतिबन्ध लगाइरहेको छ । एक्सका अकाउन्ट ब्लक गर्ने भारत सरकारको निर्देशनलाई पनि यसै रणनीतिको हिस्साका रूपमा हेरिएको छ । 

भारत–पाकिस्तानबिच तनाव बढेसँगै सरकारले सामाजिक सञ्जाललाई मसिनो गरी निगरानी गरिरहेको छ । एक्सका अनुसार, भारत सरकारले जुन–जुन अकाउन्टहरू ब्लक गर्न निर्देशन दिएको छ, त्यसमा अन्तर्राष्ट्रिय मिडिया तथा प्रमुख प्रयोगकर्ता पनि छन् । यसभन्दा अघि मेटाले इन्स्टाग्राममा रहेको एउटा प्रमुख मुस्लिम समाचार पेजलाई भारत सरकारको निर्देशनमा ब्लक गरेको थियो ।

एक्सको ग्लोबल गभर्मेन्ट अफेयर्स टिमले एउटा विज्ञप्ति जारी गर्दै भनेको छ, ‘भारत सरकारका तर्फबाट एक्सलाई भर्खरै प्राप्त कार्यकारी आदेशमा आठ हजारभन्दा धेरै अकाउन्ट बन्द गर्ने निर्देशन दिइएको छ । यस्तो नगरेमा कम्पनीलाई सजाय स्वरूप ठुलो जरिमाना तोकिने वा कम्पनीका स्थानीय कर्मचारीलाई गिरफ्तार गरिने उल्लेख छ ।’

एक्सले जारी गरेको आफ्नो विज्ञप्तिमा– ती अकाउन्टहरूका कुन पोस्टले भारत सरकारको कुन कानुन उल्लघंन गरेका हुन भन्ने स्पष्ट जवाफ र प्रमाण सरकारले केही पनि उपलब्ध गराएको छैन ।

एक्सका अनुसार कम्पनी भारत सरकारको मागसँग असहमत छ तर उसले ती अकाउन्टहरू भारतमा ब्लक गर्ने प्रक्रिया थालिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप