सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

खेलकुद परिषद्का कर्मचारीको हातमा कालोपट्टी

आइतबार, २८ साउन २०८०, १७ : १८
आइतबार, २८ साउन २०८०

काठमाडौँ । लामो समयदेखि बढुवा प्रक्रिया रोकिएको भन्दै आन्दोलनमा रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारीहरुले आइतबार हातमा कालो पट्टी बाँधेर सांकेतिक विरोध गरेका छन् । राखेप नेपाली खेलकुदको नेतृत्वदायी निकाय हो । 

राखेपअन्तर्गत केन्द्र, सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुले आइतबार हातमा कालोपट्टी बाँधेर सांकेतिक विरोध गरेका हुन् । राखेपका कर्मचारीहरु शुक्रबारदेखि आन्दोलनमा छन् । 

पहिलो दिन शुक्रबार राखेपका कर्मचारीहरुले त्रिपुरेश्वरस्थित राखेप हातामा कोणसभा गरेका थिए । तेश्रो र चौथो दिन क्रमशः सोमबार र मंगलबार पनि आइतबारकै कार्यक्रमले निरन्तरता पाउने राखेप कर्मचारी संघका महासचिव कुमार बस्नेतले जनाएका छन् । 

बुधबार, बिहीबार र शुक्रबार भने केन्द्रलगायत सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यरत रहेका प्राविधिक तथा प्रशासनिक कर्मचारीले हातमा कालो पट्टी बाँधेर पेन डाउन गर्ने कार्यक्रम रहेको जानकारी पनि उनले दिए । उनका अनुसार, बुधबार एक घण्टा तथा बिहीबार र शुक्रबार दुई घण्टा पेन डाउन गरिने छ ।

पहिलो चरणको संघर्षको कार्यक्रमपछि पनि माग पूरा नभए दोश्रो चरणका कार्यक्रम घोषणा गरिने संघले जनाएको छ । कर्मचारी संघकाअनुसार, २७ वर्षदेखि खेलकुद परिषदका कर्मचारीको बढुवा प्रक्रिया रोकिएको छ । तीन सय ८५ जना कर्मचारीको बढुवा प्रक्रिया रोकिएको संघले जनाएको छ । 

राखेपको बोर्ड बैठकले बढुवा प्रक्रिया अगाडि बढाए पनि अन्तिम चरणमा पुगेर रोकिएको संघले जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयमा रहेका केही कर्मचारीका कारण राखेप कर्मचारीको बढुवा प्रक्रिया अवरुद्ध भएको संघको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप