सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द

सोमबार, ०८ असार २०८३, १४ : ०८
सोमबार, ०८ असार २०८३

सारांश

  • सडक डिभिजन कार्यालय जुम्लाले सम्झौता अनुसार समयमै काम सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।
  • बारम्बार म्याद थप गर्दा र ताकेता गर्दा समेत काम पूरा नगरेका कारण सार्वजनिक खरिद ऐन बमोजिम ती ठेक्काहरू रद्द गरिएको कार्यालयले जनाएको छ ।
  • ठेक्का सम्झौता रद्द भएसँगै कार्यालयले ती निर्माण व्यवसायीहरूलाई तत्काल कार्यस्थल छोड्न र १५ दिनभित्र वित्तीय फस्र्यौटका लागि सम्पर्क राख्न निर्देशन दिएको छ ।

काठमाडौँ । सडक डिभिजन कार्यालय जुम्लाले सम्झौता अनुसार समयमै काम सम्पन्न नगर्ने चारवटा निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।  

बारम्बार म्याद थप गर्दा र लिखित तथा मौखिक रूपमा ताकेता गर्दा समेत काम पूरा नगरेका कारण सार्वजनिक खरिद ऐन बमोजिम ती ठेक्काहरू रद्द गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले सोमबार एक  सूचना जारी गर्दै कालीकोट जिल्लामा सञ्चालित विभिन्न चारवटा महत्त्वपूर्ण सडक तथा पुल आयोजनाको ठेक्का अन्त्य गरिएको जानकारी दिएको हो । 

सडक डिभिजन जुम्लाका अनुसार तोकिएको समय र थपिएको म्यादभित्र पनि काम नसक्ने तथा लिखित तथा मौखिक ताकेतालाई अटेर गरी निर्माण व्यवसायी स्वयंले काम नसकिने परिस्थिति सिर्जना गरेपछि यो निर्णय लिइएको हो। यसका लागि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) र ५९ (७) का साथै ठेक्का सम्झौताको ‘जनरल कन्डिसन्स अफ कन्ट्र्याक्ट’ (जीसीसी) को व्यवस्थालाई आधार मानिएको सूचनामा उल्लेख छ ।

सडक डिभिजन कार्यालयले कालीकोट जिल्लाको सेरी–पन्ताडीमा बेली ब्रिज निर्माण तथा जडान कार्यको जिम्मेवारी पाएको मेसर्स हिमाली निर्माण सेवा जुम्लासँगको ठेक्का रद्द गरेको छ । यसैगरी, कालीकोट खण्डको चेनेज १३२+००० देखि २०५+००० सम्मको आवधिक मर्मत कार्यको ठेक्का पाएको मेसर्स एमके÷अमित जेभी जुम्ला र सोही जिल्लाको चेनेज १८०+००० देखि २०५+००० सम्मको अर्को आवधिक मर्मत कार्यको जिम्मेवारी पाएको मेसर्स एमके अमित जेभी जुम्लासँगको सम्झौता पनि कार्यालयले तोडेको छ। कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको सिम्ले खोला पुल संरक्षण कार्य समयमै सम्पन्न नगर्ने मेसर्स कर्णाली कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कालीकोटको ठेक्का पनि रद्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

ठेक्का सम्झौता रद्द भएसँगै कार्यालयले ती निर्माण व्यवसायीहरूलाई तत्काल कार्यस्थल छोड्न निर्देशन दिएको छ । साथै, सम्झौता अनुसार स्वीकृत भई हालसम्म भुक्तानी हुन बाँकी रहेका कुनै काम भएमा वित्तीय फस्र्यौटका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयमा सम्पर्क राख्न समेत सम्बन्धित निर्माण व्यवसायीहरूलाई सूचित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप