नर्वेको आशा हालान्डकै काँधमा
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'आई' को खेलमा नर्वेको आशा खेलाडी अर्लिङ हालान्डमा छ।
- हालान्डले विश्वकप छनोटमा इराकविरुद्ध दुई गोल गर्दै नर्वेलाई ४-१ को जित दिलाएका थिए।
- हालान्डले क्लब र अन्तर्राष्ट्रिय फुटबलमा प्रभावशाली प्रदर्शन गर्दै कीर्तिमान कायम गरेका छन्।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को महत्त्वपूर्ण खेलमा नर्वे र सेनेगल भिड्दा अर्लिङ हालान्ड निस्सन्देह सबैको नजर पर्ने खेलाडी हुनेछन्।
शारीरिक बल, तीव्र गति, चलाख मुभमेन्ट र उत्कृष्ट फिनिसिङको तालमेल मिलाउने यो नर्वेजियन स्ट्राइकर विश्व फुटबलकै सबैभन्दा खतरनाक फरवार्डमध्ये एक बनेका छन्। नकआउट चरणमा प्रवेश गर्ने लक्ष्यमा रहेको नर्वेको आशा फेरि एकपटक आफ्नै गोल मेसिन कप्तानको काँधमा टिकेको छ।
यस प्रतियोगिताकै सबैभन्दा कठिन मानिएको समूहबाट अघि बढ्न दुवै टोलीलाई अंकको आवश्यकता रहेकाले सेनेगलविरुद्धको यो भिडन्त विशेष महत्त्वपूर्ण छ। नर्वेले आफ्नो पहिलो खेलमा इराकलाई ४-१ ले हराउँदै विश्वकपको सानदार सुरुवात गरेको थियो, जसमा हालान्डले दुई गोल गरेका थिए।
उनको त्यो प्रदर्शनले उनी किन विश्वकै उत्कृष्ट स्ट्राइकर हुन् र उनलाई रोक्न सेनेगलको डिफेन्सले किन विशेष ध्यान दिनुपर्छ भन्ने स्पष्ट पारेको छ। हाल समूह ‘आई’ को शीर्ष स्थानमा रहेको नर्वेले यो खेल जितेमा आफ्नो अन्तिम समूह चरणको खेलमा फ्रान्सको सामना गर्नुअघि निकै बलियो स्थिति बनाउनेछ।
हालान्डको विश्वकप तथ्यांक भर्खरै सुरु भए पनि निकै प्रभावशाली छ। सन् १९९८ पछि नर्वेले पहिलो पटक विश्वकप खेलेको हो, जसको अर्थ यो हालान्डको विश्वकप डेब्यु पनि हो।
इराकविरुद्धको आफ्नो पहिलो विश्वकप खेलमै दुई गोल गरेर उनले नर्वेलाई सानदार जित दिलाएका छन्। एक विश्वकप खेलमा दुई गोलको यो तथ्यांकले दबाबपूर्ण अवस्थामा पनि खेल्न सक्ने उसको असाधारण क्षमतालाई प्रमाणित गर्छ। इराकविरुद्धको उक्त प्रदर्शनले उनलाई विश्वकपको पहिलो चरणका खेलहरुकै उत्कृष्ट खेलाडीमध्ये एक बनाएको छ।
नर्वेका लागि हालान्डको अन्तर्राष्ट्रिय रेकर्ड अविश्वसनीय छ। सन् २०१९ मा सिनियर टोलीबाट डेब्यु गरेयता उसले ४९ खेलमा ५५ गोल गरेको छ। २५ वर्षको उमेरमै उनी नर्वेका लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। अन्तर्राष्ट्रिय स्तरमा प्रतिखेल एक गोलभन्दा बढीको उसको औसत निकै लोभलाग्दो छ।
उनले फिफा विश्वकप छनोटमा २१, यूईएफए नेसन्स लिगमा १९ र युरोपियन च्याम्पियनसिप छनोटमा ६ गोल गरेका छन्। साथै, उनले ६ वटा अन्तर्राष्ट्रिय ह्याट्रिक पनि गरेका छन्, जसले खेललाई एक्लै जिताउन सक्ने उनको क्षमता देखाउँछ। यिनै तथ्यांकका कारण सेनेगलका प्रशिक्षक पापे थियावले हालान्डको खतरालाई स्वीकार गर्दै भनेका छन्, ‘हामी एउटा खेलाडीमा मात्रै पूर्ण रूपमा केन्द्रित हुन भने सक्दैनौं।’

क्लब स्तरमा पनि हालान्डको उपलब्धि उस्तै असाधारण छ। सन् २०२२ मा म्यानचेस्टर सिटीमा आबद्ध भएयता उनले सबै प्रतियोगितामा गरी १९८ खेलमा १६२ गोल गरेका छन्। प्रिमियर लिगमा मात्र उनले १३२ खेलमा ११२ गोल गर्दै इंग्ल्यान्डका धेरै स्कोरिङ रेकर्डहरु तोडेका छन्। म्यानचेस्टर जानुअघि उसले बोरुसिया डर्टमन्डका लागि ८९ खेलमा ८६ गोल र रेडबुल साल्जवर्गका लागि २७ खेलमा २९ गोल गरेको थियो। आफ्नो करिअरको सुरुवाती चरणमा उनले मोल्डे एफकेका लागि ४४ खेलमा १८ गोल गरेका थिए। यी तथ्यांकले आधुनिक फुटबलमा विरलै देखिने निरन्तरतालाई प्रस्ट पार्छन्।
तथ्यांकबाहेक टिमका अन्य सदस्यमा पनि हालान्डको प्रभाव ठूलो छ। मैदानमा उसको उपस्थिति ले अलेक्जेन्डर सोर्लोथ जस्ता अट्याकिङ पार्टनरका लागि खाली ठाउँ बनाइदिन्छ भने उसको निरन्तरको प्रेसिङले विपक्षी डिफेन्सलाई गल्ती गर्न बाध्य पार्छ।
नर्वेको आक्रामक शैली हालान्डको क्षमतालाई अधिकतम प्रयोग गर्ने गरी तयार पारिएको छ र उनी लयमा हुँदा सिंगो टिमले उच्च आत्मविश्वासका साथ खेल्छ। सेनेगलसँग अनुभवी डिफेन्डर र खतरनाक काउन्टर अट्याकिङ खेलाडीहरु छन् तर ९० मिनेटसम्म हालान्डलाई रोक्नु उनीहरुका लागि निकै ठूलो चुनौती हुनेछ।
अन्ततः, खेललाई एकै क्षणमा बदल्न सक्ने दुर्लभ क्षमता भएका कारण अर्लिङ हालान्ड यो खेलमा सबैभन्दा बढी हेरिने खेलाडी हुन्। शक्तिशाली फिनिसिङ होस् वा सटिक दौड वा व्यक्तिगत उत्कृष्ट प्रदर्शन, उनले फुटबलका ठुला मञ्चहरुमा आफूलाई पटक-पटक प्रमाणित गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
-
कोटेश्वरमा कारले ४ वटा मोटरसाइकललाई ठक्कर दियो, ५ जना घाइते
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण