मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रचण्ड र उपेन्द्रबीच बढ्यो दुरी, यस्तो थियो विगत

बिहीबार, ३२ साउन २०८०, १५ : ४८
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ । साउन २९ गते प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्ने भएपछि प्रधानमन्त्रीको सचिवालयबाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई बैठकका लागि खबर गरिएको थियो ।

तर आफू मधेसमा भएको कारण देखाउँदै अध्यक्ष यादवले आफ्नो पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमनलाई बैठकमा पठाएका थिए । साउन २९ गतेको बैठकमा अनुपस्थित उपेन्द्र यादवलाई साउन ३१ गते बस्ने बैठकमा पनि बोलाइएको थियो । त्यो बैठकमा पनि उनले वरिष्ठ नेता श्रेष्ठ र प्रवक्ता सुमनलाई नै पठाएका थिए ।

यी दुई वटा बैठकमा सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थिति थियो तर जसपाका अध्यक्ष उपेन्द्र यादव आफैँ उपस्थित नभएर आफ्ना पार्टीका अन्य नेताहरुलाई पठाएका थिए ।

बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सहभागी हुन नचाहेका जसपाका अध्यक्ष उपेन्द्र यादव भारतको ७७ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा प्रेम लस्सकरी अध्यक्ष रहेको नेपाल–भारत मैत्री समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भने जनकपुरबाट काठमाडौँ आएका थिए ।

सोल्टी होटलमा आयोजित सो कार्यक्रममा भारतीय राजदूत नविन श्रीवास्तवसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायतको उपस्थिति थियो ।

यसले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच दुरी बढेको प्रस्ट देखिन्छ । गौर घटनालाई लिएर सरकारले छानबिन गर्ने भएपछि जसपाका अध्यक्ष यादव असन्तुष्ट देखिन्छन् । गौर घटनाका पीडितसँग सरकारले पाँच बुँदे सम्झौता गरेपछि सो घटनामा मुछिएका जसपाका अध्यक्ष उपेन्द्र यादवसहित अन्य नेताहरु कारबाहीमा पर्ने सम्भावना देखिएको छ ।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थनमात्र होइन, सरकारमै सहभागी भए पनि गौर घटना छानबिनको प्रक्रिया अगाडि बढाउने निर्णयपछि अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डसँग बोलचालसमेत बन्द गरेका छन् ।

गृह मन्त्रालयले गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग साउन २३ गते सम्झौता गरेको थियो । सम्झौता भएकै भोलिपल्ट जसपाका अध्यक्ष उपेन्द्र यादव कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

गौर घटनाको सम्बन्धमा भएको सम्झौताको बारेमा तीनै जना नेताले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए । त्यसका जवाफमा प्रचण्डले छानबिन होस्, त्यसपछि सल्लाह गरौँला भन्ने जवाफ दिएका थिए ।

स्रोतका अनुसार चित्त बुझ्दो जवाफ प्रधानमन्त्री प्रचण्डबाट नआएपछि जसपाका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट भएर बालुवाटारबाट बाहिरिएका थिए । त्यसपछि साउन २५ गते पनि अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डसँग भेट्न चाहेका थिए । तर समय अभावका कारण भेट्न पाएका थिएनन् ।

त्यही दिन पार्टीमा उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएर गौर घटनाको बारेमा उनले छलफल गरेका थिए । जसपामाथि ठूलो षड्यन्त्र भएको भन्दै सरकार र पीडित पक्षका बीचमा भएको सम्झौतालाई स्वीकार नगर्ने निर्णय बैठकले गरेको थियो । त्यसको भोलिपल्ट जसपाले पत्रकार सम्मेलन गरेर गौर घटनाको बारेमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको थियो । तर त्यो पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादव आफैँ उपस्थित भएनन् ।

त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादव मधेस झरे । जसपा बारा जिल्लाको विस्तारित बैठकमा सहभागी भएपछि मधेसमै केही समय रहने गरी विभिन्न कार्यक्रम बनाएर उनी जनकपुरमा बस्न थाले ।

यता, काठमाडौँमा बसेको गठबन्धनको बैठकमा उपेन्द्र यादवको खोजी हुन थाल्यो । तर गौर घटनालाई लिएर असन्तुष्ट रहेका उनी प्रधानमन्त्री प्रचण्डसँग दुरी बनाउन थाले । संसदीय राजनीतिमा आएदेखि सानोतिनो खटपट बाहेक दुवै जनाको बीचमा राम्रो दोस्ती थियो तर यसपटक जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रचण्डसँग चित्त दुखाएका छन् ।

गठबन्धनको बैठकमा मात्र होइन, प्रचण्डसँग फोन संवाद, भेटघाटसमेत उनले बन्द गरेका छन् । जसपाका एक नेताले भने, ‘हाम्रो अध्यक्षज्यूले बालुवाटार जाने इच्छा नै देखाउनु भएका छैन, बैठक वा छलफलका लागि खबर आयो भने पार्टीका अन्य नेतालाई पठाउनु हुन्छ ।’

जसपाका अध्यक्ष उपेन्द्र यादवको निष्कर्ष माओवादी नेतृत्वको सरकारले षड्यन्त्रपूर्वक जसपालाई फसाउने काम गरेको भन्ने नै छ । १७ वर्ष पुरानो राजनीतिक घटनालाई यतिबेला उठाइएकोमा पनि उनी सशंकित छन् । सरकार र गौर घटनाका पीडितबिच भएको सम्झौता ‘षड्यन्त्रपूर्वक’ आएको भन्दै उनले यसमा माओवादी केन्द्रकै मुख्य भूमिका रहेको उनको बुझाइ छ ।

प्रचण्ड र उपेन्द्रको विगत

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको सम्बन्ध विगतमा निकै सौहार्द्रपूर्ण रह्यो । राजनीतिमा एक अर्कालाई सहयोग गरेरै उनीहरु अगाडि बढिरहेका थिए । लामो सहयात्रामा उनीहरुको बीचमा यो चौथो पटक दुरी बढेको हो । पहिलो पटक २०६३ चैत ७ गते गौर हत्याकण्ड हुँदा माओवादीका अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष यादवबीच दुरी बढेको थियो ।

त्यतिबेला अध्यक्ष यादवलाई भौतिक कारबाही गर्ने भन्दै माओवादीले उनको खोजी गरेको थियो । त्यतिबेला उपेन्द्र यादव माओवादीकै कारण केही समय भूमिगत हुनु परेको थियो । पहिलो संविधानसभाको चुनावपछि उनीहरुको बीचमा सम्बन्ध विस्तार भयो ।

दोस्रो पटक संविधान निर्माणको क्रममा २०७२ जेठ २५ गते १६ बुँदे सम्झौता हुँदा उनीहरुको बीचमा दुरी बढेको थियो । त्यतिबेला उपेन्द्र यादव र प्रचण्ड एउटै गठबन्धनमा थिए । गठबन्धन छाडेर प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमालेसँग मिलेर १६ बुँदे सम्झौता गरी फास्ट ट्रयाकमा संविधान निर्माण गर्ने सहमति गरेका थिए ।

सो सम्झौतामा प्रचण्डले तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको साथ लिएका थिए । गठबन्धनको आन्दोलन छाडेर प्रचण्ड संविधान निर्माणमा गएको भन्दै उपेन्द्र यादव त्यतिबेला प्रचण्डसँग असन्तुष्ट बनेका थिए ।

तेस्रो पटक २०७९ को प्रतिनिधिसभा चुनावमा २०७९ असोज २१ गते उपेन्द्र यादवले पाँच दलीय गठबन्धन छाडेपछि दुई जनाको बीचमा दुरी बढेको थियो । २०७९ को चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने सहमति थियो तर सीटमा कुरा नमिलेका कारण अध्यक्ष उपेन्द्र यादव सो गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेका थिए । त्यसले गर्दा दुई नेताबीच दुरी बढेको थियो ।

अहिले फेरि गौर घटनाको विषयमा सरकारले छानबिन गर्न थालेपछि प्रचण्ड र उपेन्द्र यादवको दुरी बढेको हो ।

त्यसबाहेक प्रचण्ड र उपेन्द्र यादव बीचको दोस्तीमा कुनै समस्या आएको थिएन । दुई जनाको बीचमा पार्टी एकता गर्नेसम्मको संवाद भएको थियो । पार्टी एकता सम्भव नभए पनि दुई जनाको प्रयासले समाजवादी मोर्चा बनेको हो ।

यहाँसम्म कि भारतमा माओवादीका नेता सुरेश आलेमगर र मोहन वैद्य किरणलाई पक्राउ पर्दा माओवादीले उपेन्द्र यादवमाथि आशंका गरेको थियो । त्यो बेला पनि अध्यक्ष प्रचण्ड उपेन्द्र यादवमाथि नरम नै थिए ।

गौर हत्याकण्डाले मात्र प्रचण्ड र उपेन्द्र बीचको सम्बन्धमा नराम्रो गरी चिरा परेको थियो । माओवादीका २७ जना कार्यकर्ताको ज्यान जाने गरी गौर घटना भएको थियो । सोही घटनाका कारण मधेस आन्दोलनमा माओवादी र फोरमबीच द्वन्द्व देखिन्थ्यो । मधेस आन्दोलनको क्रममा तत्कालीन फोरम र सरकारबीच १३ बुँदे र २२ बुँदे सम्झौता हुँदा पनि प्रचण्ड र उपेन्द्रबीच सम्बन्ध सुधार भइरहेको थिएन ।

२०६४ फागुन ८ गते बालुवाटारमा भएको आठ बुँदे सम्झौतापछि दुई जना बीचको सम्बन्धमा सुधार आयो । त्यसपछि दुई जना नेता कहिले अलग भएनन् । आन्दोलन होस् या सरकार उपेन्द्र यादव र प्रचण्डले एक अर्कालाई साथ दिएका छन् । उपेन्द्र यादवलाई अप्ठ्यारो पर्दा प्रचण्डले सघाउने, प्रचण्डलाई अप्ठ्यारो हुँदा उपेन्द्रले सघाउने गर्दै आएका थिए ।

एउटै स्कुलिङबाट राजनीतिमा आएका हुनाले जस्तोसुकै प्रतिकुल अवस्थामा पनि उनीहरुका बिचमा कुरा मिल्ने र सहकार्य हुने गरेको थियो । प्रचण्डले आफ्नो नेतृत्वमा बनाएको सरकार होस् या आन्दोलनका लागि बनाएको गठबन्धन नै किन नहोस्, उपेन्द्र यादवलाई समेटेकै हुन्छन् । प्रचण्ड नेतृत्वको कुनै पनि मोर्चा वा सरकार उपेन्द्रबाहेकको बनेको छैन ।

प्रचण्डले तीन पटक सरकारको नेतृत्व गरे । तीनै पटक उपेन्द्र यादवले प्रचण्डलाई साथ दिए । कतिपय अवस्थामा माओवादीलाई क्षति पु¥याएर भए पनि प्रचण्डले उपेन्द्र यादवलाई सहयोग गरेको थुप्रै उदाहरण छन् । पछिल्लो समय माओवादीले पाएको आफ्नो भागको उपराष्ट्रपति पद पनि उपेन्द्रलाई दिए । त्यतिमात्र होइन, बाराबाट उपनिर्वाचन जिताएर उपेन्द्रलाई प्रतिनिधिसभामा ल्याए ।

सप्तरीमा चुनाव हारेपछि उपेन्द्र यादव निराश भइसकेका थिए । उनका नेता तथा कार्यकर्ता पनि निराश थिए । त्यतिबेला माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले साथ नदिएको भए उपेन्द्र यादवको ‘ड्यामेज कन्ट्रोल’ हुने थिएन ।

बाराको उपनिर्वाचनमा आयोजित आमसभालाई सम्बोधन गर्दै माओवादीका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘आफ्नो भागको उपराष्ट्रपति दिएर उपेन्द्र यादवलाई मेलै नै बारा–२ मा चुनाव लड्न पठाएको छु ।’ प्रचण्डको त्यो अभिव्यक्तिले नै दुई जनाबिचको दोस्ती पुष्टि हुन्छ ।

२०७९ को चुनाव समयमा प्रचण्डको साथ छाडेर उपेन्द्र यादवले एमालेसँग लिखित सम्झौता गरेर चुनावमा तालमेल गरेका थिए । एमालेसँग भएको लिखित सम्झौतामा प्रस्ट लेखिएको छ, ‘तालमेल भएको उपरोक्त निर्वाचन क्षेत्रहरु बाहेक अन्य निर्वाचन क्षेत्रहरुमा दुवै पार्टीले उम्मेदवारी दिन सक्ने र यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने सहमति गरियो ।’ तर चुनाव सकिने बित्तिकै उपेन्द्र यादवले एमालेको साथ छाडेर प्रचण्डलाई साथ दिन पुगे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप