मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
सत्तारुढ दलको बैठक

बालुवाटार बैठकमा ‘नेकपा’को चर्चा : प्रचण्ड, माधव र उपेन्द्रका आ–आफ्नै गुनासा !

संसद् अधिवेशन अन्त्यको विकल्पमा सरकार
मङ्गलबार, ३० साउन २०८०, १६ : ३२
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । संसद्को अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बोलाएको सत्तारुढ दलको बैठकमा प्रमुख दलका शीर्ष नेताहरू एजेण्डामा केन्द्रित रहेर छलफल गर्नुभन्दा पनि आ–आफ्नो गुनासो पोखेर फर्केका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब ३ घण्टा चलेको बैठकमा प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित उपाध्यक्षद्धय प्रमेश हमाल र राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ तथा लोसपाका अध्यक्ष महन्त ठाकुरलगायतका नेता सहभागी थिए ।

‘तस्करीको सुन छानबिनको प्रक्रियालाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ । उसले छानबिनका लागि स्वतन्त्र र निष्पक्ष उच्चस्तरीय आयोग गठनलाई ‘बटमलाइन’ नै बनाएको छ । गतिविधि हेर्दा एमाले संसद् चल्न दिने पक्षमा देखिँदैन’, प्रधानमन्त्री प्रचण्डले बैठकमा कुराको पोयो फुकाउँदै भने, ‘सरकारले गरेको राम्रो काममा एमाले सधैँ बाधक बन्ने गरेको छ ।’

राजश्व अनुसन्धान विभागले भन्सार पास भएको तस्करीको सुन गत साउन २ गते सिनामंगलबाट बरामद गरेको थियो । उक्त सुनबारे सुरुमा राजश्व अनुसन्धान विभागले अनुसन्धान गर्ने भनिएपनि पछि नेपाल प्रहरीको सीआईबीलाई अनुसन्धानको जिम्मा लगाइएको थियो । तर सत्तारुढ दलका नेता र सरकारकै संलग्नतामा उक्त सुन तस्करीको आशंका गर्दै एमालेले सीआईबीले गर्ने अनुसन्धान निष्पक्ष हुन नसक्ने भएकाले बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउनुपर्ने अडान राख्दै आएको छ । सोही अडान राख्दै एमालेले साउन १० गतेदेखि संसद् चल्न दिएको छैन ।

WhatsApp Image 2023-08-14 at 18.17.52

बैठकको सुरुवात गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले एमालेले लगातार संसद् अवरुद्ध गर्दै आएको छ, त्यसैले अब कसरी अघि बढ्ने भनेर छलफल राखिएको जानकारी गराएका थिए । 

त्यसैक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका सांसद सुनीलकुमार शर्मा पक्राउको विषयमा दलको बैठकमा भएको विरोधको प्रसङ्ग उठाए । ‘दलको बैठकमा सुनील शर्मा पक्राउ पर्ने तर महरा किन पक्राउ नपर्ने भनेर हाम्रा सांसदहरूले प्रश्न गरेका छन्,’ देउवाले दलको बैठकको हवाला दिँदै यस्तो जिज्ञासा राखेका थिए । 

देउवाको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने हकमा अनुसन्धानका क्रममा जोसुकै दोषी भएपनि पछि हट्न नहुनेमा सरकार दृढ रहेको बताएका थिए । 

त्यतिकैमा समाजवादीका अध्यक्ष माधव नेपालले विकसित राजनीतिक घटनाक्रमहरूलाई मध्यनजर गर्दै आफू युरोप भ्रमण छोट्याएर नेपाल आएको प्रसङ्ग निकाले । 

नेता नेपाल बोलेपछि उपाध्यक्ष समेत रहेका राजेन्द्र पाण्डेले पनि ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले गरेको आदेश पूर्वाग्रही ढंगले आएको हो कि भन्ने आशंका बढ्न पुगेको बताएका थिए । उनले तत्कालीन नेकपा विभाजनमा निवेदकले नेकपा विभाजनको मागदाबी नगरेपनि अदालतले फैसला गरेको भन्दै ललिता निवास जग्गा हिनामिना प्रकरणमा पनि अदालतको आदेश सोही आसयबाट पूर्वप्रधानमन्त्रीहरुमाथि समेत अनुसन्धान गर्नु भनेर आएको त होइन भनेर प्रश्न गरेका थिए । पाण्डेले सुन प्रकरणमा पनि पूर्व सभामुख समेत रहेका कृष्ण बहादुर महराबारे अनुसन्धान नै नगरी जोगाएको भनेर बाहिर टिका टिप्पणी हुने गरेको भन्दै यसबारे के भइरहेको छ भनेर प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न समेत गरेका थिए । पाण्डेले यी दुई विषयमा प्रश्न गरेपछि नेताहरूले यो सबै अदालतका कारण त भइरहेको होइन भन्दै तत्कालीन नेकपा विभाजनको चर्चा समेत गरेका थिए ।

‘अदालतको यो आदेश त कार्यपालिकाकोे अधिकारमाथि एक किसिमको हस्तक्षेप नै जस्तो लाग्छ,’ पाण्डेले ललिता निवास जग्गा प्रकरणमा अदालतको आदेशप्रति असन्तुष्टिसहित पुनः जिज्ञासा राखे । 

‘माधवजी, उपेन्द्रजीलाई मात्रै होइन, मविरुद्ध नै अदालतमा दुई–दुईवटा मुद्दा छन् । तत्कालीन जनयुद्धमा ५ हजार मानिस मारेको भनेर मैविरुद्ध मुद्दा छ । त्यसैले अदातलप्रति आशंका वा अविश्वास गरिहाल्न उपयुक्त नहुन सक्छ,’ प्रचण्डले बैठकमा भनेका थिए ।

पाण्डेअघि अध्यक्ष नेपालले आफूले ललिता निवास प्रकरणमा कुनै गल्ती नगरेको स्पष्ट पारेका थिए । ‘नडराउनु नबिराउनु’ मैले त्यसवेला कुनै कमजोरी गरेको छु जस्तो लाग्दैन,’ नेपालले बैठकमा भनेका थिए । उनले पनि अदालतको आदेश कसरी आयो ? भनेर प्रश्न गरेका थिए । 

त्यसपछि बोल्ने पालो आयो, जसपाका प्रतिनिधिको । अध्यक्ष उपेन्द्र यादवको प्रतिनिधित्व गर्दै नेता राजेन्द्र श्रेष्ठले गौर घटनामा सरकारले साउन २३ गते गरेको सहमतिप्रति गुनासो गरे । उनले सो सहमतिप्रति पार्टी बैठकबाटै असहमति जनाइसकेको भन्दै उक्त सहमतिपछि गौर घटनाबारे अदालतमा उजुरी हालेर त्यसकै आधारमा केही व्यक्तिहरूले खेल्ने मौका पाएको गुनासो गरेका थिए । ‘उजुरीकै आधारमा हामीलाई निशाना बनाइएको हुनसक्छ । यदि त्यस्तो हो भने हाम्रो सहकार्यको के अर्थ होला ?,’ श्रेष्ठले प्रश्न गरेका थिए ।

माधव र श्रेष्ठको गुनासो सुनेपछि प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई आश्वस्त पार्न खोजेका थिए ।

‘माधवजी, उपेन्द्रजीलाई मात्रै होइन, मविरुद्ध नै अदालतमा दुई–दुईवटा मुद्दा छन् । तत्कालीन जनयुद्धमा ५ हजार मानिस मारेको भनेर मैविरुद्ध मुद्दा छ । त्यसैले अदातलप्रति आशंका वा अविश्वास गरिहाल्न उपयुक्त नहुन सक्छ,’ प्रचण्डले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘शक्ति सन्तुलनको हिसाबले समेत व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको आ–आफ्नै महत्त्व रहन्छ ।’

त्यसपछि श्रेष्ठले संसद्मा सत्तारुढ दलकै सांसदले ‘आतङ्ककारी’ भनेर आफू र सरकारमाथि लगाएको आक्षेप कति जायज हो ? भनेर गुनासोसहितको प्रश्न गरेका थिए ।

प्रचण्डले अझ थप्दै भने, ‘बरु आफूसँग सम्बन्धित मुद्दामा सबैले आ–आफ्ना पार्टीभित्र र कानुन व्यवसायीसँग पनि परामर्श गरौँ । त्यसपछि के गर्न सकिन्छ सोही अनुसार अघि बढौँला ।’ 

प्रचण्ड बोलेपछि उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनिल शर्मा र कृष्णबहादुर महरा प्रकरणमा नेताहरूले राखेको जिज्ञासाको जवाफ दिने प्रयास गरेका थिए । मन्त्री श्रेष्ठले सुन तस्करीमा महरा संलग्न भएन–भएको अहिलेसम्म कुनै प्रमाण नभेटिएको भन्दै अझै अनुसन्धान जारी रहेकाले त्यसबारे अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताएका थिए । उनले महरालाई उन्मुक्ति दिने र अरूलाई कारबाही गर्ने भन्ने जसरी नबुझ्न नेताहरूलाई आग्रह समेत गरेका थिए ।

‘फोन सम्पर्ककै आधारमा कोही व्यक्तिलाई सुन तस्करीमा संलग्न छ भनेर भन्न सक्ने अवस्था हुँदैन,’ श्रेष्ठले बैठकमा भनेका थिए, ‘अनुसन्धान नै नगरेको र नभएको भन्ने कुरा पनि होइन । भइरहेको छ ।’

त्यसपछि श्रेष्ठले संसद्मा सत्तारुढ दलकै सांसदले ‘आतङ्ककारी’ भनेर आफू र सरकारमाथि लगाएको आक्षेप कति जायज हो ? भनेर गुनासोसहितको प्रश्न गरेका थिए ।

संसद्को अवरोध हटाउन भनेर छलफल गर्न बोलाइएको बैठकमा नेताहरूले यसरी आ–आफ्नै गुनासो राख्दा र सुन्दा तीन घण्टा समय बितिसकेको थियो ।

संसद् अधिवेशन अन्त्यको विकल्पमा सरकार

सत्तारुढ दलले एमालेले भनेजस्तो उच्चस्तरीय छानबिन समिति बनाउने कुरालाई एकमतले अस्वीकार गरेका छन् । छलफलका क्रममा उनीहरूले समिति बनाउँदा अहिले भइरहेको छानबिन नै प्रभावित हुनसक्ने भन्दै राज्यका अंगले गरेको छानबिनप्रति सबैले विश्वास गर्नुपर्नेमा सबै नेता सहमत भएका थिए । बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि एमालेको मागअनुसार समिति बनाउने कुरा अस्वीकार गरेको प्रतिक्रिया दिएका थिए ।

समिति बनाउने अडानबाट एमालेपछि नहट्ने र लगातार संसद् अवरुद्ध गर्दा जनतामा समेत राम्रो सन्देश नजाने भएकाले त्यस्तो अवस्थामा बरु संसद्को चालु अधिवेशन नै बन्द गर्न उपयुक्त हुनेतर्फ समेत नेताहरुबीच छलफल भएको थियो ।

‘एमालेले संसद् चल्न नै नदिने हो भने बरु चालु अधिवेशन नै बन्द गर्न कि भन्ने कोणबाट समेत कुराकानी भएका छन्,’ एक नेताले भने, ‘भदौ ३ को अवस्था हेरेर सरकारले निर्णय गर्नसक्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप