शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा धान उत्पादन घट्दै

मङ्गलबार, ०५ भदौ २०८०, १६ : २९
मङ्गलबार, ०५ भदौ २०८०

दमौली । धान खेतीतर्फ कृषकको आकर्षण घट्दै गएकाले  जिल्लामा वर्षेनी धान उत्पादन घट्दै गएको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए । पुरानो बीउ प्रयोग गरिएका कारण पनि धान उत्पादन घट्दो क्रममा रहेको उनको  भनाइ थियो । 

प्रमुख तिवारीले भने, “पुरानो बीउ प्रतिस्थापन गर्न सकिए धान उत्पादन बढाउन सकिने र यसतर्फ कार्यालयले सोच पनि बनाएको छ ।” “वर्षे धान विक्री नभएकाले धानखेतीतर्फ कृषकको आकर्षण घटेको छ,” उनले भने, “धान बिक्री हुन सकिरहेको छैन, कृषकले यत्तिकै थन्काएर राख्नुपर्ने अवस्था छ । बिक्री नै नभएपछि यसतर्फ आकर्षण पनि बढाउन सकिएको छैन ।” 

पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान उत्पादन घट्दो अवस्थामा छ । विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर जमिनमा वर्षे धान खेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर जमिनमा धान खेती भइरहेको केन्द्रले जनाएको छ । 

त्यस अवधिमा वर्षे धान खेती गरिएको  चार हजार २० हेक्टर जमिन घटानका साथै दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ । विसं २०६० मा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन उत्पादन भएको थियो । त्यतिबेला तीन हजार आठ सय हेक्टर जमिनमा चैते धान खेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै सीमित भएको छ । 

विसं २०६० मा आठ हजार एक सय ९४ मेट्रिक टन धान उत्पादन भएकामा विसं २०७९ मा २५ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । त्यतिबेला तीन हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा घैय्या धान खेती हुने गरेकामा अहिले घटेर दश हेक्टर जमिनमा मात्रै उक्त खेती भइरहेको छ । यस अवधिमा घैय्या धान खेती गर्ने क्षेत्रफल तीन हजार आठ सय ९२ हेक्टरले घटेको  छ भने उत्पादन पनि घटेर आठ हजार एक सय ६९ मेट्रिक टन भएको छ । 

प्रमुख तिवारीका अनुसार कार्यालयले चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्न लागेको छ । चैते धानतर्फ कृषकको आकर्षण बढाउन चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो । यसका लागि कार्यालयले हाइब्रिड बीउ, हाते ट्र्याक्टर, धान उत्पादनमा प्रोत्साहन वितरणलगायत कार्यक्रम ल्याएको छ । 

आर्थिक वर्ष २०७९/८० मा कार्यालयले चैते धान प्रवद्र्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा त्यसलाई बढाएर रु एक करोड ५० लाख पुर्‍याइएको छ । प्रमुख तिवारीले भने, “यो वर्ष चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गरिने र यसका लागि रु एक करोड बजेट वृद्धि भएको छ ।”

गत आर्थिक वर्षमा चैते धान प्रवर्द्धन कार्यक्रममार्फत दश वटा समूहलाई दुई हजार पाँच सय केजी हाइब्रिड बीउ वितरण गरिएको र त्यसका लागि रु ४३ लाख ५९ हजार खर्च भएको थियो । त्यस्तै १६ हजार १२ केजी उन्नत बीउ, २५ वटा हाते ट्र्याक्टर, ३४ वटा मिलका साथै धान उत्पादनमा रु छ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको थियो । 

चालु आर्थिक वर्षमा चैते धानको बीउ प्रतिस्थापन, उन्नत र हाइब्रिड बीउ प्रयोगमा जोड, उपकरणको प्रयोग, चैते धान सुकाउने उपकरण, धान काट्ने उपकरण वितरण, कुलो निर्माण र मर्मत, चामल मिलको स्तरोन्नति र चैते धानको बजारीकरणमा सहयोग गरिने प्रमुख तिवारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप