आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

'हामीले सैद्धान्तिक कुरा गरेर नयाँ पुस्ता माओवादीमा आकर्षित हुँदैन'

पार्टीलाई पुरानो ठाउँमा फर्काउनलाई मेहनत गर्नैपर्ने देखिन्छ : चक्रपाणि खनाल
शुक्रबार, १५ भदौ २०८०, १० : ५७
शुक्रबार, १५ भदौ २०८०

आफ्नो अवस्थामा सुधार ल्याउन र इतिहास दोहोर्‍याउने लक्ष्यसहित माओवादी केन्द्रले देशभर तीन महिने अभियान सुरु गर्दैछ । शनिबार एकैपटक देशभरका सबै वडामा उक्त अभियान उद्घाटन गर्ने योजना छ । अभियानमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु वडावडामा पुग्ने कार्यक्रम छ । त्यसका लागि कार्यक्रमहरु तय गरिएका छन् र नेताहरु फिल्डमा उत्रिएका छन् ।

कोशी प्रदेशमा पनि माओवादीले सुरु गरेको तीन महिने अभियानको पूर्व तयारी सकिएको छ । शान्ति प्रक्रियापछि पहिलो पटक कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी लिएर आएका माओवादी नेता चक्रपाणि खनाल (बलदेव)सँग कोशी प्रदेशमा माओवादीको अवस्था के हो ? अभियान कसरी सञ्चालन गर्ने हो ? अब माओवादी पुरानै अवस्थामा पुग्न सक्छ ? लगायतका विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः

माओवादीले घोषणा गरेको अघिल्ला अभियानहरु भन्दा अहिलेको तीन महिने अभियानको चर्चा अलिक बढी देखियो । कोशी प्रदेशमा अभियानको तयारी कस्तो छ ?

– गत दुई महिनाको अभियानचाहिँ हामीले अभियानको सुरु गर्‍यौं तर सोचेजस्तो सफलतामा पुर्‍याउन सकिएन । अहिले चलाउन लागिएको तीन महिने अभियानमा दुई वटा कुरालाई केन्द्रित गरेका छौँ । एउटा चाहिँ विधान सम्मेलनमार्फत स्ट्रोङ विधान र संगठनको आकार प्रकार आदिलाई विधानमा सामान्य ढङ्गले फेरबदर गर्न नसकिने गरी व्यवस्था गर्ने तयारी हो ।

दोस्रो भनेको आठौँ महाधिवेशनको पुरक जस्तो विशेष महाधिवेशन गर्ने र त्यो विधान सम्मेलनले निर्माण गरेको विधानको आधारमा निर्वाचित कमिटीहरु निर्माण गर्ने । वैचारिक ढङ्गले पनि वृहङ्गम छलफल गरेर जाने । त्यो विशेष महाधिवेशनचाहिँ फागुनसम्ममा गर्ने भन्ने हो । त्यसैलाई मुर्त रुप दिनलाई यो तीन महिने बनाइयो ।

यो अभियान अहिले प्रारम्भिक ढङ्गले भदौ १ गतेदेखि १५ सम्म विशेष तयारी भनेका छौँ । संगठनात्मक तयारी भनेका हौँ । त्यसमा मुख्य गरेर जिल्ला बैठक, इलाका र वडासम्मको बैठक गर्ने । अभियानलाई जिल्ला र पालिकाका बैठकलाई भन्दा वडालाई बढी महत्त्व दिएका छौँ । वडामा कार्यक्रम हुनुपर्‍यो । पालिकाको बैठक राखेर आएँ भनेर त्यसले सुख पाएन ।

अर्को भनेको स्थानान्तरण हो । अघिल्लो पटक जहाँ थियो, त्यहाँ अभियान चलाउने भन्यौँ । अहिले चाहिँ हामीले केन्द्रबाटै तीनवटै निकायलाई निर्देशन गर्‍यौँ । एउटा पदाधिकारीहरु देशैभरि जहाँ पनि जान तयार हुनुपर्ने, दोस्रो भनेको स्थायी समिति र केन्द्रीय समिति जिल्ला अन्तर्गत हुनुपर्ने । तेस्रो, प्रदेशका सदस्यहरु पालिका अन्तर्गत हुनुपर्ने । यो तीन वटा निर्णय केन्द्रबाट गरियो ।

बाँकी स्वायत्त जिल्ला र पालिकाले गर्ने भनेको हुनाले अहिले देशैभरि हाम्रो तयारीचाहिँ तीब्र गतिमा तोकिएको समयसीमाभित्र सबै सक्नेगरी भइरहेको छ । आजसम्मको रिपोर्ट अनुसार करिबकरिब वडाहरु पनि दुर्गमबाहेक सुगममा उद्घाटनको तयारी सकिएको छ । यसको उद्घाटन अध्यक्षले १६ गते १ बजे चन्द्रागिरिको २ नम्बर वडाबाट गर्नुहुन्छ । देशैभरि त्यो लाइभ जान्छ र जहाँजहाँ नेटको सुविधा छ, त्यहाँ जोड्न सकेको खण्डमा हुन्छ । फेसबुक वा टिभीबाट हुन्छ ।

यसमार्फत हामीले देशैभरि कनेक्ट गर्छौं र त्यसलाई उद्घाटन मान्छौँ । जहाँ कनेक्ट भएन, त्यहाँ त्यहीँको प्रमुखले उद्घाटन गर्छ । त्यसपछि प्रत्येक दिन वडामा कहाँ के काम भयो भन्ने कुराको अनुगमनको रिपोर्ट केन्द्रमा आउँछ । यसरी हामीले तयारी गरेका छौँ ।

वडाको सन्दर्भमा अध्यक्ष प्रचण्डको भागमा मोरङको मिक्लाजुङ गाउँपालिकाको ५ नम्बर वडामा परेको छ । सात प्रदेशमा ७ वडा । सबै नेताको एकएक वटा वडा छ । १६ गते विराटनगरको १८ नम्बर वडामा हामी केन्द्रित हुन्छौँ । त्यो वडामा मेरो जिम्मा छ ।

तपाई पूर्व (कोशी प्रदेश)मा इन्चार्जको जिम्मेवारी लिएर आउनु भएको छ । यसअघि पनि तपाईले पूर्वमा के कस्तो जिम्मेवारी पाउनु भएको थियो ?

– म पूर्वमा नयाँ होइन । जनयुद्धको अन्तिम चरणमा (चुनवाङ बैठकपछि) चार जना डेपुटी कमाण्डरको जिम्मा दिँदा म पूर्व आएको थिएँ । म ०५९ सालसम्म पूर्वमै रहेँ । पहिलो र दोस्रो डिभिजनको कमाण्ड मैले गरेको थिएँ । त्यसबेला घोडेटार, सर्लाहीको मलंगवा, इलाम सदरमुकाम आक्रमण र झापाको सुरुङ्गामा भएको फौजी लडाइँ मेरै कमाण्डमा भएको थियो । अन्तिममा विराटनगर कब्जाको लागि नक्सा बनाउने काम मेरै नेतृत्वमा भइरहेको थियो । विराटनगरमै बसेर नक्सा बनाइरहेको थिएँ ।

कोशी प्रदेशमा तुलनात्मक हिसाबले एमाले धेरै बलियो छ । कांग्रेस पनि सशक्त छ । माओवादीको अवस्था विगतभन्दा धेरै खस्केको छ । राप्रपाभन्दा पनि माओवादी समानुपातिक मतमा पछाडि छ । अहिलेको अभियानले माओवादीलाई पहिलेकै अवस्थामा पुर्‍याउन सक्छ ?

– यो कुरा सही भन्नु भयो । अहिलेको हाम्रो अवस्था हेर्दा तपाईंले भनेअनुसारकै पोजिसन हो । केही जिल्ला अहिले पनि सांगठनिक हिसाबले ठिकै मानिएको छ । केही जिल्लामा खस्किएको स्थिति हो । एउटा कुरा के हो भने हामी मुख्यतः लाइनमा क्लियर हुनुपर्छ । के भएको हो भने हाम्रो पार्टीमा विभाजन हुँदा अलि लाइन लिडरसिप सम्बन्धी विभिन्न बुझाइ रहे । त्यसले गर्दा हाम्रो भत्केको र भड्केको अवस्था रहेछ । त्यसकारण हामीले पहिलो कुरा लाइन क्लियर गर्नुपर्ने देखियो । केही समय यही सरकार मार्फत जाने हो । त्यसैलाई स्ट्रोङ्गली लानुपर्छ । म पुरानो ०६४ पनि भन्दिन । एक पटक माओवादी भएर परिवर्तनको लागि लडेका आन्दोलनरत र समर्थक, शुभचिन्तकलाई एक ठाउँमा ल्याउन सकियो भने माओवादी पुरानो ठाउँमै आउन सक्ने अवस्था देखेँ । अहिले चाहिँ खस्केकै रहेछ । त्योचाहिँ देशैभरि पारेको प्रभाव पनि हो । पूर्वलाई मात्रै दोष दिनु पनि हुँदैन । अन्यत्र पनि त्यही अवस्था हो । तर, जे होस्, हामीले फेरि पुरानो ठाउँमा फर्काउनलाई मेहनत गर्र्नैपर्ने देखिन्छ ।

सरकारले पनि भ्रष्टाचार र सुशासनको विषयमा एक्सन गरेको देखिन्छ । त्यस विषयमा लोकप्रियता नै पाइरहेको छ । यही सन्दर्भमा अभियान चलाउन पुराना समर्थक, शुभेच्छुक मानिस र नयाँ पुस्तामा पनि केही आकर्षण हुने देख्नुभएको छ ?

– नयाँ पुस्तामा नयाँ कार्यक्रम अझै चाहिन्छ । हामीले सैद्धान्तिक कुरा गरेर नयाँ पुस्ता माओवादीमा आकर्षित हुँदैन । नयाँ पुस्ता आकर्षित गर्नका लागि सरकारले नै बढी भूमिका खेल्नुपर्छ । सरकारबाटै उनीहरुलाई ठिक सम्बोधन हुनुपर्‍यो । कमसे कम स्वास्थ्य, शिक्षा र रोजगारमा नयाँ थालनी हुनुपर्‍यो । अहिले नै कायापलट हुँदैन । तर, नयाँ थालनी हुनुपर्‍यो । अनि कृषिलाई बढावा दिएर रोजगारी सिर्जना गर्ने वातावरण बन्यो भने नयाँ पुस्ता आकर्षित हुने हो । त्यस्तै पुरानालाई पनि नयाँ ढङ्गले जोड्नु पर्छ ।

माओवादी नयाँ ढङ्गले उठ्यो भन्ने हिसाबले अभियान लानुपर्छ भनेर कुरा गरेका छौं । त्यसो गर्दा नयाँ पुस्ता जोड्नलाई ऐतिहासिक परिवर्तनमा माओवादीको भूमिका हो भन्ने कुरा स्थापित गर्ने र सरकारबाट नयाँ कार्यक्रमहरु दिनुपर्छ ।

माओवादीहरु शान्ति प्रक्रियायता बढी सहर केन्द्रित भए । सुख सुविधा उपभोग गर्नेहरु नै बढी छन् । गाउँ बिर्सियो, सहिद परिवार बिर्सियो भन्ने आलोचना छ । यथार्थ पनि त्यस्तै देखिन्थ्यो । अहिले तपाईंहरुले चलाइरहेको अभियानमा ती सुख सुविधा भोग गरेका नेताहरु तीन महिनासम्म टिकेर गाउँमै अभियान चलाउँछन् जस्तो लाग्छ तपाईंलाई ?

– विकाससँगै वस्तुको उपभोग भन्ने कुरा मान्छेले जहाँसुकै पनि गर्छ । सबै जोगी भएर हिँड्दा कायापलट हुन्छ भन्ने बुझाइ नै गलत हो । तर, एउटा कुरा के हो भने राष्ट्रको अहिलेको हाम्रो अर्थतन्त्रलाई हेर्दा हाम्रो अहिलेको पुस्ताले दुःख नगर्ने हो भने अर्को पुस्ता बन्दैन । त्यसो हो भने हामीले हाम्रो लाइन, लिडरसिप अनुसार राम्रो गरिकन जनतामा जानुपर्छ । साँच्चै आवश्यकताभन्दा बढी माओवादीले गरेको हो कि भन्ने जनताको गुनासो छ । जनताको अपेक्षा यति धेरै सुविधाभोगी माओवादी नहोस् भन्ने नै थियो । तर, माओवादीहरु त्यस्तो देखिएकै कारण हाम्रोभित्र अलिक धेरै बहस चलिरहेको छ अहिले । हामी त्यसलाई सुधार गरेर अगाडि बढ्छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप