बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

जेनजी पुस्तालाई वर्षमान पुनका तीन सुझाव

बिहीबार, ०१ जेठ २०८२, १२ : ४३
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेनेरेसन जेड (Gen Z) पुस्तालाई नेतृत्वमा आउन आह्वान गरे।
  • पुनले डिजिटल प्रविधिको सही प्रयोग गर्न र यसका नकारात्मक प्रभावबाट टाढा रहन जेनजीलाई सुझाव दिए।
  • कार्यक्रममा विद्यार्थी एकता दिवसको अवसरमा फुटसल प्रतियोगिता आयोजना गरिएको थियो, जसमा जेनजी पुस्ताको सक्रियता रहेको थियो।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले डिजिटल प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किएको जेनेरेसन जेड अर्थात् (जेनजी) पुस्ता नेतृत्वमा आउनुपर्ने बताएका छन् ।  विद्यार्थी एकता दिवसका अवसरमा पार्टी सम्बद्ध अखिल क्रान्तिकारी काठमाडौँ महानगर समितिद्वारा बिहीबार राजधानीमा आयोजित फुटसल प्रतियोगिता उद्घाटन गर्दै पुनले जेनजी पुस्ताले राजनीतिमा नेतृत्व विकास गर्नुपर्ने बताएका हुन् ।

त्यसका लागि राजनीतिक दलहरूले पनि वातावरण बनाइदिनुपर्ने उनको भनाइ थियो । पुनले जेनजीलाई नेतृत्वमा ल्याउने प्रयास स्वरूप आफ्नो दलले ३० वर्षभन्दा कम उमेर समूहका विद्यार्थीलाई क्रान्तिकारीको नेतृत्वमा ल्याएको पनि उल्लेख गरे । जेनजीलाई नेतृत्वमा ल्याएकै कारण हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा क्रान्तिकारीले काँग्रेसको नेविसंघ र एमालेको अनेरास्ववियू हाराहारी हैसियत बनाउन सफल भएको पुनले उल्लेख गरे । 

‘जेनजी माओवादी केन्द्रले विद्यार्थी सङ्गठनको नेतृत्व जेनजीको हातमा दिएर क्रान्ति गरेको छ । जेनजीको हातमा नेतृत्व जानु आफैँमा क्रान्ति हो । स्ववियुमा क्रान्तिकारीले राम्रो परिणाम निकाल्नुको कारण जेनजीमा नेतृत्व जानु हो,’ पुनले भने । 

डिजिटल प्रविधिमा अब्बल देखिएको जेनजी पुस्तालाई उनले केही सुझाव पनि दिए । डिजिटल प्रविधिले ल्याएका खराब प्रवृत्तिबाट टाढै रहन तथा इतिहास, प्रकृति र समाज बुझ्न पुनले आग्रह गरे । 

‘जेनजी भनेको सूचना प्रविधिको प्रयोग गरिरहेको पुस्ता हो । डिजिटल प्रविधिका धेरै फाइदा हुँदाहुँदै पनि व्यक्तिलाई समाजबाट अलग गराउने खतरा छ । डिजिटल दुनियाँमा अनगिन्ती सूचना छ । कुन सूचना सही र कुन कुन गलत भन्ने फिल्टर गर्न सक्नुपर्छ’, पुनले भने,  ‘समयमै सचेत नहुने हो भने समाजलाई नै गलत बाटोमा ‘ड्राइभ’ गर्न सक्ने खतरा हुन्छ । डिजिटल प्रविधिले मानिसलाई प्रकृति र समाजसँग अलग बनाउने खतरा पनि उत्तिकै छ । संसारभर प्रकृतितिर र समाजतिर फर्किनुपर्छ भन्ने लहर पनि सुरु भएको छ ।’  

कार्यक्रममा अतिथि र क्रान्तिकारीका पदाधिकारी टिमबिच मैत्रीपूर्ण प्रतियोगितासमेत भएको थियो ।  पञ्चायती व्यवस्थाविरुद्ध विभिन्न माग राखेर २०२१ साल जेठ १ गते विद्यार्थीहरूले राजधानीमा विशाल प्रदर्शन गरेका थिए । तत्कालीन पञ्चायती सरकारले आन्दोलन दबाउन ठुलो दमन गर्नुका साथै धेरैलाई पक्राउ गरेर थुन्यो । तर, विद्यार्थी आन्दोलन रोकिएन ।

थप सशक्त बनेको विद्यार्थी आन्दोलनका अगाडि झुकेर पञ्चायती सरकार क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) खोल्न पाउनेसहित अधिकार दिन बाध्य भयो । सोही दिनको सम्झनामा हरेक वर्ष जेठ १ लाई विद्यार्थी एकता दिवसका रूपमा मनाउने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप