शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपा नेताको ज्यादती : मिटरब्याज ऋण चुक्ता गर्न दलित समुदायमाथि निर्घात कुटपिट

सोमबार, १८ भदौ २०८०, १६ : ०५
सोमबार, १८ भदौ २०८०

जनकपुरधाम । प्रहरीकै संरक्षणमा धनुषामा एक दलित समुदायकी आमा छोरालाई कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको आरोप लगाइएको छ । धनुषा सबैला नगरपालिका–३ की कौशिल्या देवी दास तथा भरोसी दासलाई निर्घात कुटपिट गरी घाइते बनाइएको हो । 

कौशिल्या र भरोसी आमा–छोरा हुन् । घाइतेहरूको जनकपुरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

लोसपाका स्थानीय नेता रामचन्द्र जयसवाल ‘भठ्ठीबला’बाट उनीहरुलाई कुटपिट गरी ज्यान मार्ने प्रयास गरेको आरोप लगाइएको छ । आरोपित जयसवाल लोसपाबाट सबैला नगरपालिकामा मेयरका प्रत्याशी थिए ।

भदौ १५ गते राति ९ बजेतिर जयसवालको मदिरा भठ्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास लगायत ७÷८ जनाको समूहले रामचन्द्र जयसवालको नेतृत्वमा सांघातिक आक्रमण गरेको पीडित पक्षले बताएको छ ।

मिटरब्याजीको आरोप लागेको जयसवालसँग छोरीको विवाह गर्न दासले ५ लाख ऋण लिएका थिए । ऋण लिएको दुइ वर्षमै २०७९ मंसिर १६ गते ५ लाख फिर्ता गरेपनि विपक्षी जयसवालले पुनः ७ लाख ५३ हजारको तमसुक बनाएको पीडितले बताइन् । 

सोही ऋण तिर्न हाल घर बनाएर बसिरहेको घडेरी बेचेर ऋण पनि तिर्ने र सबैलामै अर्को ठाउँमा सस्तोमा जग्गा खरिद गरी घर बनाएर बस्ने योजनामा रहेकी कौशिल्या देवीलाई सो जग्गा आफूलाई ऋणवापत दिन केही समयदेखि जयसवालले दबाब दिइरहेको बताइन् । 

दबाब थेग्न नसकेपछि कौशिल्याले आफ्नो जग्गा जयसवाललाई नै दिन तयार भइन् । तर, जयसवालले चलनचल्ती दररेटमा पर्ने ८० लाखको जग्गा ५० लाखमा दिन भने । कौशिल्याले ५० लाखमा उक्त जग्गा नबेचेपछि सो जग्गा अरुलाई बेच्न पनि नदिएको र उनले चलनचल्ती भाउमा नकिनेर पटक पटक यातना दिइरहेको कौशिल्याको आरोप छ ।

जयसवालको योजनामा आफ्नै मदिरा भठ्ठीमा काम गर्ने श्याम यादव, विन्दी यादव, जोगिन्द्र दास र अन्य तीन जनासमेत गरी ७÷८ जनाको समूहले कौशिल्याको छोरा भरोसीलाई घरबाट तानेर सडकमा लगी निर्घात कुटपिट गरे । भरोसी बेहोस भएको अवस्थामा छोरालाई बचाउन पुगेकी कौशिल्यालाई पनि लोसपा जयसवालले कुपिट गरे । 

कुटपिटबाट कौशिलयाको संवेदनशील अङ्गमा गम्भीर चोट लागि रक्तस्राव सुरु भएपछि गाउँलेको सहयोगमा उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सबैला पठाइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि जनकपुर पठाइयो ।

घटनाको तीन दिन बितिसक्दा पनि घटनास्थलबाट पाँच सय मिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी मुकदर्शक बनेको पीडित परिवारको आरोप छ ।

उक्त कुटपिटको विषयमा आफूहरूलाई कुनै जानकारी नभएको इलाका प्रहरी कार्यालय सबैलाका सई सुनकाजी तामाङले बताए ।

जबकि कुटपिटपछि पीडक जयसवालले नै प्रहरीलाई बोलाएका थिए । पीडित कौशिल्या भन्छिन्,‘रामचन्द्रले प्रहरी कार्यालयका असई धर्मानन्द मण्डललाई बोलाएर थुन यो आमा छोरालाई भन्यो । तर, प्रहरीले पीडित हामी आमा छोरालाई रगत बगेको हेर्दा केही गरेन । नभए प्रहरीले पनि हामीलाई नै भ्यानमा हाल्न प्रयास गरिरहेको थियो ।’

प्रहरीले चोटपटक लागेर रगत बगेको कोशिल्याको छोरालाई प्राथमिक उपचार पनि गराएको थियो ।

अवैध मदिराको भट्टीसमेत सञ्चालन गरेको जयसवाल प्रहरीलाई प्रभावमा पारेको पीडितको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप