बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पोखरा–जोमसोम रुटमा मौसमसम्बन्धी क्यामेरा जडान गर्न आविष्कार केन्द्र र प्राधिकरणबीच सम्झौता

मङ्गलबार, १९ भदौ २०८०, १४ : ३७
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनीय बनाउन पोखरा जोमसोम बीचको भागमा पर्ने हवाई रुटमा मौसमसम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्न राष्ट्रिय आविष्कार केन्द्र र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार राष्ट्रिय आविष्कार केन्द्रले पोखरा जोमसोम रुटमा पर्ने माहुरेडाँडा, कुटुका र लेतेमा मौसमी जानकारी दिने क्यामेरा जडान गर्नुपर्नेछ । जडानको लागि प्राविधिक सहयोग राष्ट्रिय आविष्कार केन्द्रबाट प्रदान गरिनेछ । जडानको दौरान क्यामरा लगायत सम्पूर्ण सामान तथा जडान खर्च र जडान पश्चात् नियमित सञ्चालनको लागि लाग्ने सम्पूर्ण खच समेत नेपाल नागरिक उड्डयन प्राधिकरणले वहन गर्ने सम्झौतामा उल्लेख छ ।

जडान गर्नुपर्ने स्थानहरूमा जडान गर्नु पूर्व नै आविष्कार केन्द्र तथा प्राधिकरणको प्राविधिकहरूबाट सर्भे गर्नु पर्नेछ । सो सर्भे गर्दा लाग्ने खर्च प्राधिकरणले बहन गर्नेछ । त्यस्तै मौसमी क्यामेराहरू जडान गर्दा सिम कार्ड प्रयोग गरेर पठाउने डाटालाई आवश्यक पर्ने डाटा प्याकेज नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउनेछ ।

जडान भएका मौसमी क्यामेरामा प्राविधिक गडबडी भई सेवा सुचारु नभएको अवस्थामा सो सेवा सुचारु गर्न आवश्यक पर्ने मर्मत, प्राविधिक सेवा लगायतका सम्पूर्ण कार्य राष्ट्रिय आविष्कार केन्द्रले गर्नुपर्नेछ । सो सेवा सञ्चालन बापत लाग्ने खर्च प्राधिकरणले व्यहोर्नेछ ।

मौसमी क्यामेरामार्फत प्राप्त मौसमी विवरणहरूको विश्वसनीयता र प्रामाणिकताको सुनिश्चितता राष्ट्रिय आविष्कार केन्द्रको हुनेछ । राष्ट्रिय आविष्कार केन्द्रले मौसम सम्बन्धी जानकारी लिन पोखरा नागरिक उड्डयन कार्यालय र जोमसोम नागरिक उड्डयन कार्यालयमा युजर आइडी र पासवर्ड सहितको डिस्प्ले सिस्टम जडान गरी सो को सञ्चालन सम्बन्धी प्राविधिक प्रशिक्षण उपलब्ध गराउने छ ।

राष्ट्रिय आविष्कार केन्द्रबाट पोखरा जोमसोम हवाई रुटका विभिन्न स्थानमा जडान गरिएका मौसमी क्यामेराहरू बिहान सूर्योदय देखि बेलुकी सूर्यास्त सम्म सञ्चालनमा रहनेछ । पोखरा जोमसोम वृत्तमा मौसमी क्यामेरा जडान गर्न तथा अन्य अपरेसनलसमेत प्रयोग गर्नु पर्ने अवस्था आएमा साथै जडान पश्चात् पनि नेपाल टेलिकमका टावर प्रयोग गर्नुपर्ने भएमा त्यसको समन्वय नागरिक उड्डयन प्राधिकरणले गर्नेछ ।

369260760_1490131318404804_4155017049266993065_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप