शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेशसभा बैठक २९ गतेसम्मका स्थगित

आइतबार, २४ भदौ २०८०, १७ : ५६
आइतबार, २४ भदौ २०८०

मकवानपुर ।  बागमती प्रदेशसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरिएको छ । आइतबार दिउँसो बसेको प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गर्दै २९ गतेसम्मका लागि स्थगित गरिएको हो ।

बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले २९ गते १२ः३० बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेशसभाका पूर्व सदस्य डा। राजाराम कार्कीको निधन प्रति शोक प्रस्ताव पारित गरेको थियो । स्वर्गीय कार्की २०७४ मा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । क्यान्सर रोगको संक्रमणबाट केही दिन अघि कार्कीको निधन भएको थियो । उनको उपचारको क्रममा निधन भएकोमा प्रति प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गरेको हो । सोही अवसरमा उनीप्रति प्रदेशसभाका सदस्यहरूले १ मिनेट मौन धारण व्यक्त गरी श्रद्धा अर्पण गरिएको थिए ।

त्यस्तै प्रदेशसभाको सो बैठकमा ३ वटा विधेयकमाथि छलफल सैद्धान्तिक छलफल भएको थियो । प्रदेशसभाको बैठकमा सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।

यसैगरी, उक्त बैठकमा स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए भने  बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपन्छी विकास मन्त्री डा। राजेन्द्रमान श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव टेबुल गरेका थिए ।

उक्त बैठकमा कानुन मन्त्री श्रेष्ठले प्रस्तुत गरेको सञ्चार माध्यम व्यवस्थापन एेन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक बाहेक तीन वटा विद्येयकको सैद्धान्तिक पक्षमा छलफल भएको थियो । उक्त छलफलको क्रममा प्रदेशसभाका सदस्यहरूले सरकारलाई विधेयक माथि थप विषय वस्तुहरू समावेश गरी परिमार्जन गर्न सुझावहरू दिएका थिए । उक्त बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए ।

नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सांसदहरूले उठाएको प्रश्नका विषयमा जवाफ दिँदै प्रदेशका सामाजिक विकास मन्त्री मोक्तानले उच्च शिक्षालाई गुणात्मक दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा स्थानीय विद्यालयहरूलाई विज्ञान र गणित विषयमा शिक्षकहरू दरबन्दी उपलब्ध गराउने ऐन महत्त्वपूर्ण साबित हुने बताइन् । उनले मेडिकल क्षेत्रलाई विस्तार एवम् परिमार्जन गरी स्वास्थ्य क्षेत्रलाई जनताको पहुँचमा पुर्याउन सरकारले उच्च प्राथमिकताको साथ योजना कार्यान्वयन गर्दै लैजाने बताइन् ।

उच्च शिक्षाकै क्रममा अनुसन्धानात्मक कार्यलाई नवप्रवर्द्धन तथा विकास कोष सञ्चालनबाट अनुसन्धानकर्ता र वैज्ञानिकहरूलाई शिक्षा, वनस्पति र चिकित्सक क्षेत्रलाई उत्पादनमूलक बनाउने कार्यलाई तीव्रता तुल्याउने लक्ष्य रहेको उनको भनाई छ ।

उक्त बैठकमा स्वास्थ्य मन्त्री जोशीले प्रदेशमा रहेका अस्पतालहरूलाई स्तरोन्नति गरी सबै नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउन ऐन संशोधन गर्नु परेको बताए । उनले भौतिक पूर्वाधार विकासलाई जोड दिइने र चिकित्सक र स्वास्थ्य कर्मीहरुलाई दक्षता हासिल गर्ने नयाँ प्रविधिको तालिम पनि उपलब्ध गराउँदै लैजाने नीति रहेको बताए ।

अस्पतालमा आएका सर्वसाधारण नागरिक र बालबालिकाहरूलाई उपचारको क्रममा भइरहेको विभेद र ढिलाइलाई अब अनुगमन र प्रत्यक्ष निगरानीबाट अन्त्य गरिने उनको भनाई छ । तत्काल उपचार सेवा पु¥याउनेतर्फ प्रदेश सरकारले छुट्टै निगरानी गर्ने र अस्पतालहरूको थप व्यवस्थित गरिने उनले बताए ।

सोही बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री डा‍.राजेन्द्रमान श्रेष्ठले प्रदेशको सबै जिल्लाहरूमा कृषकहरूको समस्यालाई पहिचान गरी उनीहरूलाई आधुनिक प्रविधिको तालिम दिलाउन ऐन आवश्यक रहेको बताए । उनले कृषि उत्पादन गर्ने क्रममा खाद्यान्न, तरकारी, फलफूल उत्पादनलाई व्यावसायिक रूपमा अगाडि बढाउन प्रदेश सरकारले कृषिमा नयाँ विधेयक ल्याइएको बताए । कृषि उत्पादनको मूल्य निर्धारण तथा शित भण्डारणको व्यवस्थापन गर्ने र विदेशबाट आयात हुने कृषि उत्पादनको नियन्त्रण लगायतका विषयमा प्रदेश सरकारसँग पनि समन्वय गरी अघि बढाइने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप