मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

दुःख छिपाउने मेरा बा

बिहीबार, २८ भदौ २०८०, ११ : ०६
बिहीबार, २८ भदौ २०८०

बा हातमा के भएको
तिमीले खान नमिल्ने ऐँसेलु फलेको छोरा भन्दै
दुःख छिपाउनु भयो ।

बा, साहुकाजी आज बिहानै किन हाम्रो घर आको
अनि हजुरसँग किन झर्किंदै बोल्दै थियो
तिमीले कति पढेऊ भनेर हेर्न आ’को बाबु
आज पनि बुवाले दुःख छिपाउनु भयो ।

बा मलाई नयाँ लुगा किन्दा आफूलाई
किन नकिन्नु भएको ?
‘मलाई पुरानो लुगा मन पर्छ बाबु’
फेरि दुःख छिपाउनु भयो ।

बाले दुःख छिपाएरै सुखबाट वञ्चित भइरहनुभयो
मलाई जिताउन आफू हारिरहनु भयो
हातमा उठेका ठेलालाई
ऐँसेलु भन्नुभयो
साहुले गाली गर्दा सहनुभयो
मलाई नयाँ लुगा किनेर आफू
पुरानै लुगामा चित्त बुझाउनुभयो

आज बुवा प्रश्न गर्नु हुन्छ–
छोरा गाउँ कहिले आउँछस् ?
तर म यथार्थ लुकाउँदै जवाफ दिने गर्छु
छिट्टै आउँछु बुवा !

दार्चुला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहन भट्ट
मोहन भट्ट
लेखकबाट थप