बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे

बिहीबार, ०७ साउन २०८३, १८ : ०४
बिहीबार, ०७ साउन २०८३

सारांश

  • भीष्मराज आङ्देम्बेले बी.पी. कोइरालाको तस्बिर भित्तामा झुण्ड्याएर श्रद्धाञ्जली व्यक्त गर्ने परम्पराभन्दा माथि उठेर उनको विचारलाई चिन्तन र व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताएका छन् ।
  • उनले नवीन परिस्थितिमा नेपाली कांग्रेससँग जनताले वैचारिक रूपान्तरण र नयाँ सङ्कल्प र अभियानको अपेक्षा गरेको बताए ।
  • आङ्देम्बेले पार्टीभित्र र बाहिरको राजनीतिमा विवेक र तर्क कमजोर हुँदै गएको टिप्पणी गर्दै राजनीति सेवा र त्यागको माध्यम बन्नुपर्नेमा जोड दिए ।

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बी.पी. कोइरालाको तस्बिर भित्तामा झुण्ड्याएर श्रद्धाञ्जली व्यक्त गर्ने परम्पराभन्दा माथि उठेर उनको विचारलाई चिन्तन र व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

उनले नवीन परिस्थितिमा नेपाली कांग्रेससँग जनताले औपचारिक भाषणभन्दा पनि वैचारिक रूपान्तरण र नयाँ सङ्कल्प र अभियानको पनि अपेक्षा गरेको बताए ।

‘बी.पी.को तस्बिरलाई सदैव भित्तामा झुण्ड्याएर हेरेको हिजोको राजनीति थियो । त्यो बी.पी.लाई भित्तामा झुण्ड्याएर देख्दै आएको हिजोको राजनीतिलाई चिन्तनमा र व्यवहारमा रुपान्तरित गर्ने कहिले ? यो प्रश्न निरन्तर उठेको पनि हो,’ उनले बी.पी. स्मृति दिवसमा भने, ‘त्यसकारण यो नवीन परिस्थिति, सङ्कल्प र अभियानमा हामीले बी.पी.लाई भित्तामा होइन, उहाँको चिन्तनलाई व्यवहारमा उतारेर सार्वजनिक गर्नु छ ।’

विगतमा बी.पी. स्मृति दिवस र जयन्ती औपचारिकतामा सीमित भएको भन्दै अब त्यसलाई विचारको अभियानमा बदल्नुपर्ने उनको भनाइ थियो ।

‘हिजो बी.पी.को हरेक स्मृति दिवस र जयन्ती औपचारिकतामा सीमित हुन्थ्यो । एक दिन एक शब्द बोलेर वर्षभरी आनन्दले निदाउने त्यो खालको निरन्तरता थियो,’ उनले भने, ‘अब औपचारिकतामा होइन, चिन्तनको नयाँ धारा बनेर सार्वजनिक हुनुपर्दछ र त्यसलाई नेपाली कांग्रेसको नेतृत्वले, केन्द्रीय कार्य समितिले बोकेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिमाल, पहाड, तराई मधेस भित्रसम्म पुर्‍याउनुपर्छ ।’

आङ्देम्बेले अहिलेको समयले कांग्रेससँग सामान्य भाषणभन्दा पनि ऐतिहासिक निर्णयको अपेक्षा गरेको बताए ।

‘अहिलेको समयले नेपाली कांग्रेसलाई एक थान भाषण होइन, गम्भीरतापूर्वक एउटा ऐतिहासिक निर्णय गर भनिरहेको यो कुरालाई हामीहरूले बुझ्नुपर्दछ,’ उनले भने ।

उनले पार्टीभित्र मतभेद स्वाभाविक भए पनि विवाद र आक्रोशले सङ्गठनलाई कमजोर बनाउने बताए। 

‘एउटा जीवन्त पार्टीमा मतभेदहरू हुन सक्छन् । पार्टीमा छलफल र बहसहरू हुन्छ । वाद प्रतिवाद हुन्छ । तर, जब विवाद आक्रोशमा झाँगिँदै जान्छ । झाँगिँदै गएका विवादहरूले पार्टीलाई समाप्त गर्दै लान्छ, पार्टीको गतिशीलतालाई समाप्त पार्छ,’ उनले भने । 

सत्ताको अङ्कगणितले कांग्रेसको वैचारिक धरातल कमजोर बनेको उनको भनाइ थियो ।‘बी.पी.ले ५० वर्षअघि भन्नुभएको थियो कि राष्ट्रियताको रक्षा र प्रजातन्त्रको प्राप्ति एक आपसको पूरक हो । यो नेपाली कांग्रेसले अपनाएको मेलमिलापको नीतिसँग सम्बन्धित थियो,’ उनले भने, ‘तर, आज नेपाली कांग्रेसको त्यो समाजवादी दर्शन र विचार सत्ता प्राप्तिको अङ्क गणितले किचिएर, थिचिएर, समाप्त भएको देख्ने साक्षी पनि हौँ । तपाईं हामी साक्षी हौँ ।’

आङ्देम्बेले पार्टीभित्र र बाहिरको राजनीतिमा विवेक र तर्क कमजोर हुँदै गएको टिप्पणी पनि गरे ।‘जब विवेक हराउँछ, त्यो बिस्तारै अहङ्कारमा परिणत हुँदो रहेछ । जब तर्क हराउँछ, त्यो तर्क बिस्तारै गालीमा परिणत हुँदो रहेछ, त्यो पार्टीभित्र र बाहिर दुवैतिर छ,’ उनले भने ।

उनले राजनीति सेवा र त्यागको माध्यम बन्नुपर्नेमा जोड दिए । नाफा–घाटाको हिसाबले राजनीति गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

‘इमानदार कार्यकर्ता कुन कुनामा छन् ? थाहा छैन । वरिपरि घुम्नेहरूलाई खोजिन्थ्यो । हेरिन्थ्यो । आफ्नो वरिपरिकालाई खोज्ने प्रवृत्ति त्यो हिजो नाफा र घाटाको दृष्टिबाट हेरिएको राजनीतिमा थियो,’ उनले भने, ‘तर, आजको राजनीति लगानीकर्ताको लेखाजोखामा होइन, हामीहरूले आजको राजनीतिको यथार्थ धरातल यिनै कार्यकर्ताहरू, यिनै निमुखा श्रमजीवी, किसान, मजदुरहरू हुन् । त्यहीँ ठाउँबाट हामीले आजको राजनीति हेर्नुपर्छ ।’

उनले कांग्रेसलाई नवीन परिस्थितिमा, नवीन सङ्कल्पसाथ नवीन अभियानमार्फत अघि बढाउनुपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप