शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
बडि बिल्डर

बडि बिल्डर पत्रकार रञ्जित : लकडाउनले मोडियो जीवनशैली, दिलाए देशलाई पदक

बिहीबार, २८ भदौ २०८०, १९ : ०२
बिहीबार, २८ भदौ २०८०

धनगढी । कोरोना महामारीपछि जारी लकडाउनका कारण धेरैको नियमित रोजीरोटी खोसियो । व्यापार व्यवसाय चौपट भयो । देशकै अर्थतन्त्रमा मन्दी छायो । तर, लकडाउनसँगै आफ्नै जीवनशैलीमा परिवर्तन गरेका कञ्चनपुर पुनर्वासका रञ्जित लामाको करियर भने चम्किन पुगेको छ । 

लामा धनगढीमा बसेर हेल्लो पुनर्वास दैनिक सम्पादन गर्थे । २०७६ ताका कोरोना महामारीपछि लकडाउन जारी भयो । यताउति डुल्न नपाइने भएपछि उनी घरमै बसेर शारीरिक स्वास्थ्यको लागि व्यायाममा जुटे । 

शारीरिक फिटनेसमा रुचि राख्ने उनी त्यसलाई निरन्तरता दिदै बडि बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट अर्थात् शारीरिक सुगठन खेलमा अनुवद्ध भए । 

लकडाउनपछि नियमित जिम क्लब पनि जान थाले । उनको खेलप्रतिको लगावले पाँच वर्षको अवधिमा उनी आफूलाई अब्बल खेलाडीको रुपमा उभ्याए । नेपालको प्रतिनिधित्व गर्ने अवसर पाए । अन्ततः एसियन गेममा नेपाललाई तेस्रो स्थान अर्थात् कास्य पदक दिलाउन सफल भए ।

‘कुनै पनि खेलाडीको अन्तिम प्रयास बिजेता बन्ने हुन्छ । मेरो प्रयत्न पनि त्यही थियो’, खेलको अनुभूति सुनाउँदै उनले भने, ‘देशको लागि खेल्न पाउँदा मलाई निकै गौरव अनुभूति भएको छ । अन्य देशका खेलाडीसँग अनुभव सटासाट गर्ने सुनौलो अवसर मिलेको छ ।’

काठमाडौंमा हालै सम्पन्न ५५ औ एसियन बडि बिल्डिङ एण्ड फिजिक्स स्पोर्ट च्याम्पेयिन २०२३ मा उनले नेपाललाई कास्य पदक दिलाएका हुन् ।

६३ केजी तौल तथा १७० सेन्टीमिटर माथि उचाइ समूहअन्तरगत उनले प्रतिस्पर्धा गरेका थिए । एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा सो प्रतियोगिता भएको थियो ।

भदौ १७ देखि २० सम्म काठमाडौमा भएको प्रतियोगितामा नेपालसहित भुटान, चीन, हङ्गकङ्ग, चीन, भारत, काजाखस्तान, मकाउ, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजिकिस्तान, उज्वेकिस्तान र भियतनाम गरी १७ देशको सहभागिता थियो । 

Ranjit Lama1

नामसँगै दाम पनि

पत्रकारितासँगै बडि बिल्डिङ एण्ड फिजिक्स स्पोर्टमा उनले व्यावसायिक रुपमा समेत लागिसकेको बताएका छन् । जसले नामसँगै दामसमेत पाउँदा उनी दंग छन् ।

उनले रातोपाटीसँग भने, ‘पहिलो कुरा त म आफ्नै लागि पनि शारीरिक कसरत गर्छु । सँगसँगै देशको लागि पनि गर्ने अवसर जुरेको छ । यसले मलाई नामसँगै दाम दिएको छ । पछिल्लो समय प्रशिक्षक भएर पनि काम गर्दैछु । दैनिक विहान ५ देखि १० बजेसम्म समय दिन्छु । जसबाट महिनामा ७० हजारसम्म कमाइ हुन्छ ।’

उनी धनगढीको क्याम्पस रोडस्थित पावर हाउस जिम र राजपुरस्थित जिन्दावाद जिममा दैनिक २ घण्टा प्रशिक्षण दिदै आएका छन् । १० बजेपछि पत्रिकाको दैनिक काममा फर्किन्छन् उनी ।

आर्थिक रुपमा जता फाइदा हुन्छ, उतै बढी समय दिए हुन्न ? भन्ने जिज्ञासामा उनले भने, ‘होइन, यहाँसम्म त मलाई पत्रकारिता पेशाले नै ल्याएको हो । पछिल्लो समयमा पत्रकारिता पेशामा गाह्रो भए पनि समाजको लागि पनि पत्रकारिता गर्ने हो । त्यो जारी रहन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप