आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनतासँग माओवादी : सिन्धुलीले सिकाएको प्रारम्भिक पाठ

आइतबार, ३१ भदौ २०८०, १४ : ३५
आइतबार, ३१ भदौ २०८०

सिक्ने र सुध्रिने अवसर
‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नाराका साथ भदौ १६ देखि देशैभरि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ जारी छ । जिल्ला अभियानका शीर्ष नेता उपमहासचिव हरिबोल गजुरेल एवम् छिमेकी जिल्ला र अन्य जिल्लाका ऊर्जाशील केन्द्रीय सदस्यहरु बमध्वज लामा, युवराज चौलागाई, उर्मिला लामा, केन्द्रीय आयोगका सदस्य मीना शर्मा, प्रदेश सदस्य प्रेम पुलामी ‘छिन्तु’, सिन्धुली जिल्लाका बागमती प्रदेश सदस्यहरु पानीराज बम्जन, दिलबहादुर बिक ‘विनोद’, मात्रिकाप्रसाद भट्टराई ‘वसन्त’, सुष्पा भुजेल, पदमबहादुर अस्थानी ‘शरण’, जानुका तिमल्सिना, इन्दिरा काफ्ले, शुभ गुर्मछान ‘सीमा’, अशोक पुलामी, शंकरमान घलान, तुलबहादुर माझी ‘जेबी’, विमर्श मोक्तान ‘प्रख्यात’, बज्रध्वज वाइवा, ज्वालाप्रसाद न्यौपाने ‘पुकार’, जिल्ला अभियान अनुगमनका संयोजक राधा तिमल्सिना, कमलामाई नगरपालिकाका अध्यक्ष शेरबहादुर कार्की, कमलामाईका उपाध्यक्ष तथा वाईसीएलका अध्यक्ष किरण लामा, खेलकुद महासंघका केन्द्रीय सदस्य बोमबहादुर स्याङताङसहित थुप्रै साथीहरु र सिन्धुली अभियान प्रमुखका रूपमा मैले यस अभियानलाई जनताको समस्या, आलोचना र सुझाव सुन्ने उत्कृष्ट अवसरका रूपमा उपयोग गरिरहेकै छौं । प्रारम्भिक अभियानमा हामी जहाँजहाँ पुगेका छौं, त्यहाँका जनताबाट आएका धारणाले हामीलाई मूल सन्देश महसुस गर्ने गरी नै पाठहरू सिकाएका छन् ।

कुनै पनि पार्टीको संगठनात्मक अभियान पार्टीलाई जनताबीच अझ जीवन्त बनाएर राजनीतिक–संगठनात्मक शक्ति आर्जन गर्नका लागि हो । तर, नेकपा माओवादी केन्द्रले यसलाई विशेष रुपान्तरण अभियान नै भनेको छ । यसको अर्थ हामीले जनताबीच गएर पार्टीलाई बलियो बनाउनु त छ नै, जनताका आलोचना र सुझावलाई शिरोधार्य गरेर रुपान्तरित पनि हुनु छ । अर्थात्, हामी केही बिग्रेको परिस्थितिबीच गुज्रिरहेका छौं, यसलाई सुधार गर्नु अपरिहार्य छ ।

प्रश्नका पहाड                                            

आफू बिग्रेको तस्वीर सार्वजनिक गरेरै अहिले हामी जनताबीच गएका हौं । त्यसैले जनताले र हामीलाई आलोचनात्मक माया गर्ने नागरिकका सबै क्षेत्र–तहले हामीले महसुस गरेका भन्दा पनि धेरै मसिनादेखि ठूला प्रश्नका पडाड हामीसामु खुलस्त गरिदिएका छन् । हिजो जनताको अधिकार र गुणात्मक समृद्धिका लागि हामीले नै खासखास बाचा गरेका थियौं । आज त्यसमा तलमाथि पर्‍यो, अब चाहिँ हामी रुपान्तरण हुन्छौ है भन्दै हामी नै जनताबीच आएका छौं ।

हामीले गरेका बाचामा कहाँ कमजोर भयौं, किन कमजोर भयौं ? हामीले त्यत्रो बलिदान गरेर ल्याएको समाजवाद उन्मुख संविधानले किन जनतालाई आकर्षित गरिरहेको छैन ? त्यसैले पहिलो प्रश्न त किन यसरी जनताप्रति बेसरोकार भयौ भनेर उठ्ने नै भयो । दोस्रो, जनताका दैनिक समस्या र सरोकारका मुद्दामा के पहल गर्‍यौ ? तेस्रो, जनताका जीविका र त्यसको स्रोतलाई दीर्घ तथा बैज्ञानिक बनाउन के भूमिका रह्यो ? चौथो, आफ्नै सरकार भएर पनि सेवा, वितरण र विकासलाई चुस्त बनाउन र त्यसको अपनत्व जनतालाई दिन किन सकिरहेका छैनौ ? हामीसामु जनताका खुल्ला प्रश्न छन् ।

377722858_1269006263806655_6337960212822953145_n

सरोकारका सानाठूला सन्दर्भ                    

वर्षा खेतीको समयमा पछिल्ला वर्षहरूमा मलको उत्कट अभाव हुँदै आएको थियो । प्रचण्ड नेतृत्वको सरकारले यस वर्ष भने समयमै मलको सञ्चिती गर्न सक्यो । तर, कमलामाई नगरपालिका र विभिन्न वडाका किसानले यस वर्ष पनि ब्ल्याकमा मल किन्नुपर्‍यो । वडा नम्बर ४, च्याङकोटका स्थानीय किसान राजकुमार रोकाले बिचौलिया र व्यापारीले मलमा कृत्रिम अभाव सिर्जना गरी नौ सय, हजार पर्ने एक बोरा मललाई दुई हजार, २२ सय तिर्न वाध्य बनाएको जानकारी दिनुभयो । ‘सदरमुकाम पर्ने नगरपालिकामा समेत यो हालत छ भने अन्यत्र के होला ?’ अर्का किसान एवम् टोल सुधार समितिका अध्यक्ष खड्गबहादुर रोकाले प्रश्न गर्नुभयो ।

अभियानकै क्रममा भिमानबाट तल्लो रानीवास जाने क्रममा हामी चढेको अटो चालकले तोकिएकै मूल्यमा मल किन्दा पनि प्रहरीले उल्टै तस्करी अभियोगमा निकै केरकार गरेर दुःख दिएको बताए । व्यापारीले मात्र होइन नेतादेखि प्रहरीसम्मले सेटिङ गर्ने गरेको र पुराना पार्टीबाट जनमुखी काम हुनै नसक्ने निराशा उनले व्यक्त गरे । वडा नम्बर १० मा माओवादी केन्द्रबाट सदस्य जितेका कपिल कार्कीले पनि मलमा कालोबजारी भएको यथार्थतालाई स्वीकार्नु भयो ।

तल्लो रानीवासमा पर्ने खिरखिरे खोलाको किनारमा बसोबास गर्ने जनताको समस्या त झन त्रासदीपूर्ण छ । ठूलो पानी आएमा बाढीले घर बगाउने हो कि भन्ने चिन्ताले यहाँका बासिन्दालाई निकै पिरोलेको स्थानीय पुराना कमरेड झ्याउला दनुवारले बताउनु भयो । माझी, दनुवारहरु धेरै रहेको यो बस्तीमा केही सरकारी, केही जनश्रमदानमा थोरै ठाउँमा तटबन्ध भएको छ । पछिल्लो समयमा तटबन्धका लागि बागमती प्रदेशकी सांसद सुष्पा भुजेलको पहलमा केही तारजाली ल्याइदिएकाले अहिले सामान्य काम अगाडि बढेको अर्का कमरेड मदन दनुवारले जानकारी दिनुभयो । यस अभियानमा प्रदेश सांसद भुजेल, कमलामाई नगरपालिकाका माओवादी केन्द्रका अध्यक्ष शेरबहादुर कार्की र म साथसाथै थियौं ।

यसै क्षेत्रमा भाद्र १६ गते अभियान उद्घाटनका क्रममा वृक्षारोपण गरिएको थियो । प्रदेश सांसद भुजेल र नगरपालिकाका अध्यक्ष कार्की लगायतका अगुवाको पहलमा भएको वृक्षारोपण कमरेड झ्याउलासहित स्थानीय जनताको पहलमा सफल भएको देखियो । बिरुवामा पानी तथा मल हाल्ने र बारबेर गर्ने काममा उहाँहरू नियमित खटिनुभएको छ । विरुवा बढेमा बाढी रोकिने आशामा उहाँहरू हुनुहुन्छ ।

ऋषि देवकोटा आजादको मात्र होइन दुर्गा सुवेदी र दलबहादुर रजन मगरको समेत (२०३७ सालमा निरंकुश पञ्चायतविरुद्ध लड्दा) शहादत भएको क्षेत्र हो यो । उहाँहरूकै सहयोद्धा तथा किसान नेता इन्द्रप्रसाद ढुंगेलले आजादलाई केपी ओलीको प्रधानमन्त्रीत्वकालमा राज्यले शहीद घोषणा गरे पनि सुवेदी र रजनलाई शहीद घोषणा गर्न ओलीले पूर्वाग्रह राखेको तीतो पोख्नुभयो । अर्का सहयोद्धा रसबहादुर कार्कीले पनि यसमा समर्थन जनाउनु भयो ।    

वीपी राजमार्गमा पर्ने ढुंग्रेवास बजारबाट करिब अढाई किलोमिटर माथि दलित र मगरसहित दर्जन बढी घरधुरी रहेको च्याङकोटको सानो वस्तीका अधिकांश जनता माओवादी समर्थक हुन् । तर, उनीहरूमा माओवादीको सरकार छ भन्ने कुनै अनुभूति देखिएन । यहाँका बालबालिका विद्यालय जान, आउन समेत डराउँछन् । जंगल भएका कारणले बाँदरले बच्चालाई आक्रमण गरिरहन्छ । बालबालिकालाई घर–विद्यालय आउजाउ गर्न एउटा गाडीको व्यवस्था हुनुपर्ने उहाँहरुको माग छ । तर, सडक भने कामचलाउ खालको मात्रै छ । प्रसिद्ध सिद्धबाबाको मन्दिर जोड्ने ट्रयाक बनाइए पनि गत वर्ष ढुंग्रेवास–च्याङकोट सिद्धबाबा सडकका लागि पचास लाख बजेट छुट्याएकोमा त्यहाँ खर्च नगरेर अन्यत्र नै रकमान्तर गरियो ।

यहाँका किसानले वर्षाैदेखि उपभोग गर्दै आएको जमिनको अस्थायी निस्सा दिन वडा अध्यक्षले इन्कार गरिरहेका छन् । माओवादीसँग गठबन्धन गरेर यहाँ नेपाली कांग्रेसले वडाअध्यक्ष जितेको छ । कमलामाई नगरपालिकाको प्रमुख समेत जितेको छ । तर, राजनीतिक पूर्वाग्रह साँधेर ‘माओवादीको काम’ नगरिएको गुनासो कमलामाई नगरपालिकाभरि नै छ । एक जना बृद्धाले त ‘हाम्रो बृद्धभत्ता माओवादी सरकारले खाँदैछ रे भन्ने हल्ला चलाएका छन्, हो र ?’ भनेर सोध्नुभयो । चुनावको बेलामा मत माग्न वाहेक नेताहरु कहिल्यै फर्केर नआएको गुनासो सबैको छ ।

वडा नम्बर २ को भद्रकालीमा चाहिं उत्पादनका लागि निश्चित पकेट एरिया तोकेर व्यवस्थित काम नगर्ने हो भने ऊर्जाशील युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न नसकिने आम बुझाइ र सुझाव छ । पार्टीका बैठकहरूमा पनि वन र विद्युत कार्यालयबाट पाएका दुःख अनि सडक लगायतका विकास कार्यमा भएका कमजोरी नियन्त्रणमा पार्टीको भूमिका कतै नपुगेको भनाइ सबैजसोको छ । किसानका दैन्दिनका समस्यामा पार्टी र मातहतका संगठनको उपस्थिति शून्य प्रायः भएको गुनासो पनि छ । जिल्ला पार्टीले जनताका समस्या के हुन्, विकासका प्राथमिकता के हुन् भनेर छुट्याउन नसक्दा जनतामा मात्र होइन, कार्यकर्तामा समेत निराशा बढेको छ । 

377674064_2048677718829534_5614175399781687691_n

रुपान्तरणबारेको यक्ष प्रश्न

भद्रकालीका पाका माओवादी अगुवा कमरेड ध्रुव श्रेष्ठको प्रश्नले हामीलाई धेरै गम्भीर बनाएको छ । ‘इमान्दार र निरन्तरका माओवादी कार्यकर्ता अब कस्तो रुपान्तरण हुनुपर्ने हो ? जनयुद्धमा समाहित हुन सक्नेहरू जनयुद्धमा सहभागी बन र नसक्नेहरूले समर्थन गर भने नेताहरुले । हामीले त्यही गर्‍यौं । निर्वाचनमा भाग लेओ भन्दा भाग लियौं । बहिष्कार गर भन्दा बहिष्कार गर्‍यौं । एमालेसँग मिलेर चुनाव लड्नुपर्ने भयो भन्दा मिल्यौं । काँग्रेसलाई भोट हाल्नुपर्ने भयो भन्दा हाल्यौं । अब रुपान्तरण होओ भनिएको छ, के रुपान्तरण हुने ? के गल्ती गरेका थियौं र हामी रुपान्तरण हुने ? हामीलाई जनयुद्धकालको ‘स्पिरिट’को माओवादी चाहिएको छ, देश र जनताको पक्षमा मर्न र मार्न तयार माओवादी चाहिएको छ । हामीलाई अर्काे रुपान्तरण चाहिएको छैन । हामीलाई पद, पैसा र सुविधा चाहिएको छैन । बस ! इमान्दार माओवादी हुनुपरेको छ ।’

जिल्लामा हिड्दा धेरै कार्यकर्ताहरुको ध्रुवको जस्तै प्रश्न छ, ‘जनतालाई, इमान्दार कार्यकर्तालाई सिकाउने माओवादी केन्द्रीय रूपमा आफैं चाहिँ सच्चिएको छ ? कि आफू सच्चिनै नपर्ने गरी जनता–कार्यकर्तालाई मात्रै सच्चिनु भन्दैछ ? सुनकाण्डमा माओवादी केन्द्रका माथिल्ला पंक्तिका नेता र तिनका परिवार जोडिदा पनि किन पार्टी आफैंले निलम्बन गरेर अनुसन्धान गर्दैन ? के यति गम्भीर विषयमा पार्टीका माथिल्ला तहका नेता र तिनका परिवार जोडिदा राज्यलाई अनुसन्धान गर्न लगाएर माओवादी पार्टी निरपेक्ष बस्न मिल्छ ?’ 

ध्रुव कमरेड र अन्य धेरै कमरेडहरुको प्रश्नको जायज र आधारभूत औचित्य के हो भने आजको दिनमा पनि माओवादी केन्द्र  संघ, प्रदेश र पालिका तीनवटै तहमा चाहने हो भने हस्तक्षेपकारी भूमिकाको स्तरमा छ । तर, योजनाबद्ध काम कतै छैन । समन्वयको गम्भीर अभाव छ । जनताका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने कुरामा भन्दा पार्टीकै इमान्दार कमरेडलाई निषेध गर्ने र उछिनपाछिन गर्ने गैरसर्वहारावादी संस्कार, प्रवृत्ति छ । जिल्लाका सार्वजनिक ‘फोरम’मा औपचारिक देखिने तर पार्टीलाई संस्थागत प्रणालीमा नलैजाने प्रवृत्तिले माओवादी थप खस्कदै गएको आन्तरिक गुनासो छ । कमसेकम कालाबजारीलाई नियन्त्रण गरेर जनतालाई तोकेको मूल्यमा सेवा तथा वितरण दिने, ठेकेदार–फाइदा केन्द्रित कमसल भौतिक विकासको अनुगमन गर्ने,  ठेकेदारलाई सम्झौता अनुसार काम गर्न बाध्य बनाउने र कुनै पनि सार्वजनिक निकायबाट हुने बेथितिमा चनाखो हुने पहलकदमी नै माओवादी रुपान्तरणको प्रमुख स्थानीय आधार हो । 

पद र आर्थिक उत्प्रेरणालाई केन्द्र बनाउने अनि स्वार्थपरक गुटवन्दी गर्ने समस्याले आधार र इतिहास बलियो हुँदाहुँदै पनि माओवादी कार्यकर्ता जिल्लामा अरूहरूबाट हेपिन परेको तथ्यहरू पनि उल्लेख्य आएका छन् । वेपत्ता नेता चित्रनारायण श्रेष्ठकी जीवन संगिनी सावित्री श्रेष्ठको घरमा भएको वडा नम्बर ४ को विस्तारित भेलामा रुपान्तरणको केन्द्रीय चित्र अस्पष्ट भएको र रुपान्तरणले पार्टीलाई माओवादी बनाउने कि अरु नै बनाउने भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ । सावित्री श्रेष्ठ स्वयंले यो प्रश्न उठाउनु भयो । भद्रकाली र ढुंग्रेवासका अन्य कमरेडहरुले पनि स्थानीय तहको निर्वाचनपछि पार्टीको वैठक नबसेको, सामूहिक पद्धति हराएको र माओवादीमा अराजकता तथा व्यक्तिवाद बढेको निश्कर्ष सुनाउनु भयो । हरिबोल गजुरेल, शहीद महेन्द्र श्रेष्ठ, चित्रनारायण श्रेष्ठलगायतको घर र कर्मथलो यो ठाउँमा कम्युनिष्ट चेतना, आदर्श र आचरण अझै सिक्न सकिन्छ । यहाँ माओवादी केन्द्रको अझै बलियो उपस्थिति छ ।

रानीवासका कमरेड मदन दनुवारले त राष्ट्रिय राजनीतिलाई नै दृष्टिकोण दिनुभयो। ‘भ्रष्टाचारीसँग झुक्दा हाम्रो स्वाभिमानमा ठेस लाग्छ । प्रचण्ड सरकारले भ्रष्टाचारीविरुद्ध चालेको कदममा सही निष्कर्ष निस्केको छैन । सुनकाण्डमा त हाम्रै नेता र नेताका परिवारहरू संलग्न भएको देखियो । जुनसुकै तहका नेताहरु जोडिएका हुन्, कार्वाही हुनुपर्‍यो । गलत काम गर्ने नेताहरुलाई पार्टीमा राखिरहनु भएन । सरकारमा टिकिरहन मात्रै विपक्षीसँग चाकडी गर्नु हुँदैन । गरिबका मुद्दालाई उठाएर सडकबाट लड्ने हो भने माओवादी केन्द्र फेरि एक नम्बर शक्ति बन्छ । बनाइन्छ ।’ उनको यस भनाइ रुपान्तरणको केन्द्रीय दायित्व समेत हो ।

उहाँ बोल्दाबोल्दै कमरेड झ्याउला दनुवारले ‘प्रचण्ड सरकारले अहिले सही कदम उठाएको छ, पार्टीले सहयोग गरेर सरकारलाई बल दिनुपर्छ’ भनेर पार्टीप्रति सम्पूर्ण विश्वास जाहेर गर्नुभयो ।

सच्चिने संकल्प               

सिन्धुलीबाटै राजनीति गरेका शीर्ष नेता, माओवादी केन्द्रका उपमहासचिव एवम् प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले आफू उपस्थित भएका अभियानमा जनताका आलोचना र गुनासालाई आत्मालोचित भएर सम्बोधन गर्दा उपस्थितहरूले गहिरो चासो र परख गरे । गजुरेलले भन्नुभयो – ‘हामी माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू किसान, श्रमजीवी जनताबाट टाढा भयौं, यसै कारण तपाईं किसान र श्रमिक हामीसँग रिसाउनुभयो । हामी पनि कमजोर भयौं । माओवादी कमजोर हुँदा उत्पीडित वर्ग स्वाभाविक कमजोर भयो । त्यसैले कयौंले माओवादीलाई हेपेका छन् । तपाईं किसान, श्रमिकलाई पनि हेपेका छन् । किसान, श्रमिकसँगको सम्बन्ध गाढा बनाउनकै लागि हामी घरदैलोमा आएका हौं । तपाईंको समस्या सुनेका छौं । मलमा कालोबजारी भएको गम्भीर कुरा सुन्यौ । सरोकारका सबै समस्याको निगरानी र नियन्त्रण तपाईंहरूले पनि गर्नुपर्छ । संगठित हुनुपर्छ । पार्टी तपाईंहरूको साथमा छ ।’

अभियानका श्रमदानहरूमा बागमती प्रदेश सांसद भुजेल, नगर अध्यक्ष कार्की र जिल्ला अभियान प्रमुखका रूपमा मैंले पनि श्रम तथा सामाजिक न्यायको संस्कृतिलाई समाजमा स्थापित गर्नुपर्ने र जनताको समस्या एवम् प्राथमिकतालाई केन्द्रमा राखेर योजना छनौट गर्नुपर्ने बतायौं । पहुँचका आधारमा बजेट खर्चने परिपाटी त्यागेर जनप्राथमिकताका आधारमा राष्ट्रिय, प्रादेशिक र स्थानीय बजेट खर्चिनुपर्ने तथा सरकारको मात्र भर पर्नेभन्दा पनि जनपरिचालनसहितको विकास मोडालिटीलाई अगाडि लैजानुपर्नेमा जोड दियौं । 

377676028_354170646935191_290781518472910251_n

सच्चिने आधार                                                     

हामीले जनताको घरदैलोमा पुगेर उहाँहरूको आलोचना सुन्ने, समस्या बुझ्ने, त्यसप्रति एकाकार भएर रुपान्तरित हुने र आफ्ना प्रतिबद्धता जाहेर गर्ने यस अभियानको आफ्नै उद्देश्य छ । तर, यसपछि के ? यसको उत्तर पनि हामीले जनता र समर्थकलाई दिनुपर्ने छ । राजनीतिक संरचनामा जे जे गणतान्त्रिक, संघीय र समानुपातिक परिवर्तन गर्नसकेका छौं, यसले जनतालाई पुगेको छैन । सेवा, वितरण, विकास र अधिकारका औपचारिक–अनौपचारिक बेथिति एवम् गुनासा जनताबाट आएका आएकै छन् तर त्यस अपेक्षा प्रत्याभूतिको केन्द्रीय चरित्र हामीसँग छ कि छैन ? हो, हामी बिग्रेकै छौं, हामी बिग्रेको कुरा जसरी लगेका छौं, हामी सप्रेको कुरा लैजाने आधार हामी बनाउन सक्छौं कि सक्दैनौं ? 

राजनीतिक–संवैधानिक परिवर्तनलाई जनताको गुणात्मक आर्थिक जीवनमा स्वार्थरहित रुपान्तरण गर्न सकेका मात्रै हामी स्वयं रुपान्तरित हुनसक्छौं । त्यसका लागि पहिलो त हामी सैद्धान्तिक रुपमै जीवन नैतिक, सिर्जनशील माक्र्सवादी–लेनिनवादी–माओवादी–समाजवादी र समाज–संस्कृति न्यायिक हुनु जरुरी छ । देशभक्त र आन्तरिक राष्ट्रियता–पहिचानको खम्बा हुनु जरुरी छ । दोस्रो– जनन्याय, अधिकार, जनपिरचालनको विकास मोडालिटी र जनसरोकारका विकास अवधारणा लिएर हामी जनताबीच पुगिरहनु जरुरी छ । हामी गुणात्मक आर्थिक समृद्धि तथा दीगो विकास, साना तथा मझौला राष्ट्रिय औद्योगिक, व्यावसायिक, कृषिगत र भूमिमा आश्रित कृषक न्यायको बैज्ञानिक योजना लिएर जनताबीच जानु जरुरी छ । जति नै आलोचना गरे पनि जनताको तहगत विश्वास हामीमाथि नै छ । जनसरोकार छाडेर कमाउधन्दा मात्रै गर्ने कयौं प्रतिक्रियावादी र केही हाम्रै अगुवा भनिनेका कारण हामीलाई जनताले सच्याउन खोजेका छन् । हामीले त्यस्तो आन्तरिक प्रवृत्तिलाई परास्त गर्न सक्नुपर्छ ।

केन्द्रका हुन् वा स्थानीयका, हाम्रा अगुवा कमरेडहरूलाई जनताले राम्ररी नियालेका छन् । एउटा केन्द्रीय अभियान फाल्दिएर जनतासँग घनिष्ट भयौं भन्ने भ्रममा हामी रुमल्लिनु हुँदैन । यस्ता अभियानलाई अब हामीले सधैं पार्टी जीवनको अङ्ग बनाउनुपर्छ । आम जनता, समर्थक र हाम्रा इमान्दार नेता–कार्यकर्तामा समाज न्यायिक आर्थिक रुपान्तरणको गहिरो हुटहुटी म देख्छु । समस्या जनता र समर्थकमा छँदै छैन । कार्यकर्तामा केही छ । र, केन्द्रमा धेरै छ । जनताले हामीलाई सच्चिन मौका दिइरहेका छन् । हामी गुणात्मक विकासको र न्याय–अधिकारको अभियान लिएर जनताबीच पुगिरहनु पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश्वर दाहाल
महेश्वर दाहाल
लेखकबाट थप