बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रिमियरमा ‘के घर के डेरा : घर नं २’ हेरेपछि सर्वसाधारणले के भने ?

बिहीबार, ०१ जेठ २०८२, ११ : ५०
बिहीबार, ०१ जेठ २०८२

सारांश

  • निर्देशक दीपेन्द्र के. खनालको चलचित्र 'के घर के डेरा : घर नं २' को काठमाडौँमा प्रिमियर सम्पन्न भयो।
  • प्रिमियरमा सर्वसाधारण दर्शक, कलाकार र पत्रकारको उपस्थिति रहेको थियो, जसले फिल्मको खुलेर प्रशंसा गरे।
  • कलाकारहरूले फिल्मको प्राविधिक पक्ष र अभिनयको तारिफ गरे, र दर्शकहरूले यसलाई हेर्नै पर्ने फिल्मको रूपमा प्रशंसा गरे।
  • फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, र केकी अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ।

काठमाडौँ । दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ बुधबार काठमाडौँमा प्रिमियर गरिएको छ । केही फरकपन अपनाएर गरिएको प्रिमियरमा सर्वसाधारण दर्शकसहित कलाकार, पत्रकार र निर्देशकको उपस्थिति थियो । 

प्रिमिएरमा सहभागी कलाकारले फिल्मको प्रतिक्रिया झुटो दिने भनेर बाहिर आलोचना हनथालेपछि  निर्देशक खनालले १८० जना सर्वसाधारणलाई प्रिमियरमा फिल्म हेराएको थियो । ती व्यक्तिहरुसँग बसेर कलाकार र पत्रकारले पनि फिल्म हेरेका थिए ।

प्रिमियरपछि सहभागी सर्वसाधारण दर्शकले फिल्मको तारिफ गरे । उनीहरुले आम नेपाली नागरिकले हेर्नै पर्ने चलचित्र बनेको बताए । चलचित्र घरभेटी र डेरावालमात्रै नभएर आम नागरिकको कथा रहेको उनले उल्लेख गरे । 

अभिनेता हरिवंश आचार्यले चलचित्रको प्राविधिक पक्षको खुलेर तारिफ गरे । ‘टेक्निकल्ली धेरै राम्रो छ, कलाकारको अभिनय उत्कृष्ट छ । मध्यमवर्गीय जीवन र आर्थिक सङ्घर्षलाई निकै प्रभावकारी रूपमा देखाइएको छ,’ उनले भने ।

अभिनेत्री स्वस्तिमा खड्काले चलचित्र ‘फेमिली भ्यालुज’मा आधारित रहेको बताइन् । 

अभिनेत्री मनिषा कोइरालाले चलचित्रको कथा आफ्नो मनमा गहिरो छाप परेको बताइन् । ‘मर्मस्पर्शी कथा छ । कथाको पीडा आफूले नभोगे पनि त्यो अनुभूति गर्न सकिन्छ’, उनले भनिन् ।

गायिका अन्जु पन्तले चलचित्रमा देखाइएको सम्बन्धको महत्त्व र दुःख सामना गर्ने तरिकाको खुलेर प्रशंसा गरिन् । ‘कहिले हँसाउने, कहिले भावुक बनाउने चलचित्र हो । सम्बन्ध जोगाउने सन्देश विशेष मन पर्‍यो,’ उनले भनिन् ।

नर्मल अडियन्सको उत्साहजनक प्रतिक्रियासँगै फिल्म प्रति निकै उत्साहित भएको अभिनेत्री केकी अधिकारीले बताइन् । 

निर्देशक खनालले प्रिमियरमा सर्वसाधारण दर्शकलाई समावेश गर्नुको उद्देश्य चलचित्र जस्तो छ त्यस्तै प्रतिक्रिया सुन्ने रहेको बताए ।

अभिनेता खगेन्द्र लामिछाने चलचित्रको प्रिमियर सकिएपछि दर्शकलाई फिल्म जस्तो छ, त्यस्तै रिभ्यू दिन अनुरोध गरे ।

‘के घर के डेरा ः घर नं २’ शुक्रबारबाट रिलिजमा आउँदै छ । चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ । एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप