शुक्रबार, १८ जेठ २०८१
ताजा लोकप्रिय

निबन्ध : समाधानको किसिम

मङ्गलबार, ०२ असोज २०८०, १० : १७
मङ्गलबार, ०२ असोज २०८०

प्रायः हामीलाई लाग्ने गर्छ । समस्या अर्कै हो, समाधान अर्कै तर यी रूपमा मात्र हुन्, सारमा होइनन् । अपितु एउटै हुन् । समस्याभित्रै समाधान छ, समाधानभित्रै समस्या पनि छ । समस्याको रूपमा हेर्दा समस्या समाधानको रूपमा हेर्दा समाधान । यसको अर्थ हो समस्या वस्तुमा होइन हेर्नेको आँखामा छ । एउटालाई समस्या लागेका चीज अर्कोलाई समाधान हुन सक्छ । एउटाले समाधान ठानेको चीज अर्कोलाई समस्या हुन सक्छ । समस्या वस्तुमा हुन्थ्यो भने समस्या समस्याकै रूपमा रहन्थ्यो, रहनुपर्थ्यो । अनि समाधान समाधानकै रूपमा रहन्थ्यो, रहनुपर्थ्यो । 

समाधानको अर्थ हुन्छ समस्या सकिएको अवस्था । तपाईँ कुनै काम गर्दै हुनुहुन्थ्यो बीचमा समस्या आयो । त्यसलाई कुनै तरिकाले हटाउनुभयो त्यही नै समाधान भयो । समाधान शब्द सम् उपसर्ग लागेको आधान शब्दबाट बनेको छ । सम् + आधान = समाधान । यही नै यसको व्युत्पत्ति हो । आधानको अर्थ हुन्छ कुनै चीज राख्नु । त्यसमा सम् उपसर्ग लागेपछिको अर्थ हुन्छ राम्रोसित राख्नु । कुनै चीज राम्रोसित राख्नु अर्थात् जहाँ थियो त्यहीँ राख्नु, वा जहाँ राख्नुपर्ने हो त्यहीँ राख्नु नै समाधान हो । मानिलिनुस् पहिले समस्या थियो । जुन चीज जहाँ राख्नुपर्ने हो, जहाँ हुनुपर्ने हो त्यहाँ थिएन, हुन सकेको थिएन । प्रकृतिमा जुन चीज जहाँ हुनुपर्ने हो, जहाँ राख्नुपर्ने हो त्यहीँ हुन्छ । त्यसैले त्यहाँ समस्या छैन, हुँदैन तर जतिबेला समस्या आउँछ त्यतिबेला त्यहाँ प्रकृति होइन विकृति हुन्छ । जुन चीज जहाँ हुनुपर्ने हो त्यहाँ हुँदैन । यताउता पर्न गयो । तलमाथि, भित्रबाहिर, दायाँबायाँ भयो तर कुनै तरिकाले समस्या हटाउनुभयो जहाँको त्यहीँ हुन पुग्यो, जहाँ रहनुपर्ने हो त्यहीँ आयो, रह्यो । होऽऽ यही अवस्था नै समाधान हो ।

समाधानको स्वरूप

समाधानको स्वरूप बुझ्नुपूर्व स्वरूपकै बारेमा प्रस्ट हुनुपर्ने हुन्छ । स्वरूप भनेको आकृति हो, यो हमेसा मूर्त हुन्छ, वस्तुगत हुन्छ, ठोस हुन्छ तर समाधानको कुनै मूर्ति हुँदैन, आकृति हुँदैन । यस अर्थमा समाधानको स्वरूप यस्तै हुन्छ भन्न सकिन्न । यसको अर्थ यसको आकृति नै हुँदैन भन्ने पनि होइन । वास्तवमा यसको पनि स्वरूप समस्यामै हुन्छ । समस्याभित्रै छिपेर बसेको हुन्छ, रहेको हुन्छ । त्यसैले समस्या जत्रो हुन्छ समाधान पनि त्यत्रै हुन्छ । समस्या जस्तो छ समाधान पनि त्यतै हुन्छ । 

मानिलिनुस् घरमा झगडा पर्‍यो । ठुलो झगडा, घर झगडा । यसको समाधान मेलमिलाप हो । यहाँ झगडा कत्रो र कस्तो थियो मेलमिलाप पनि त्यस्तै हुने त भइहाल्यो । दोस्रो कुरा यो मेलमिलाप कतैबाट आएको होइन, यसलाई कतैबाट ल्याइएको हुँदैन । अपितु झगडा गर्ने मानिसकै बीचमा रहेको हुन्छ । अर्को शब्दमा तपाईँ यसलाई झगडाभित्रै थियो भनेर पनि बुझ्न सक्नुहुन्छ । आफैँभित्र थियो कुनै कुरामा खटपट पर्‍यो प्रकट भयो । कसैले आएर सम्झाए, तपाईँले थाहा पाउनुभयो त्यो त बेकार रहेछ भन्ने कुरा । त्यसैले मेलमिलापको अर्को पाटो पल्टाउनुभयो, जुन झगडा जस्तै तपाईँहरूमा पहिले नै मौजुद थियो । रिसको कारण, आवेशको कारण हराएको थियो, लुप्त थियो, देखिएको थिएन । वास्तविकता बुझेपछि उसैले देखाइदियो । मेलमिलाप भयो समस्या समाधान भयो । अब तपाईँ नै भन्नुस् समाधानको स्वरूप कस्तो थियो होला ? झगडा जस्तो र जत्रो थियो त्यस्तै र त्यत्रै नै त थियो होला ? 

मानिलिनुस् तपाईँलाई भोक लाग्यो, तिर्खा लाग्यो । टाढाबाट आउनुभएको थियो, कडा मिहिनेत गरेर आउनुभएको थियो, भोक, प्यास कडै थियो । कतैबाट खाने चीज पाउनुभयो, पिउने चीज पाउनुभयो । यहाँ भोक, प्यास समस्या थियो, खानपिन पाउनु समाधान थियो । यहाँ पनि त्यस्तै नियम लागू हुन्छ, भोक, प्यास जत्रो थियो समाधान पनि त्यत्रै भइदिन्छ । एवंरीतले हरेक कुरालाई केलाउँदै जानुभयो भने जहाँ पनि यस्तै भएको पाउनुहुन्छ । सारमा यति बुझ्नुस् समाधानको आफ्नै वर्ण हुँदैन, आकृति हुँदैन । तपाईँले कत्रो बनाउनुहुन्छ, कस्तो बनाउनुहुन्छ त्यसैमा भर पर्छ । 

राजनीतिक समस्या, संवैधानिक समस्या, प्रशासनिक झमेला, दुई देशबीचको टकरावजन्य समस्या ठुलै हुन्छ । यसले निम्त्याउने क्षति पनि ठुलै हुन्छ । जनधनको क्षति, भौतिक नोक्सानी, आर्थिक नोक्सानी केको हो केके । धेरै पक्षलाई प्रभावित पार्छ, लामो समयसम्मलाई प्रभावित पार्छ । यतिबेला हुने समाधान पनि ठुलै हुन्छ र समय पनि धेरै नै लाग्छ तर त्यस्तो समाधान धेरै समयसम्म टिकेको पनि हुन्छ र धेरै मानिसलाई फाइदा पनि गर्छ । 

दुई छिमेकीबीचको झगडा पनि कडै हुन्छ । लामै समयसम्म रहन्छ । यसले पनि जनधनको क्षति निम्त्याउन सक्छ । त्यसैले यसको समाधानमा केही समय पक्कै लाग्न सक्छ र यसले दिने प्रतिफल पनि सोही अनुसार हुन्छ । दाजुभाइबीचको झगडाले पनि उग्र रूप लिन सक्छ तर यसले गर्ने नोक्सानी दुई छिमेकीभन्दा केही कम हुन्छ । त्यसको समाधानमा पनि सोही अनुपातमा कम समय लाग्न सक्छ । टिकाउ पनि त्यस्तै हुन्छ र प्रतिफल पनि त्यस्तै पाइन्छ तर श्रीमान्, श्रीमतीबीचको र बालबालिका बीचको झगडा क्षणिक हुन्छ । यहाँ झगडाको कारण पनि सानै हुन्छ, समाधान पनि सानै हुन्छ र त्यति बढी टिकाउ पनि हुँदैन । सानै निहुँमा झगडा गरे, काटाकाट गरे, मारामार गरे तर थोरै समयमा र सानै प्रयासमा समाधान पनि निस्के तर कुन सड्को अर्को कुनै निहुँमा ठाक्कठुक्क गर्न पुगिरहेका हुन्छन् पत्तै हुँदैन । यसको अर्थ हो झगडा कत्रो छ समाधान पनि त्यस्तै हुन्छ । झगडा कस्तो छ समाधान गर्न पनि त्यति नै समय लाग्छ र झगडा कस्तो छ सोही अनुसारको प्रतिफल निस्कने गर्छ । 

सारमा यति बुझौँ ठुलो समस्याको समाधान पनि ठुलै निस्कन्छ, समाधानका लागि प्रयास पनि ठुलै पर्छ । समय पनि लामै लाग्छ र त्यसको प्रतिफल पनि ठुलै हुन्छ । सानो समस्याको समाधान पनि सानै हुन्छ, प्रयास पनि सानै हुन्छ र प्रतिफल पनि सानै हुन्छ । यही नै समाधानको आफ्नै रूप र रङ्ग हुँदैन भन्ने प्रमाण हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप