एसियाली खेलकुद उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुँदै

चीन । एसियाको सबैभन्दा ठूलो खेलकुद महोत्सव चीनको चच्याङ्ग प्रान्तको राजधानी हाङचौमा शनिबार उदघाटन हुँदैछ । सो महोत्सवमा सहभागी हुन एसियाली ४८ देशमध्ये ४५ देशका खेलाडी हाङचौ आइपुगेका छन् ।
एसिया ओलम्पिक परिषद्का सदस्य भएका ४५ देश सहभागी भए पनि आर्मेनिया, अजरबैजान र जर्जिया भने सहभागी नभएको चिनियाँ सञ्चारमाध्यले जनाएका छन् ।
सोही महोत्सव उदघाटन समारोहमा सहभागी हुन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार राति चीन आइपुग्ने भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री दाहाल हङकङ हुँदै चीन पुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीको स्वागतका लागि चीनस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीहरु शुक्रबार हाङचौ पुगेका छन् । प्रधानमन्त्री दाहाल ३० सेप्टेम्बरसम्म चीन भ्रमणमा रहने छन् ।
उनी हाङचौ, बेइजिङ, छोङछिङ, तिब्बत र सिचुवान प्रान्तको राजधानी छेन्दु हुँदै नेपाल फर्कने कार्यक्रम तय भएको छ ।
एसियाली खेलकुद उदघाटन समारोहमा सहभागी हुनका लागि चीनले नेपालसहित अन्य ६ देशका विशिष्ट अतिथिलाई निमन्त्रणा गरेको छ ।
सिरियाका राष्ट्रपति बसर अल असद बिहीबार नै हाङचौ आइपुगिसकेका छन् । सिरियाका राष्ट्रपतिलाई लिन चीनले एअर चाइनाको विशेष विमान पठाएको थियो ।
बसर सिरियाबाट साउदी अरेबिया, ओमान, पाकिस्तानको आकाश हुँदै चीनको पश्चिम क्षेत्रबाट चीन प्रवेश गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । सिरियाका उच्च अधिकारीले दुई दशकपछि पहिलो पटक चीनको भ्रमण गरेका हुन् ।
महोत्सवमा कम्बोडियाका नरेश नरोदम सिहामनीलाई निमन्त्रणा गरिएको छ । त्यस्तै, पूर्वी टिमोरका प्रधानमन्त्री स्या नाना तया, दक्षिण कोरियाका प्रधानमन्त्री हान डक सू र मलेसियाका माथिल्लो सदनका सभामुख अब्दूल सहभागी हुने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
एसियाली खेलकुद महोत्सव उदघाटन समारोहपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचौमा विशिष्ट पाहुनाहरुसँग भेट गर्ने कार्यक्रम तय भएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राष्ट्रपति सीसँग भेट गर्ने तालिका छ ।
राष्ट्रपति सीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले चिनियाँ समकक्षी लि छ्याङसँग बेइजिङमा भेटवार्ता गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर कोइराला
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा